Logo

२०७७ सालभित्र नेकपामा एउटै अध्यक्ष, कस्ले मार्ला बाजी ?



रिपोर्टर्स नेपाल, ८ पौष । नेपाल कम्युनिष्ट पार्टी एकीकरणपछि दुई अध्यक्ष चलिरहेको छ । तत्कालिन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड दुवैजना अध्यक्ष छन् । अब नेकपाको मूल राजनीतिक सिद्धान्त देखि अध्यक्ष सम्मको टुंगो आगामी महाधिवेशनले लगाउनेछ ।

२०७७ चैत्र महिनाभित्र गर्ने तय भइसकेको छ । स्थायी कमिटि बैठकले महाधिवेशन अर्को वर्षभित्र गर्ने तय गरेपछि छ महिनाभित्र जिल्ला अधिवेशन सम्पन्न गर्ने निर्णय समेत भइसकेको छ । २३ पौषबाट चल्ने केन्द्रीय कमिटि बैठकले महत्वपूर्ण निर्णयहरु गर्नेछ । त्यसपछि नेकपा महाधिवेशनको तयारीमा लाग्नेछ ।
नेकपाको तल्लो तहको अधिवेशनले चयन गर्ने प्रतिनिधिहरुका कारण आगामी अध्यक्ष चयन हुनेछ । यसकारण पनि यसको विशेष महत्व छ । नेकपाको अबको अध्यक्षमा वर्तमान अध्यक्षहरु केपी शर्मा ओली र प्रचण्ड नै मुख्य प्रतिष्पर्धी छन् । महाधिवेशनपछि दुई अध्यक्षात्मक व्यवस्था नरहनेकारण पनि दुवै नेताहरु आन्तरिक पकड बलियो बनाउन सक्रिय छन् ।

प्रचण्डले नेकपाभित्र पकड बलियो बनाउन दौडधूप चलाइसकेका छन् । उनले उपनिर्वाचनमा आफूलाई सक्रिय बनाए । आफू विगतमा पुष्पलाल समूहको भएको अभिव्यक्ति दिए पूर्व एमाले पक्षधरको समर्थन लिन खोजे ।

ओली पार्टीमा पकड बलियो भएकोमा ढुक्क छन् । त्यसका लागि उनले प्रभावशाली नेता वामदेव गौतमलाई नजिक पारेका छन् । गौतमलाई उपाध्यक्ष बनाउने उनकै पहल थियो । गौतम स्वयं भावी अध्यक्षका रुपमा आफूलाई प्रस्तुत गर्न थालेका छन् ।

नेकपाभित्र पूर्व एमाले महासचिव माधवकुमार नेपाल र झलनाथ खनाल पनि नेतृत्व हात पार्न भित्र भित्र सक्रिय छन् । नेपाल र खनालको आफ्नै गुट छ । पूर्व प्रधानमन्त्री समेत रहेका दुवै नेताबीचको टकरावले भने दुवैलाई समस्या छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot