Logo

उपेन्द्रजीहरुले सरकार छाड्नुलाई आश्चर्य मान्नुपर्दैन-टोपबहादुर रायमाझी



काठमाडौं, ९ पौष । नेपाल कम्युनिष्ट पार्टीका नेता टोपबहादुर रायमाझीसँग जनयुद्ध, संसदीय राजनीति हुँदै सरकारको समेत अनुभव छ । उनीसँग समाजवादी पार्टीले सरकार छाडेपछिको उत्पन्न परिस्थितिबारे ऋषि धमलाले गरेको विशेष कुराकानीः
तपाईंहरुको दुई तिहाईको दम्भ हिजोबाट उपेन्द्र यादवले तोड्नुभयो ?
हामीसँग अभैm पनि दुई तिहाई नजिकको मत छँदैछ । त्यस्तै हो, कहिलेकाही सहकर्मी पार्टीसँग उत्तरचढाव हुन्छ । त्यसलाई खासै आश्चर्य मान्नुपर्दैन ।
हामीसँग दुई तिहाई छ, सरकारमा जे गरेपनि हुन्छ भन्ने घमण्ड त समाप्त भयो नि ?
त्यति बेलामा पनि हामीले दुई तिहाईको जनमत छ, भनेको होइन, त्यसको हाराहारी हामी छौं भनेका हौं । त्यसमा अरु पार्टीसँग सहकार्य गर्दा दुईं तिहाई पुग्छ भनेका थियौं । सरकारमा दुईं तिहाईको डण्डा लगाउँछौं पनि कहिल्यै भनेका थिएनौं ।
अब दुईं तिहाईको दम्भको लागि अर्कोतिर लाग्नुपर्ने भयो नि ?
लाग्नैपर्छ भन्ने छैन, सामान्य बहुमतबाट पनि काम चल्छ । कहिलेकाहीं अल्पमतको त सरकार चल्छन् । त्यसैले दुईं तिहाई भयो भने डण्डा लगाइहाल्नुपर्छ भन्ने पनि होइन । दुईं तिहाई भएन भनेर निराश भइहाल्नुपर्छ भन्ने पनि छैन । मुख्य विषय भनेको हामीले राम्रो काम गर्छौ कि गर्दैनौ भन्नेतिर हुन्छ ।
उपेन्द्रको ठाउँमा राजपालाई ल्याउँदै हुनुहुन्छ ?
फेरि उपेन्द्रजी नै आउनुहुन्छ कि, राजपा आउँछ कि अथवा अन्य पार्टी आउँछन् भन्ने अहिले एकिन भइसकेको छैन ।
उपेन्द्र यादवले त राजीनामा दिइसक्नुभएको छ नि ?
एकचोटी राजीनामा दिन्छन्, फेरि आउँछन्, जान्छन्, यो त भइरहन्छ,‘राजनीतिमा ऋषिजी’ । त्यसैले यसलाई धेरै ठूलो विषय बनाइरहनुपर्छ जस्तो लाग्दैन ।
सभामुख र उपसभामुखको निर्वाचनमा तपाईंहरुको दम्भ छ नि ?
हाम्रो दम्भ होइन । त्यसमा कसलाई राख्दा उचित हुन्छ भन्ने विषयमा पार्टीको जिम्मेवार निकायमा छलफल हुन्छ । अनि मात्रै निष्कर्षमा गइन्छ ।
त्यसोभए सभामुख नेकपाले राख्ने र उपसभामुख कसैलाई दिने हो ?
सायद त्यस्तै हुन्छ होला ।
त्यसमा सहमति भयो ?
सहमति नगर्ने कुरै भएन नि । सहमति हुन्छ, त्यसको लागि पहल भइरहेको छ । निर्वाचन प्रक्रिया पुस ११ गते सुरु हुन्छ, त्यसको लागि गृहकार्य भइरहेको छ ।
सभामुख को बन्छ त ?
को बन्छ भन्ने कुरा छलफल भइरहेको छ ।
छलफल त जारी छ, तर सम्भावना कस्को छ ?
यसमा विभिन्न आकांक्षीहरु हु्नुहुन्छ । आकांक्षी मात्रै भएर भएन, कसलाई राख्दा ठीक हुन्छ । त्यसको लागि छलफल भइरहेको छ । प्रक्रिया अगाडि बढिरहेकाले मैले यसैलाई भन्न सम्भव हुँदैन ऋषिजी ।
तपाईंलाई त थाहा हुन सक्छ नि ?
ऋषिजी, यसमा मैले अनुमानको भरमा बोल्न उचित हुँदैन ।
निर्वाचन त १४ गते हुँदैछ नि होइन ?
हो, त्यतिबेलासम्म छलफल गरेर कसलाई बनाउने भन्ने निष्कर्ष आउँछ । अनि मात्रै जानकारी हुन्छ ।
एमसीसी पारित हुन्छ कि हुँदैन, अमेरिकन सहयोग लिने कि नलिने ?
त्यसको बारेमा हामीले पार्टीमा ब्यापक छलफल भएर निष्कर्ष निकालिसकेका छौं । अमेरिकन सरकारले इण्डोप्यासेफिकसँग संलग्न छैन भनेर क्लियर गरेपछि एमसीसी पारित हुन्छ । कतिपय ठाउँमा एमसीसी चाहीं इन्डोप्यासेफिक रणनीति हो भन्ने जस्तो देखिएकाले विवाद भएको हो । त्यसमा स्पष्ट भइसकेपछि अमेरिकन सरकारसँग सहार्य गरेर अगाडि जान चाहन्छौं ।
संसदबाट अनुमोदन हुन्छ ?
यसमा मैंले अगाडि नै भनिसके । त्यो अमेरिकन सरकारले स्पष्ट पारिसकेपछि पारित गर्न कुनै द्धुविधा रहँदैन ।
तर पनि तपाईंहरु त अन्यौलमा हुनुहुन्छ नि ?
त्यसमा छलफल भइरहेको छ । के हो भन्ने स्पष्ट भइसकेपछि कुनै भ्रम हुँदैन ।
तपाईंको पार्टीभित्र यति समूहलाई कारबाही हुनुपर्छ भनेर बहस सुरु भएको छ कत्तिको सम्भव छ ?
त्यसको लागि ब्यापक रुपमा पार्टीभित्र कुरा उठेको छ । सरकारले यति समूहसँग गरेका सम्झौता बारे ब्यापक बहस भएको छ । सुझावहरु आएका छन् र सरकारलाई पनि सुझाव दिने काम भएको छ ।
आज सुझाव दिनुहुन्छ ?
सुझाव दिइसकिएको छ । त्यसलाई सरकारले गम्भीर रुपमा लिनुपर्छ ।
सरकारले अनुमोदन गर्नुपर्छ भनेको छ नि ?
अब सरकारले के गर्छ, हामी सरकारमा छैनौं । तर, पनि सरकारलाई ब्यापक सुझावहरु गएका छन् ।
यो सरकार सफल कि असफल ?
पार्र्टीको स्थायी कमिटिमा पनि व्यापक रुपमा त्यो विषयमा छलफल भयो । सरकारले छोटो समयमा संघीयता कार्यान्वयनदेखि आवश्यक कानुन बनाउने विषयमा कामहरु गरेको छ । तर नागरिकका जनजीवनसँग जोडिएका विषयहरुमा कमीकमजोरी देखिएका छन् । त्यसलाई करेक्सन गरेर अगाडि बढ्नुपर्छ ।
भ्रष्टाचारीहरुलाई कारबाही गर्न त सरकार सफल भयो नि ?
लामो समयदेखि भ्रष्टाचारको जालोबाट देश आक्रन्त छ । लुकिछिपी रहेका भ्रष्टाचारीलाई अगाडि ल्याउने काम भएका छन् । तर, जसरी अगाडि ल्याएर कारबाही गर्नुपर्ने हो, त्यसमा कमीकमजोरी रहेको छ । सरकारले त्यस्ता भ्रष्टाचारीलाई छिटोभन्दा छिटो कानुनी दायरामा ल्याएर कारबाही गर्नुपर्छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot