Logo

कहाँबाट आउँछन् अवैध हतियार ?



काठमाडौँ, १० मंसिर । मेडिकल कलेजहरूले विद्यार्थीबाट अतिरिक्त शुल्क लिएको विषयमा आन्दोलन चर्किरहेको बेला शुक्रबार चितवन मेडिकल कलेजको होस्टेल बाहिर चौरमा हतियार फेला प¥यो । त्यसको २० दिनअघि नेपालगन्जमा पनि बा १८ च ४२११ नम्बरको निजी कारबाट प्रहरीले हतियार बरामद ग¥यो । रेस्टुराँ नजिकै पार्किङमा राखेको सन्दीपजङ्ग शाहको कारको सिटमुनि हतियार रहेको विशेष सुराकीका आधारमा बरामद भएको दाबी प्रहरीको छ ।

विशेष सुराकीका आधारमा हतियार बरामद भएका यी दुई घटना रहस्मय छन् । प्रहरीले कसैलाई ‘फसाउन’ षडयन्त्रपूर्ण ढङ्गले हतियार राखेको हो वा साच्चै सुराकी लगाएर अवैध हतियार बरामद गरेको हो, अनुसन्धान जारी छ । चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एकनारायण कोइराला मेडिकल कलेज हतियार कान्डका विषयमा चारजना सुरक्षागार्डमाथि अनुसन्धान भइरहेको बताए । तर विद्यार्थीहरू भने आन्दोलन दबाउन हतियारको षड्यन्त्र रचेको आरोप लगाएका छन् ।
नीलो रङ्गको झोलाभित्र मेड इन यूएसए लेखिएको एकथान पेस्तोल, त्यसमा प्रयोग हुने गोली, म्यागजिन, एसएलआर हतियारमा प्रयोग भइसकेको गोलीको खोका छ राउन्ड र डेटोनेटर तार बरामद घटना आफैमा रहस्यमय छ । प्रवेशद्वारमा सुरक्षागार्ड र चौरमा सीसी क्यामेरा हुँदा पनि प्रहरीले हतियार राख्ने व्यक्तिको पहिचान गर्न सकेको छैन । अज्ञात सुराकीले दिएको सूचनाका आधारमा झोलामा लुकाइराखेको हतियार बरामद गरेको प्रहरीले स्वीकारेको छ । त्यस्तै, नेपालगन्ज घटनामा पनि कारधनी सन्दीपजङ्गले दशैँ–तिहारमा खसी उपहार नदिएको रिसमा इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले फसाउन हतियार लुकाइ दिएको आरोप लगाएका छन् । उक्त रहस्यमय घटनाका अभियुक्त सन्दीपजङ्गलाई जिल्ला अदालत बाँकेले पुर्पक्षाका लागि थुनामा पठाएको छ भने खसी मागेको आरोप लागेका प्रहरी नायव उपरीक्षक शाहलाई विभागीय कारबाहीको सिफरिस भएको छ ।

नेपाल प्रहरीका एक पूर्वअधिकारी खराब आचारण भएका प्रहरीले सर्वसाधारणलाई फसाउन यस्तो षडयन्त्र रच्न सक्ने बताउनुहुन्छ । हतियार बरामद हुने भनेको नियमित सुरक्षा जाँच तथा सुराकीका आधारमा नै हो । जबरजस्ती हतियार भिराई ‘हतियारसहित मान्छे पक्राउ परेको’ केही घटनामा स्वयम् प्रहरीको संलग्नता भेटिएका छन् । महानगरीय प्रहरी परिसर काठमाडौँको प्रमुखमा रमेश खरेल हुँदा ठमेलमा भएको घटना विवरण सुनाउँदै प्रहरी नायव निरीक्षक (सई) लाई कारबाही भएको स्मरण सुनाए । तर केन्द्रीय प्रहरी प्रवक्ता विश्वराज पोखरेल प्रहरीबाट त्यस्तो अपराध हुनै नसक्ने बताए। ‘‘कहिलेकाहीँ प्रहरी अधिकारीले नै हतियार तथा लागूऔषध राखेर सर्वसाधारण फसाएको हल्ला सुन्नमा आउँछ तर त्यसमा सत्यता हँुदैन,’’ उनले थपे। राष्ट्रिय मानव अधिकार आयोगको मानव अधिकार हनन्सम्बन्धी उजुरी शाखामा प्रहरीले हतियार तथा लागूऔषध जबरजस्ती राखी फसाइदिएको भन्दै पीडितका आफन्त निवेदन लिएर आयोगमा आउने गरेका पाइएको छ ।

आयोगका सूचना अधिकारी एवं निर्देशक डा। टीकाराम पोखरेल निवेदन आएको पुष्टि गरे। तर निवेदनकै आधारमा यथार्थ हो भन्न नमिल्ने भन्दै उनले थपे । ‘‘त्यस विषयमा अनुसन्धान हुन्छ, प्राप्त प्रमाणका आधारमा आयोगले सत्यतथ्य बाहिर ल्याउँछ ।”
प्रहरी प्रधान कार्यालयका अनुसार प्रत्येक वर्ष करिब छ सय अवैध हतियार बरामद हुने गर्छन् । तीमध्ये लामो हतियारको सङ्ख्या बढी छ । छोटो हतियारमा कटुवा पेस्तोल र स्वचालित पेस्तोल बढी भेटिने गरेको छ । चालू आर्थिक वर्षको असोजसम्ममा लामो ४२ थान, छोटो ३७ थान, गोली चार हजार ८६९ राउन्ड बरामद भएको छ । बरामद हतियारसँगै एक सय तीनजना पक्राउ परेका छन् । आर्थिक वर्ष २०७४÷७५ मा लामा एक सय २१ थान, छोटा ८७ थान र गोली ३३८ राउन्डसहित दुई सय २८ जना र आर्थिक वर्ष २०७५÷०७६ मा १९६ लामा र ९५ छोटा र दुई हजार २१८ राउन्ड गोलीसहित २५६ जना पक्राउ परेका छन्
गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्