गुल्मी, १८ वैशाख । गुल्मीमा डढेलो लगाएको आरोपमा दुई जना पक्राउ परेका छन् । जिल्लाको रेसुङ्गा नगरपालिका–७ सिस्न्यारा पातल सामुदायिक वनमा डढेलो लगाउने दुईजना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा रेसुङ्गा नगरपालिका–७ का ३८ वर्षीय राजकुमार पन्थी क्षेत्री र ४१ वर्षीय राजु जिसी रहेको डिभिजन वन कार्यालय गुल्मीका निमित्त वन अधिकृत पङ्कजकुमार ठाकुरले जानकारी दिए । उनीहरुलाई वन ऐन २०७६ मार्फत् आगो लगाएको कसूरमा मुद्दा चलाउने तयारी गरिएको छ ।
पक्राउ परेकालाई तीन वर्ष कैद र ६० हजार जरिवाना वा दुवै सजाय हुने निमित्त वन अधिकृत ठाकुरले बताए । आरोपी दुवै जनाले सामुदायिक वनमा आफूहरुले आगो लगाएको स्वीकार गरेका छन् । उनीहरुलाई नेटा बजारबाट आइतबार पक्राउ गरिएको थियो । उनीहरुले गत ७ गते आगो लगाएर फरार भएका थिए । डिभिजन वन कार्यालय गुल्मीले पत्रकार सम्मेलनको क्रममा गाउँमा बस्ती रित्तिदै गएको र झाडी बढ्दै जाँदा आगलागीका घटना बढिरहेको जनाएको छ ।
उनले सल्लाका रुख काट्ने बहस भइरहेको भन्दै केही नहुने ठाउँमा सल्ला भएकोले सल्ला काट्नको सट्टा सल्लीपिलर (सल्लाका पात) सफा गर्दा समस्या समाधान हुने बताए । कुनै व्यक्तिको लापरबाहीबाट डढेलो लागेको र त्यसले ठूलो क्षति गरेको भन्दै जनचेतना जगाउनु नै मुख्य काम भएको पत्रकार सम्मेलनका क्रममा ठाकुरले बताए । ठाकुरले आगो लगाएको सुराकी दिने व्यक्तिलाई गोप्य रुपमा पुरस्कार प्रदान गरिने पनि जानकारी दिए ।
हाल गुल्मीका १२ स्थानीय तहका ८० सामुदायिक वनमा डढेलो लागेको छ । डढेलोबाट दुई हजार बढी हेक्टर क्षेत्रफल वन नष्ट भएको डिभिजन वन कार्यालय गुल्मीले जनाएको छ । जिल्लाको इस्मा, मदाने र गुल्मी दरबारमा घरगोठमा थुप्रै क्षति भएको छ । घटनास्थलमा राहत र उद्धारको काम भइरहेको जनाइएको छ । रासस