Logo

‘सेरेमोनियल राष्ट्रपतिले चेलखेल गरेर विवादमा तानिनु राम्रो होइन’



काठमाडौं, ६ पौष । नेपाल कम्युनिष्ट पार्टी स्थायी समिति सदस्य डा. बेदुराम भुषालले जनताको बहुदलीय जनवाद सम्बन्धि शोधपत्र तयार गरी पिएचडी गरेका छन् । कम्युनिष्ट आन्दोलनमा लामो योगदान गरेका उनीसँग यसै सेरोफेरोमा ऋषि धमलाले गरेको कुराकानीः
तपाईंले पीएचडी गर्नुभयो हो ?
हो, मैले पीएचडी गरेँ ।
कुन विषयमा गर्नुभयो ?
जनताको बहुदलीय जनवादमा ।
तपाईले पीएचडी गर्नुभयो पार्टीले त त्यो लाइन छोडिसक्यो नि ?
छोडेको छैन ।
मदन भण्डारीको बहुदलीय जनवाद तपाईंको पार्टीले आत्मसात गरेको छ ?
त्यसको रुप मात्रै छोडेको हो, अन्तरवस्तु छोडेको छैन ।
अहिले पार्टीको लाइन जनताको बहुदलीय जनवाद कि नौलो जनवाद ?
जनताको जनवाद हो, त्यसमा जनताको बहुदलीय जनवादका धेरै कुरा समावेश छन् ।
जनताको जनवादमा पार्टी गइसकेपछि बहुदलीय जनवादको के अस्तित्व रहन्छ र ?
त्यसको अन्तरवस्तुमा हुन्छ । आत्माको अस्तित्व छ भने त्यसको पनि अस्तित्व छ । आत्माको अस्तित्व छैन भने त्यसको पनि छैन ।
नेपाल कम्युनिष्ट पार्टीको नीतिप्रति आज पार्टीभित्रै असन्तुष्टि छ नि ?
पार्टीमा मतभेद, मतमतान्तर र केही विषयमा असन्तुष्टिहरु भइरहन्छन् । यस्ता कुरा समाप्त नै भयो भने पार्टी गतिहीन हुन्छ । विकास विचारमा गतिशीलता भएर नै हुन्छ । गतिशीलताले नै पार्टीलाई जीवन्त बनाउँछ ।
स्थायी समिति बैठक छोडेर केही नेताहरु राष्ट्रपति समक्ष पुगेपछि खैलाबैला मच्चियो किन त्यस्तो भएको ?
बिहान केही साथीहरु राष्ट्रपतिजीकोमा जानुभएको हो । त्यहाँबाट आएपछि ‘तपाईंहरु कहाँ जानुभएको हो’ भनेर अध्यक्षबाट सोध्ने काम भयो । उहाँहरुले ‘हामी यसरी यहाँ गएका हौं’ भन्नुभयो । त्यसपछि धेरै खैलाबैला भएको कुरा मिडियाहरुमा आयो । हाम्रा नेपालका मिडियाहरु धेरै कुराहरु आपैmले बनाउन जान्ने टाठा भएका छन् । वास्तविकताभन्दा पनि रोमान्चकारी ढंगबाट प्रस्तुत हुने क्षमताको विकास मिडियामा भएको छ । त्यही क्षमताको प्रदर्शन मिडियाले गरेका हुन् ।
बैठक छोडेर राष्ट्रपतिकोमा जाँदा त प्रचण्ड आक्रोसित हुनुभए छ नि ?
त्यस्तो केही भएको छैन, म पनि त्यहाँ सहभागी थिएँ ।
भीम रावललगायत अरु नेताहरुको पनि प्रतिक्रिया आएको छ, राष्ट्रपतिकोमा किन जानुभयो भनेर ?
मिडियामा आएको जस्तो खैलाबैला भएको होइन । प्रश्नोत्तर त स्वाभाविक कुरा हो नि ।
पार्टीको बैठक छोडेर राष्ट्रपतिजीकोमा जानु उचित हो त ?
बैठकस्थलबाटै छोडेर जानुभएको होइन । बिहान ९ बजेतिरै जानुभएको रहेछ । आउँदा अलि ढिला भयो । उहाँहरुले ‘बैठकमा आउन ढिला भएकोमा हामी क्षमा चाहन्छौं’ भनेर माफ मागिसक्नुभयो, सकियो ।
पछिल्लो समय राष्ट्रपतिले नै कार्यकारी अधिकार लिँदै हुनुहुन्छ भन्ने चर्चा छ नि ?
तपाईंंले चर्चा भन्नुभएको छ, त्यो चर्चा नै हो ।
जनतालाई बताउनुस् न राष्ट्रपतिको भूमिकाबाट तपार्इंंहरु सन्तुष्ट हुनुहुन्छ ?
यसमा सन्तुष्ट, असन्तुष्ट भन्दा पनि राष्ट्रपतिले संविधानले दिएको सीमाभित्र रहनुपर्छ । संविधानलाई नाघेर बाहिर जाने कुरा राम्रो होइन । यस्तै कुराले कहिलेकाहीं आलोचनामा तानिने कुरा भएको छ । त्यसरी आलोचित हुने कुरा राम्रो होइन ।
पार्टीको स्थायी समितिको बैठक चलिरहेको बेलामा नेताहरुलाई बोलाएर आन्तरिक कुरामा राष्ट्रपतिले चासो राख्नु कति उचित छ नेकपाले राष्ट्रपतिलाई सेरेमोनियल नै राखेको छ कार्यकारीको रुपमा लिएको छ ?
राष्ट्रपति सेरेमोनियल नै हो । उहाँ संविधानले दिएको अधिकारमा मात्रै रहनुपर्छ । विभिन्न चेलखेल गरेर विवादमा तानिनु राम्रो कुरा होइन ।
पार्टीको आन्तरिक विवादमा राष्ट्रपति किन तानिनुभयो त ?
पार्टीको आन्तरिक द्वन्द्वको कुरा त उहाँले गर्नुभयो भन्ने छैन । मुलुकको स्थितिको बारेमा जिज्ञासा राख्नुभयो भन्ने छ, गएका साथीहरुबाट । तर, जसरी बेलाबखत उहाँ विवादमा तानिनु भएको छ । त्यो उहाँकै गरीमा र सम्मानमा उपयुक्त होइन ।
हिजो राष्ट्रपतिकोमा भेटेर आइसकेपछि प्रदीप ज्ञवालीले के भन्नुभयो त ?
उहाँले ‘हामीलाई राष्ट्रपतिले पहिलादेखि नै भेट्नलाई आमन्त्रण गर्नुभएको थियो । पहिलादेखिकै निर्धारित कार्यक्रम भएकाले हामी गयौं । यहाँ निर्धारित समयमै आउने सोचाइ थियो । अन्तिममा खाना खाने प्रस्ताव आयो, त्यसलाई छोडेर आउँदा अपमान जस्तो हुने भएकाले खाना खान लाग्दा ढिला भएको हो । त्यसको लागि हामी क्षमा चाहन्छौं ।’ भन्नुभयो ।
यसले धेरै नेताहरु त स्तब्ध पनि थिए रे नि ?
त्यस्तो केही थिएन, जति प्रचारमा आयो, त्यो सामान्य कुरा थियो । धेरैबेर बैठक सञ्चालन हुँदासम्म उहाँहरु आउनुभएको थिएन, पछि एकैचोटी आउनुभयो । अनि ‘तपार्इंंहरु यति ढिलासम्म आउनु भएन अहिले कसरी एकैचोटी आउनुभयो ?’ भनेर अध्यक्षले सोध्नुभयो । उहाँहरुले पनि ‘हामीहरु यसरी राष्ट्रपतिजीकोमा गएका थियौं’ भन्नुभयो । जानु उपयुक्त थियो कि थिएन ? भन्नेमा सामान्य छलफल भयो । अनि त्यो विषय सकियो ।
राष्ट्रपतिले सितल निवासमा बसेर पार्टी राजनीतिमा चासो राख्नथाल्नुभयो भन्ने थालिएको छ नि ?
त्यो विषयलाई आउँदा दिनमा हेरौंला । अहिले जे घटना भएको छ त्यसमा न हेर्ने हो ।
दीर्घकालीन रुपमा के घटना हुन सक्छ त ?
हिजोको त्यहाँको विषयमा चाहीं देशको समसामयिक विषय अनि अर्थतन्त्र कता जाँदैछ भनेर जिज्ञासा राख्नुभएको थियो भनेर जाने साथीहरुले भनेका हुन् । हामीले त त्यही विषयमा विश्वास गर्ने हो । यतिसम्म हुँदा खासै नराम्रो त होइन । तर, समय मिलेन, पार्टीको स्थायी समिति बैठक भइराखेको बेलामा बैठकमै अनुपस्थिति हुने गरी नगरेको भए हुन्थ्यो भन्ने हाम्रो राय हो ।
हिजोको बैठकमा अध्यक्षबाट राजनीति प्रतिवेदनको उत्तर कसरी आयो, तपाईंहरु सन्तुष्ट हुनुहुन्छ कि हुनुहुन्न ?
उत्तरमा उहाँले कम्युनिष्ट इतिहासको व्याख्या र विश्लेषण गर्नुभयो । अहिले तत्कालका लागि सहमतिका आधारमा पार्टी एकता गरेका छौं । त्यसमा सहमतिका दस्तावेजहरु तयार गरेका छौं । ती दस्तावेजहरुलाई नै लिएर अगाडि बढ्ने छौं । त्यसै अनुरुप नै यो प्रतिवेदन ल्याइएको छ भन्नुभयो । यसलाई छलफल गरेर सहमतिमै लानुपर्छ भन्नुभएको छ ।
अध्यक्षको प्रतिवेदनमा तपार्इंंहरु त सन्तुष्ट हुनुभएन नि ?
होइन, उहाँले प्रतिवेदनमै भन्नुभएको यसलाई छलफल गरेर जानुपर्छ भनेर त्यसैमा छलफल भएको हो । त्यसमा हामीले केही भनेका छैनौं ।
स्थायी समिति बैठकमा सरकारको ओलोचना भयो, प्रचण्डको भनाइ के थियो ?
प्रतिवेदनमै सरकारले गर्न नसकेका कामको पनि कुरा आएको छ । गरेका कामको पनि विषय उठेका छन् । त्यसैगरी अध्यक्षको प्रतिवेदनमा पनि धेरै मतभेदहरु छैनन् । उहाँले तपाईंहरुले नै देखिरहनुभएको त्यसैले तपार्इंंहरुले नै ल्याउनुहोस् भन्नुभएको छ ।
पार्टी सञ्चालनमा गुटैगुटले भरिएको कुरा नेताहरुले बताए नि ?
एउटा मात्रै होइन, विभिन्न पार्टीमा विचार समूहहरु देखिएका छन् । हाम्रो पार्टीमा पनि विभिन्न खालका विचार समूह भएर रहने गरेको पाइन्छ । हाम्रो देशका पार्टीहरु आफ्नो विधान र सिद्धान्त अनुसार चल्दैनन्, मूल समस्या भनेको यही हो । त्यसकारणले गुट जन्मिएको हो, विधान अनुसार पार्टी चल्दैन अनि गुट जन्मिन्छ । नेपाली कांग्रेसमै हेर्नुस् न महाधिवेशन भएको दुईमहिनाभित्र बनाउनुपर्ने विभाग अहिलेसम्म बनाएको छैन । विधान लागु गरिएको छैन, त्यसको कारणले त्यहाँ विवाद जन्मिएको छ । यता नेकपामा पनि तीन महिनाभित्रमा बस्नुपर्ने स्थायी कमिटि बैठक एक वर्षमा बसेको छ, अनि त्यहाँ विवाद नभएर के हुन्छ ? विधान अनुसार नेतृत्व नचलेका कारणले विवाद भएको हो ।
माधव नेपाललाई गुट जन्माउने सुत्रधार भन्ने आरोप लागेको छ नि ?
सबै नेताहरुले आ–आफ्नो गुट चलाएका छन् । कसरी माधव नेपाल मात्रै गुटको सुत्रधार हुन्छन् ? एउटाले मात्रै चलाएर कसरी गुट हुन्छ, प्रत्येक नेताले चलाएका छन् । एकजनाको मात्रै भए त ठेगान लगाइहाल्थे नि सबैको भएकाले तैं चुप मै चूप भएका हुन् ।
यति समूहले यत्रो सरकारी जग्गा कब्जा गर्दा पनि तपाईंहरु किन मौन हुनुहुन्छ ?
कहाँ चुप लागेका छौं । बाहिर बोल्दा चाहीं खुब बोले भन्ने हुँदोरहेछ, स्थायी कमिटिमा बोल्दा चुप लागे भन्ने हुँदोरहेछ । त्यो विषयमा पनि बुलन्द कुरा उठेको छ नि ।
यति समूहको विषयमा कस–कसले के के भने त ?
भित्र कसले कता फर्किएर के भन्यो भन्ने ठूलो कुरा होइन । ठूलो कुरा त कुन ढंगले विषयमा चर्चा भयो भन्ने हो ।
ट्रष्टको जग्गा पनि यति समूहलाई दिइएको छ नि ?
यति समूह हुन् कि कुनै समूहहरु हुन् । दालाल पुँजीपति वर्गले नेपालको राजनीतिमा विभिन्न ढंगले प्रभाव पार्ने गरेको कुरा बैठक दहे ढंगले उठेको छ । तपाईंले एउटा समूहको कुरा गरिरहनुभएको छ, त्यसमा अरु धेरै समूहहरु छन् । जसले यहाँको राजनीति र त्यसको नेतृत्वलाई नै प्रभावित गरिरहेका छन् ।
नेकपाले यति समूहलाई संरक्षण गरिरहेको छ नि ?
सरकारबाट त्यस्तो भएको होला । सरकार र पार्टी एउटै त होइन नि, फरक फरक कुरा हो नि ।
सरकार कसले चलाउने ?
पार्टीले चलाउनुपर्छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot