Logo

अनलाइन चिठ्ठाका नाममा ठगी अन्तर्राष्ट्रिय गिरोह संलग्न



काठमाडौँ, २९ मंसिर । प्रिय डियर लक्ष्मी, एक करोड यूएस डलर चिठ्ठा परेकामा बधाई छ’ भाइबरबाट यस्तो सूचना आएपछि नयाँ बानेश्वर निवासी लक्ष्मी राईका लागि खुसीको सीमा रहेन । भाइबर अपलोड गरेको हप्ता दिन नबित्दै यस्तो खबर पाउँदा सामान्य गृहिणी राईले आफ्नो भाग्य चम्किएको अनुभूति गरेका थिए । अज्ञात व्यक्तिको निर्देशन अनुसार, उहाँले चिठ्ठा रकम प्राप्त गर्न बैङ्क खाता खोल्नेदेखि राजस्व शुल्कका नाममा एक लाख भारु आईएमई गरी भारत पठाएका थिइ । यतिको शुल्क तिर्दा पनि चिठ्ठा वापतको रकम पाउनु त कता हो कता उल्टै खातामा रहेको रकमसमेत अर्कैले निकालेको चाल पाएपछि भने उहाँका लागि भाइबरमा आएको सूचना खुसीमा नभई पीडामा परिवर्तन भयो ।

त्यस्तै मखनमा सैलुन पसल सञ्चालन गर्दै आएका प्रवीन ठाकुरलाई पनि तीन महिनाअघि इमोबाट यस्तै सूचना आयो । अज्ञात व्यक्तिले अङ्ग्रेजी भाषामा पठाएको सूचना पढ्न उनले अर्कैको सहयोग लिनुपर्ने बाध्यता प¥यो । इमोको सूचना अनुसार ठाकुरलाई सुरुमा एक सय डलर जम्मा गर्न लगाइएको थियो । उनले भने, पसलको भाडा तिर्न बाँकी राखी एक सय डलर बेलायतमा रहेको अज्ञात व्यक्तिलाई आईएमई गरी पठाइदिएँ । ’’ त्यसपछि पनि चिठ्ठाको रकम भारतमा रोकियो भनेपछि सोही निर्देशन अनुसार थप ५० हजार भारु मुम्बईमा रहेको अर्को व्यक्तिलाई आईएमई गरी पठाइदिए। चिठ्ठा कुर्दा कुर्दै ऋण लाग्यो तर नगद आएन । पीडित ठाकुरले भने, “नमज्जाले ठगिएँछु । ” सामाजिक सञ्जाल भाइबर, वाट्सएप, इमो, फेसबुक र इमेल प्रयोग गरी अनलाइन चिठ्ठाका नाममा शान्ति राई र प्रवीन ठाकुरजस्तै १४ जना पीडितहरू आफू ठगिएको उजुरी बोकेर महानगरीय प्रहरी अपराध महाशाखा टेकु पुगेका छन् । अपराध महाशाखाका अनुसार, चिठ्ठा ठगीमा अन्तर्राष्ट्रिय गिरोहको संलग्नता देखिएको छ । यो समूहले यसअघि कृषि विकास बैङ्क र पानस रेमिटेन्स ह्याक गरी चार करोडभन्दा बढी रकम झिकेको थियो । विशेष गरी सामाजिक सञ्जालबाट साथी बन्नेहरू बढी ठगिएका छन् ।

महाशाखा प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक सहकुल थापाले सामाजिक सञ्जाल तथा अनलाइन ठगीको अनुसन्धान गर्दै जाँदा कृषि विकास बैङ्क र पानस रेमिटेन्स ह्याकिङमा संलग्न थप अर्को समूह पक्राउ गरिएको जानकारी दिए। यो समूहको पक्राउसँंगै बैङ्क ह्याकिङका मुख्य योजनाकार पिटर भन्ने नाइजेरियाली नागरिक पिटर हरमान असङ्गा र ब्रिटिस नागरिक स्मिथ मोरिसको पहिचान भएको छ । उनीहरूले नेपाल तथा भारतमा ‘एजेन्ट’ नियुक्त गरी अनलाइन ठगी र बैङ्क ह्याकिङ गर्दै आएका छन् । पक्राउ पर्नेहरूमा पिटरका सहयोगी ठमेलमा होटल तथा रेष्टुराँ व्यवसाय सञ्चालन गर्दै आएका दोलखा फुलपाका रमेश खड्का, नवलपरासी रामग्रामका विश्वेश्वरप्रसाद तिवारी र सन्दिप कलवार छन् । यसअघि बैङ्कको लाहान शाखा प्रमुख सुनील झासहित १२ जना पक्राउ परेका थिए । अभियुक्त खड्का र पिटरबीचको सम्बन्ध १० वर्ष पुरानो भएको अनुसन्धानले देखाएको छ । फुटबल खेलाडीका रुपमा नेपाल प्रवेश गरेका पिटरले अभियुक्त खड्का र यसअघि पक्राउ परेका लवाङ तामाङ र सञ्जय घलेको सहयोगमा पाँच करोड झिकेका थिए । १० वर्षको अवधिमा धेरै सर्वसाधारणलाई ठगी गर्नुका साथै बैङ्क अफ काठमाण्डु, प्रभु, हिमालय, सनराइज, सिटिजन्स, नबिल, लुम्बिनी, माछापुच्छ«े, नेपाल बङ्गलादेश, ग्लोबल, एनआईसी, एनएमबी, सिद्धार्थ, लक्ष्मी र एसबीआई गरी १६ बैङ्क ह्याकिङ गरेको हुनसक्ने थापाको भनाइ छ । तर बैङ्क सञ्चालकहरू भने ग्राहकको नभई बैैङ्ककै रकम ह्याकिङ भएको भन्दै घटनाको ढाकछोप गर्न उद्यत छन् ।

महाशाखाले अनलाइन ठगीमा संलग्न अभियुक्तले बैङ्कको भन्दा व्यक्तिको खाताबाट रकम ह्याक गरी चोरी गरेको जनाएको छ । पिटर र स्मिथका सहयोगी खड्का, तिवारी, कलवार, लवाङ र घलेलगायत ३४ जना नेपाली एजेण्टले परिचित व्यक्तिसँंग सञ्जाल विस्तार गरी नयाँ खाता खोल्न लगाउने तथा खोलिएका खाता नम्बर सङ्कलन गर्दै आएका छन् । पक्राउ परेका खड्का, तिवारी र कलवारको संलग्नतामा १४ करोड ६७ लाख ९१ हजार रुपियाँ शङ्कास्पद ढङ्गले कारोबार भएको छ ।
सो कारोबारमा नेपाली एजेन्टका अतिरिक्त १० जना भारतीय नागरिकको पनि संलग्नता देखिएको छ । ह्याकिङबाट प्राप्त रकम व्यक्तिगत खातामा जम्मा गरी पुनः पिटरलाई पठाउन प्रति एक लाख १५ देखि २० प्रतिशत कमिसन पाउने गरी करिब ४० जना एजेण्ट परिचालन गरिएको पाइएको छ । मुख्य योजनाकार पिटर र स्मिथ फरार छन् । नेपालका बैङ्क तथा वित्तीय संस्था ह्याक गर्न र अनलाइन ठगीका लागि योजनाकार पिटरले नेपालका अतिरिक्त भारतको नयाँदिल्ली, मुम्बई, पाकिस्तान, चीन, तान्जानिया, इथोपिया र बेलायत प्रयोग गरेको पाइएको छ । विभिन्न व्यक्तिको नाममा नयाँ खाता खोल्न लगाई अनलाइन ठगीबाट प्राप्त भएको रकम सोही खातामा जम्मा गर्न लगाउने र त्यस वापतको कमिसन खातावालालाई राख्न लगाई बाँकी आईएमई गरी भारत पठाउन लगाउँदै आएका थिए । यो समूहले करिब पाँच अर्ब लुट्ने योजना बनाएको प्रहरीले यसअघि नै सार्वजनिक गरिसकेको छ । पिटरले नेपाली युवतीलाई अफ्रिकी मुलुक केन्या नैरोबी तथा तान्जानिया पठाउने कार्यसमेत गरेको जानकारी ठमेलका पर्यटन व्यवसायीले दिएका हुन् ।
गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्