Logo

ओलीको अस्त्रले मधेश केन्द्रितबीच सहकार्य टुट्दै



काठमाडौं, ९ पौष । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारोहणलगत्तै समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई सरकारमा ल्याए । प्रदेश २ मा शक्तिशाली बनेको समाजवादीले राष्ट्रिय जनता पार्टीसँगको सहकार्यमा मुख्यमन्त्री समेत प्राप्त गर्यो ।

लालबाबु राउत मुख्मन्त्री बने केन्द्रमा उपेन्द्र यादव उपप्रधानमन्त्री बने । प्रदेश दुईमा समाजवादी र राजपाको सहकार्य यथावत रह्यो ।

ओलीले पछिल्लो समय नयाँ अस्त्र हानेका छन् । सरकारमा मन्त्री हेरफेर गर्दा उपेन्द्र यादवलाई स्वास्थ्यबाट कानुनमा लगे । यादवलाई सरकारबाट हटाउने उनको संकेत थियो त्यो । तैपनि, यादवले सरकार छाडेनन् । तर, राष्ट्रिय सभा चुनावमा नेकपा र राजपाबीच सहकार्यको सहमति जुट्यो । राजेन्द्र महतोसँग सहमति गरेर ओलीले नयाँ अस्त्र फ्याँके । लगत्तै उपेन्द्र यादवले सरकार छाडे ।

राजपाले समाजवादीसँग एकताका लागि सरकार छाडेर आउनुपर्ने शर्त राख्दै आएको थियो । समाजवादी र राजपाबीच एकताको गृहकार्य चलिरहँदा नयाँ घटनाक्रम विकास भयो । यसमा ओलीले कडा अस्त्र प्रहार गरेका छन् । उनले समाजवादीलाई कुनै हालतमा सरकारबाट हटाउन देखाएको कार्यशैलीपछि समाजवादी र राजपाबीचको एकताभन्दा पनि दूरी बढ्ने मार्ग कोरिएको छ ।

सरकार छाडेपछि उपेन्द्र यादवले एकताका लागि बल राजपाको कोर्टमा रहेको बताए । उनले भने, ‘राजपा हामीले छाडेको ठाउँमा जान्छ कि जाँदैन हेर्न बाँकी छ ।’ तर, राजपा सरकारमा जान खुट्टा उचालिरहेको छ । राजपा नेता वृषेशचन्द्र लालले सरकारमा जानसक्ने संकेत गरेका छन् । उनले भने, हामी सरकारमा पनि जानसक्छौं ।

नेकपा र राजपाबीचको राष्ट्रियसभाको चुनावी गठबन्धनलाई अझ अगाडि बढाउन खोजिएको छ । यसलाई लालले पनि पुष्टि गरे । अब राजपा सरकारमा जानसक्ने सम्भावना बढेको छ । राजपासँग पार्टी एकताका लागि उपेन्द्र यादव र बाबुराम भट्टराई दुवै सक्रिय भएका छन् । राजपा समाजवादीसँग भन्दा नेकपासँग नजिकिदैछ । पछिल्लो सहकार्यबाट राजपाले कम्तिमा एक राष्ट्रियसभा सदस्य निर्वाचित गराउन सक्ने सुनिश्चित भइसकेको छ । उसले उपसभामुखमा पनि दाबी गरेको छ । नेकपा र राजपाबीचको सहकार्यमा सभामुखको चुनाव हुँदै सरकारसम्म पनि हुने सम्भावना बढेको छ ।

राजपाले समाजवादी पार्टीले पाएको दुई मन्त्रीसहित सरकारमा जानेतर्फ गृहकार्य अगाडि बढेको छ । राजेन्द्र महतो संविधान संशोधनको पक्षधर र मधेश आन्दोलनका बेला सबैभन्दा सशक्त नेता देखिएकाले उनी राजपा अध्यक्षमण्डलको संयोज बनेकै बखत सहमतिको गृहकार्य भइरहेको छ । महतोलाई सरकारमा ल्याएर समाजवादी र राजपाबीच दूरी बढाउने र भविष्यमा संविधान संशोधनतर्फ पनि बढ्ने गरी ओली अगाडि बढेका छन् । उनले एउटै अस्त्रले राजपा र समाजवादी पार्टीबीच सहकार्य टुटाउने देखि विगतमा थाती रहेका कतिपय विषयमा पनि अगाडि बढ्ने मार्ग कोरेका छन् ।

समाजवादी र राजपा दुवै सरकार बाहिर भएकाले पार्टी एकताको सम्भावना बलियो वातावरण बनेको तर्क गर्नेहरु नभएका होइनन् । तर, राजपाले नेकपासँग सहकार्य अगाडि बढाएपछि एकताभन्दा झन् दूरी बढ्ने अवस्था बनेको हो । यसले मधेश केन्द्रित प्रभावशाली नेताहरुबीच सम्बन्ध बिग्रन थालेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot