Logo

सीमा विवादमा छलफल गर्न सङ्कल्प प्रस्ताव



काठमाडौँ, ७ पुस। सीमा विवादबारे छलफल र अनुगमन समिति गठनको प्रस्ताव गर्दै प्रतिनिधि सभामा सङ्कल्प प्रस्ताव दर्ता भएको छ । नेपाल कम्युनिस्ट पार्टी नेकपाका सांसद खगराज अधिकारीले प्रतिनिधि सभा सचिवालयमा प्रस्ताव दर्ता गरेको हो । त्यसको समर्थकमा सांसद रामकुमारी झाँक्री छिन्।

सभामुखले विभागीय मन्त्रीसँगको परामर्शमा उक्त प्रस्ताव छलफलका लागि अघि बढाउन सक्ने व्यवस्था छ । प्रस्ताव दर्ता भई प्रक्रियामा गएको प्रस्तावक अधिकारीले जानकारी दिए। प्रस्तावमा सीमासम्बन्धी विवाद समाधानका लागि सरकारले अहिले गरेका प्रयास सकारात्मक भएकाले निरन्तरता दिनुपर्ने उल्लेख छ । कालापानीलगायतका क्षेत्रको सीमा विवादमा सरकारले अघि बढाएको पहललाई सर्वस्वीकार्य रूपमा अघि बढाउन प्रस्ताव आवश्यक भएको उल्लेख गरिएको छ ।
यस्तै सरकारले गरेका सीमासम्बन्धी कामकारबाही अनुगमनका लागि सदनले समिति बनाउनुपर्ने माग प्रस्तावमा गरिएको छ । नेपालसँग सीमा जोडिएका मुलुकसँग आवश्यक छलफल गरी सीमा विवाद दीर्घकालीन रूपमा समाधानको पहल गर्न आवश्यक निर्देशनको माग पनि प्रस्तावमा गरिएको छ ।

प्रतिनिधिसभा नियमावलीको नियम ८३ मा सङ्कल्प प्रस्ताव दर्ता गर्न सकिने व्यवस्था छ । उक्त प्रस्तावबाट सरकारलाई राय वा सिफारिस दिन, सरकारको नीतिको समर्थन वा विरोध प्रकट गर्न, कुनै सन्देश वा निर्देशन दिन सकिने व्यवस्था नियमावलीमा छ । सङ्कल्प प्रस्ताव सदनले स्वीकृत गर्नुपर्ने छ । स्वीकृत सङ्कल्पको जानकारी सदनले मन्त्रिपरिषद्लाई दिने छ । मन्त्रिपरिषद्ले कार्यान्वयनपछि सदनलाई जानकारी दिनुपर्ने व्यवस्था नियमावलीमा छ ।
गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot