Logo

‘विरगन्ज लाईभ’ मा धमलाले भने : मधेशको विकास नभए देश समृद्ध हुँदैन्



पर्सा, २८ मंसिर । रिपोर्टर्स क्लब नेपालका सभापति एवम् प्राईम टाईम्स टेलिभिजनका अध्यक्ष ऋषि धमलाले देशको विकासको लागि मधेश समृद्ध हुनुपर्नेमा जोड दिएका छन् । शनिबार व्यापारिक नगरी विरगन्जमा आयोजित ‘विरगन्ज लाईभ’ को तेस्रो श्रृंखलामा प्रमुख अतिथि तथा वक्ताको रुपमा सम्बोधन गर्दै धमलाले यस्तो बताएका हुन् । उनले भने,‘देश समृद्ध हुनको लागि मधेश सशक्त रुपमा आउनुपर्छ । मधेशी जनताको आर्थिक अवस्थामा सुधार हुन आवश्यक छ । मधेश अब जुझारु भएर आउनुपर्छ ।’

धमलाले मधेशबाट कृष्ण प्रसाद भट्टराई प्रधानमन्त्री बनेको अब पनि मधेशबाट प्रधानमन्त्री बन्नुपर्ने धारणा राखे । उनले भने,‘यही पर्साबाट प्रतिनिधित्व गरेर किसुनजी प्रधानमन्त्री बन्नुभयो । अब पनि मधेशबाट प्रधानमन्त्री बन्नुपर्छ भन्ने मेरो भनाई हो ।’ सरकारको नेतृत्वमा युवाहरु आउनुपर्ने पनि धमलाको भनाई छ ।

अब विकास र समृद्धिको लागि सबै सकारात्मक सोचका साथ अघि बढ्नुपर्ने उनको भनाई छ । उनले भने,‘विकास र समृद्धिको एजेण्डामा हामी एकजुट हुनुपर्छ । देशमा विकास गरौं । मधेशको विकास हुनु भनेको देशमा विकास हुनु हो । देश समृद्ध हुनु हो । अब सबै एजेण्डामाथि आर्थिक एजेण्डालाई अघि सार्नुपर्छ । मुलुकमा एक किसिमको आर्थिक क्रान्तिको खाँचो छ । यो हामी सबैको आवश्यकत्ता पनि हो ।’

उनले भीजनरी र डायानामिक युवा नेतृत्व आउनुपर्ने र देशको विकासको लागि साझा संकल्प भएको नेता मुलुकलाई चाहिएको बताए । ‘नेताहरुको कमिकमजोरी होला। तर, अहिलेका प्रमुख दल र यसका शीर्ष नेताहरु मिल्नुको विकल्प छैन् । विशेषतः अहिलेका प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मिल्नुपर्छ । म यही मञ्चबाट उहाँहरुलाई देश बनाउनको लागि एकजुट भएर अघि बढ्न आग्रह गर्दछु ।’

धमलाले नेताहरुलाई पार्टीभन्दा माथि उठेर देश र जनताको सेवामा समर्पित हुन आग्रह गरे । उनले भने,‘देश बनाउनको लागि नेताहरु परिवारभन्दा माथि उठ्नुपर्छ । सबै किसिमका विलाषी जीवन त्याग्नुपर्छ । देश बनाउने संकल्प हुनुपर्यो । यसको लागि जनतापनि सचेत हुनुपर्छ ।’

धमलाले वीरगन्ज आन्दोलनको उद्धगमस्थल भएको चित्रण गर्दै भने,‘२००७ सालदेखि मधेश आन्दोलनको उद्धगमस्थलतको रुपमा विरगन्ज परिचित छ । यो देशको प्रमुख व्यापारिक केन्द्र हो । यसलाई जीवन्त पार्नुपर्छ ।’ उनले मधेशी नेताहरुले कामभन्दा बढि गफ मात्रै गरेको सुनाए उनले भने,‘मधेशी नेताहरुले काम गरेनन् । गफमात्रै गरे । जनतालाई गुमराहमा राख्ने काम भयो ।’

उनले मधेशी, आदिवासी, जनजाति, सिमान्तकृत वर्गको माग पूरा गराउनको लागि संविधान संशोधन गरेर भएपनि जान सकिने बताए । उनले भने,‘समग्र देश र विकासको लागि संविधानलाई परिस्कृत बनाउन सकिन्छ । यसको लागि म प्रधानमन्त्रीसँगपनि कुरा गर्नेछु ।’

कार्यक्रममा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता अनिल रुंगाटा, विवेकशील साझाका नेतृ रञ्जु दर्शना, युवा नेताद्धय मनिष झा र डा. दिपक शाक्यले पनि आफ्नो धारणा राखेका थिए ।

तस्विर : नारायण गिरी/रिपोर्टर्स नेपाल डटकम 



प्रतिक्रिया दिनुहोस्

Screenshot