Logo

सरकारमा जानसक्छौं- वृशेषचन्द्र लाल, नेता, राजपा



काठमाडौं, ९ पौष । राष्ट्रिय जनता पार्टीका नेता वृशेषचन्द्र लालले आफ्नो दलको सत्तारुढ नेकपासँग सहकार्य अगाडि बढेको बताएकाछन् । नेकपासँगको सम्बन्ध र भावी रणनीतिबारे उनले महत्वपूर्ण खुलासा गरेका छन् । उनीसँग ऋषि धमलाले गरेको विशेष कुराकानीः
उपेन्द्र यादव हटेपछि सरकारमा जाने भन्नुभएको थियो, कहिलेसम्म जानुहुन्छ ?
पहिलो कुरा त एउटा पार्टी सरकारबाट हट्नेबित्तिकै अर्को पार्टी गइहाल्छ भन्ने दृष्टिकोण नै गलत हुन्छ । उहाँहरु सरकारमा हुनुहुन्थ्यो, हट्नुभयो । त्यसमा हाम्रो कुनै सम्बन्ध नै हुँदैन ।
तपार्इंंका नेताहरुले त उपेन्द्र यादव हटेपछि सरकारमा जाने भनेर प्रधानमन्त्रीसँग भनेका थिए नि जाने कि नजाने ?
हाम्रा नेताहरुले उपेन्द्र यादव सरकारबाट हटेपछि हामी आउँछौं, भन्नुभएकै छैन । प्रधानमन्त्रीसँग हाम्रा पार्टीहरुको कुराकानी भएको छ । उहाँसँग हाम्रा जुन मुद्दाहरु छन्, त्यसको सम्बन्धमा कुराकानी भएको हो । राष्ट्रियसभाको निर्वाचनलाई लिएर दुई÷दुईवटा सिटमा चुनाव लड्ने गठबन्धनको कुरा भएको छ । यो निर्वाचनपछि अरु थप विषयमा छलफल गरेर सहकार्य गर्ने कुरा भएको हो । त्यहाँ कुरा मिल्यो भने अरु सहकार्य गर्न सकिन्छ ।
प्रधानमन्त्रीले त राजपालाई सरकारमा रातो कार्पेट ओछ्याउनु भएको छ नि ?
प्रधानमन्त्रीले रातो कार्पेट ओछ्याउनु भएको छ÷छैन, त्यसको बारेमा पछि थाहा होला । तर, दुईवटा पार्टीबीच कुराकानी भइरहेको छ । कुरा मिल्यो भने सरकारमा जान पनि सकिन्छ, मिलेन भने नजान पनि सकिन्छ ।
सरकारमा जाने सम्भावना बढ्यो भनेर बाहिर आएको छ नि ?
सम्भावना त जे पनि हुन सक्छ नि । राष्ट्रियसभाको निर्वाचनमा सँगै जाने भन्ने कुरै थिएन, त्यो एक्कासी आयो । सरकारमा जाने कुरा पनि मिडियाहरुमा फलानो नेताले भने, उसले भन्यो भनेर आइराखेको छ ।
राजपाको भूमिका अब के हुन्छ ?
अहिलेसम्म राजपा र नेकपाबीच राष्ट्रियसभाको निर्वाचनको लागि सहमति भएको छ । हामी दुवै पार्टी सँगै यो निर्वाचनमा जान्छौं । दुई÷दुई वटा सिट बाँडफाँड गरेका छौं, अहिले यति नै सहमति भएको हो । अरु सहयोग बाहिर बसेर पनि हुन सक्छ सरकारमा सामेल भएर सहकार्य गर्न पनि सकिन्छ ।
सरकारमा जाने सम्भावना बढ्यो, एजेन्डामा छलफल गर्दै हुनुहुन्छ हो ?
अहिलेसम्म निर्णय गरिसकेका छैनौं । छलफल हुँदैछ, जहाँ–जहाँ जसरी–जसरी कुरा मिल्छ, त्यसैगरी अगाडि बढ्ने ।
अहिले सरकारमा गएर तपाईंहरुले संविधान संशोधन गर्न सक्नुहुन्छ ?
कुनै पनि कुरा अन्दाजमा गर्नु उपयुक्त हुँदैन । त्यस्तो विषयमा कुराकानी प्रवेश पनि भएको छैन ।
उपेन्द्र यादवले राजपा सरकरमा गए हुन्छ भन्नु भएको छ नि ?
उपेन्द्र यादवजीले भन्नुभएको मैले सुनेको छैन । यदि उहाँले त्यसो भन्नुभएको हो भने आफ्नो पार्टीको चिन्ता गर्नुभए हुन्छ । अरुका पार्टीका आफ्नै छलफल हुन्छन् । समाजवादी पार्टीले पनि आन्तरिक छलफल गरेर अगाडि बढ्दा हुन्छ । अरुलाई यसो गर, उसो गर भन्नु उपयुक्त जस्तो देखिएन ।
अब प्रदेश नं. २ को सरकार संकटमा पर्यो ?
यस्तो विषयमा कुनै छलफल नै भएको छैन । अहिले सरकारका बारेमा अनावश्यक अन्यौलका कुरा भइरहेका छन् ।
प्रदेश नं. २ को सरकारमा समिकरण फेरबदल हुन सक्छ ?
यसमा केही कुरै भएको छैन म कसरी भन्न सक्छु र ।
तपाईंहरुको पार्टीले मुख्यमन्त्री लिएर सरकारसँग गठबन्धन गर्ने सम्भावना के छ ?
त्यो सम्भावना छँदैछैन भन्न त सकिन्न । तर यसको बारेमा छलफल भइसकेको छैन ।
प्रदेश नं. २ को सरकार संकटमा पर्न सक्छ ?
प्रदेश नं. २ मात्रै होइन नि जुन प्रदेश पनि संकटमा पर्न सक्छ नि ।
अब समाजवादी पार्टीसँगको गठबन्धन तोडिन्छ कि तोडिँदैन ?
त्यो गठबन्धनमा हामी निर्वाचन पनि लड्यौं । सरकार पनि बनायौं । गठबन्धनको राजपाले इमान्दारिपूर्वक पालना पनि गरेको छ । अहिले पनि पालना गर्दै अगाडि बढ्ने राजपाको चाहना छ । त्यो त समाजवादी पार्टीले पनि निर्भर गर्छ । गठबन्धन भनेको आफ्नो स्वार्थ रहुन्जेल गर्ने, सकिएपछि नगर्ने भन्ने हुँदैन । एक ठाउँमा गरिएको गठबन्धन र सहकार्य गरियो भने त्यसको प्रभाव अर्को ठाउँमा पनि पर्नुपर्छ । तर कमीकमजोरी आउँछन् भने त्यस्तो गठबन्धन टुट्न पनि सक्छ । अहिलेसम्म सरकारै परिवर्तन हुने गरी कुनै छलफल भएको छैन । सरकार यथावत् छ, त्यसलाई निरन्तरता हामीले दिइरहेका छौं । अहिलेसम्म समाजवादी पार्टी गठबन्धन तोडिसकेका छैनौं ।
कुरा मिल्यो भने गठबन्धन तोड्न पनि सक्छौं भन्नुभयो नि ?
पुरानो गठबन्धन टुट्न पनि सक्छ । नयाँ गठबन्धन बन्न पनि सक्छ । तर, अहिलेसम्म मिडियाबाहेक पार्टी–पार्टीबीचमा केही चर्चा भएको छैन ।
तपाईंको पार्टीको भोलि बैठक हुँदैछ, त्यसमा के हुन्छ ?
बैठकमा पार्टीभित्रका अरु पनि विभिन्न एजेन्डाहरु छन् । त्यसमा पनि छलफल हुन्छ ।
ठ्याक्कै एजेन्डाहरु के के छन् ?
नेपालको राजनीतिक घटनाक्रमका बारेमा पनि छलफल हुृन्छ । राष्ट्रियसभाको निर्वाचनको सन्दर्भमा पनि छलफल हुन्छ । जिल्ला–जिल्लामा हुने पार्टीका सांगठिनक गतिविधिकाबारेमा पनि छलफल हुन्छन् ।
तपाईहरुले त उपेन्द्र यादव सरकारबाट बाहिएपछि एकीकरण हुन्छ भन्नुभएको थियो, अब समाजवादी पार्टीसँग एकीकरण हुन्छ ?
पार्टी एकीकरण कुरा जति उठेको थियो । त्यसबेला हामीले भनेका थियौं, ‘हाम्रा जुन एजेन्डाहरु थिए, संविधान संशोधनको त्यसको लागि समाजवादी पार्टी सरकरमा हामी बाहिर छौं । यो अवस्थामा पार्टी एकीकरण सम्भव छैन ।’ त्यसैले अहिले एकीकरणको कुनै चर्चा छैन । परिस्थितिहरु पनि फेरिएका छन्, त्यसको बारेमा पार्टीमा छलफल हुन्छ । राजपासँग कुरा नमिलेर समाजवादी पार्टी सरकारबाट बाहिरिएको होइन, छुट्टै सन्दर्भ हो । यो एकीकरणसँग जोडिएको विषय होइन ।
एकीकरण तत्काल हुँदैन ?
अहिले पार्टी एकीकरणको वातावरण मिल्ने गरी कुराकानी भएको छैन । पछि वातावरण मिलेछ भने सोच्ने कुरा हुन्छ ।
मधेशमा शीत लहरले जनता आक्रन्त छन्, तपाईंहरुको सरकार त सुतेर बसेको छ नि ?
यसमा प्रदेश र स्थानीय सरकार शीत लहरबाट जनतालाई जागाउन विभिन्न तयारी गरिरहेको छ । शीत लहर प्रकृतिक कुरा हो । यससँग मुकाबिला गर्न प्रदेश र स्थानीय सरकार सक्रिय ढंगले लागेको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot