Logo

असईकी प्रेमिकाको मूल्य एक करोड ?



काठमाडौं, १ पुस । प्रहरी रेकर्डमा बलात्कारका घटना दिनप्रतिदिन बढेका छन् । हरेक दिन कम्तीमा तीन वटा बलात्कारका उजुरी प्रहरीमा पर्ने गरेको छ । तर, अनुसन्धानको क्रममा उजुरी परेकामध्ये १० प्रतिशत मात्र वास्तविक हुने गरेका छन् । उजुरी परेपछि दर्ता गर्न नसक्ने अवस्था छैन, किनकि महिलाले उजुरी दिएपछि प्रहरीले मुद्दा दर्ता गर्नैपर्ने अवस्था छ ।

धेरैजसो बलात्कारका घटना सम्बन्धमा दरार आएपछि तथा ब्ल्याकमेलिङका लागि हुने गर्दछन् । मुद्दा दायर भएपछि अदालतमा गएर बयान फेर्ने र पैसा लिने घटना बढेका छन् । सोही कारण धेरै जसो घटनाका अभियुक्तले सफाई पाउने गरेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको एक अनुसन्धानले पनि बलात्कार मुद्दामा धेरै गडबडी हुने गरेको देखाउँछ । आयोगले यसैगरी ब्ल्याकमेलिङ गरेको आरोपमा एक प्रहरीलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

महानगरीय अपराध महाशाखा टेकुमा दरबन्दी भई केन्द्रीय कारागारमा कैदीहरुको सूचना संकलनमा खटिएका असई उमेश केसीलाई आयोगले गत शुक्रबार पक्राउ गरेको हो ।

असई केसीकी प्रेमिकालाई बलात्कार गरेको आरोपमा ललितपुर प्रहरीले केही महिनाअघि एक व्यक्तिलाई पक्राउ गरेको थियो । ती व्यक्ति पुर्पक्षका लागि कारागार चलान भए । अहिले अदालतमा मुद्दा विचाराधीन छ । अदालतले पीडितलाई बकपत्रका लागि बोलाउने तयारी गरिरहेको छ ।

गत ३ कात्तिकमा नेकपा निकट युवा नेता सन्देष शर्मा पोखरेल र नेविसंघका केन्द्रीय सदस्य ज्ञानेन्द्र गजुरेल पक्राउ परे । एक युवतीलाई पोखरेलको कुमारीपाटीस्थित डेरामा लगेर सामूहिक बलात्कार गरेको अभियोग उनीहरुमाथि छ । उनीहरु दुवै जना हाल पुर्पक्षका लागि जेलमा छन् ।

त्यसरी उजुरी दिने युवती असई केसीकी प्रेमिका हुन् । असई केसीकै सल्लाहमा उनले जाहेरी दिएकी थिइन् । त्यही क्रममा असई केसीले अभियुक्तका आफन्तसँग ‘ब्ल्याकमेलिङ’ सुरु गरे । एक करोड रुपैयाँ दिए पीडितलाई ‘होस्टायल’ बनाइदिने र मुद्दा जित्ने उनको प्रलोभन थियो । त्यहीअनुसार डिल हुँदै गर्दा ६० लाख रुपैयाँमा डिल भयो । सोही अनुसार शुक्रबार केही लाख पैसा लिएर उनीहरु असईलाई भेट्न गए । तर, उनले लिन मानेनन् । किनकि आफुलाई फसाउन लागिएको संकेत उनले पाएका थिए । तर, पनि उनी जोगिन सकेनन् । घुस मागेको अडियो पहिले नै उनीहरुले रेकर्ड गरिसकेका थिए । सरकारी कर्मचारीले घुस लिने प्रयास गरेको प्रमाण भए पनि मुद्दा चल्ने अवस्था छ । सोही अनुसार आयोगले उनलाई हिरासतमा राखेर अनुसन्धान अघि बढाएको छ । यसमा उनको प्रेमिकाको समेत मिलेमतो हुनसक्ने आशंका गरिएको छ ।

उपत्यकाका कपितय यस्ता समूह पनि छन् जसले सुन्दर युवतीहरुलाई धनाढ्य व्यक्तिहरुसँग नजिकाउने र पछि बलात्कारमा फसाइदिने भन्दै करोडौं असुल्ने गरेका छन् ।-दृष्टि साप्ताहिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot