Logo

प्रचण्डले ओलीलाई निरन्तर दबाब दिने



काठमाडौं, ४ कात्तिक । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच सम्बन्ध बिग्रँदो छ । सरकारको नेतृत्व आलोपालोको सहमति कार्यान्वयनबाट अध्यक्ष ओली पछि हटेको प्रचण्डको आरोप छ । यो विषय उनले सार्वजनिक रुपमै राख्न थालेका छन् । स्रोतकाअनुसार पछिल्लो समय ओलीले आफू पाँच वर्षकै लागि प्रधानमन्त्री बनेकोले तत्काल प्रचण्डलाई सरकारको नेतृत्व गर्न नदिने तयारी थालेका छन् । ओलीको उक्त कदमको सुईंको पाएपछि प्रचण्ड ओलीसँग बिच्किएका छन् ।

यही विषयमा कुरा गर्न प्रचण्ड ओलीका विश्वासपात्रसमेत रहेका सचिवालय सदस्य ईश्वर पोखरेललाई भेट्न उनकै निवासमा पुगे । त्यसपछि त ओली र प्रचण्डबीचको विवादले झनै उग्र रुप लियो । आफू र ओलीबीच भएको भद्र सहमति कार्यान्वयनमा ओलीले बेवास्ता गरेको र ईमानदार नबनेको प्रचण्ड पक्षका नेताहरुको गुनासो छ ।

त्यतिमात्रै होईन, प्रचण्डले त प्रधानमन्त्रीमा ओलीले नै पाँच वर्ष सरकार चलाएपनि आफूलाई कुनै आपत्ति नहुने तर आफूले एकल अध्यक्षको रुपमा पार्टी चलाउन पाउनुपर्ने अडान राखेका छन् । ओली भने सरकार र पार्टी कतैपनि प्रचण्डलाई कार्यकारी बनाउने पक्षमा छैनन् । उनले आफूनिकट नेताहरुसँगको छलफलमा बारम्बार प्रचण्डलाई पार्टी र सरकार दुवैमा कार्यकारी शक्ति नदिने अडान राख्दै आएका छन् ।

हिजोमात्रै पनि ओली र दाहालबीच करिब तीन घण्टा एक्लाएक्लै भेटवार्ता भएको थियो । कान्तिपुरमा प्रकाशित ओलीको अन्तर्वार्ताबाट प्रचण्ड ओलीसँग भएको भद्र सहमति कार्यान्वयन हुनेमा सशंकित छन् । त्यही भएर उनी सपरिवार शनिबार साँझ सिन्धुपाल्चोक हानिए । एक रात त्यही बसेर उनी आईबार काठमाडौं फर्किए । काठमाडौं फर्किनेबित्तिकै उनी बालुवाटार पुगेर ओलीसँग सहमति कार्यान्वयनबारे गम्भिर छलफल थाले । प्रचण्डनिकट नेकपा स्थायी समिति सदस्य मणि थापाका अनुसार आलोपालो सरकार सञ्चालनबारे ओली र प्रचण्डबीच भएको भद्र सहमति कार्यान्वयनको प्रचण्डले निरन्तर दबाब सिर्जना गर्ने तयारी भएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot