Logo

नेकपा अछुत होइन, सहकार्य हुन्छ- रामनरेश यादव



काठमाडौं, १० पौष । प्रदेश नम्बर २ का प्रभावशाली मन्त्री रामनरेश यादव खरो बोल्छन् । उनले नेकपा र राजपाबीचको सहकार्यबारे समिक्षा गरेका छन् । उनीसँग ऋषि धमलाले एनआरएन रेडियोको नेपाली बहसका लागि गरेको कुराकानीः
तपाईंहरु नेकपासँग गठबन्धन गर्दैहुनुहुन्छ रे होइन ?
यस्तो सूचना कसले भन्यो ? तपाईंलाई ।
लालबाबु राउतलाई हटाएर राजपाले नेतृत्व गर्ने भनेर प्रधानमन्त्रीसँग वार्ता गरिरहनुभएको छ नि ?
त्यस्तो खालको न कुनै बैठक भएको छ न कुनै छलफल र भेटवार्ता भएको छ सबै हावादारी कुराहरु हुन् ।
तपाईंहरु भित्रभित्रै साँठगाँठ गरिरहनुभएको छ, अनि कसरी हावादारी हु्न्छ ?
राष्ट्रिय जनता पार्टीको नेकपासँग राष्ट्रियसभा निर्वाचनका लागि एलाइन्स भएको छ । यो हुनेबित्तिकै आकास, पाताल गरिहाल्छ भन्ने छैन ।
तपाईंहरु प्रदेश नं. २ मा गठबन्धन परिवर्तन गर्न लाग्नुभएको छ हो ?
उपेन्द्र यादव पनि दुई बुँदे सहमति गरेर सरकारमा जानुभएको थियो । त्यसले यहाँको सरकार र समिकरणमा त केही परिवर्तन भएन । त्यसैले राष्ट्रियसभामा दुईवटा प्रतिनिधि पाउने भनिएको छ । त्यसको लागि ‘गिभ एन्ड टेक’ हो ।
तपाईंहरु सरकारमा जानुभयो भने गठबन्धन तोडिन्छ कि तोडिँदैन ?
हाम्रो पार्टीका अध्यक्ष राजेन्द्र महतोजीले प्रष्ट गरिदिनुभएको छ, ‘हामी चाहन्थ्यौ समाजवादी पार्टी र कांग्रेससँग त्यो एलाइन्स होस्, विगतमा जसरी सिटको बाँडफाड भएको छ, त्यसको आधारमा होस्’ भनेर ।
तपाईंहरु व्यक्तिगत स्वार्गको लागि जोसँग पनि गठबन्धन गर्ने ?
सुन्नुहोस् ऋषिजी । यो देश, मधेश र मधेसी जनताको हितको लागि राष्ट्रिय जनता पार्टी यदि रावणसँग सम्झौता गर्नुपर्छ भने पनि त्यो गर्न तयार छ ।
पदको लागि भन्नुस् न ?
कम्युनिस्ट पार्टी अछुत होइन नि । विगतमा हामीले राष्ट्रपतिमा विद्यादेवी भण्डारी, प्रधानमन्त्रीमा केपी शर्मा ओलीजीलाई भोट दिएकै हो नि । त्यसैले त्यो पार्टी होइन । मधेसी जनता र मधेसको हितको लागि काम गर्न आउँछ भने त्यसको लागि पानी बाराबारको स्थिति छैन । सत्ता सहमति गर्न पनि हामी तयार छौं ।
सत्ता र पैसाको लागि समाजवादी पार्टीसँग सहकार्य तोड्न तयार हुनुहुन्छ हो ?
किन हिजो हामीले प्रधानमन्त्री र राष्ट्रपतिलाई भोट दिएको होइन ? उपन्द्र यादव पनि झन्डै दुई वर्षसम्म सरकारमा बस्नुभयो । उहाँ मन्त्री हुँदा राजपामा आकाश, पाताल भाँस्सिएको थियो ? अनि किन मिल्नु नहुने नेकपासँग ।
अब प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्छ त्यसको लागि तपाईंहरु तयार भएको हो ?
हिजोदेखिका जुन मुद्दाहरु छन् । त्यसको सम्बोधन हुन्छ भने हामी विश्वासको मत दिन तयार छौं ।
प्रदेश नं. २ को गठबन्धन तोड्न भित्रभित्रै सम्झौता गर्दैहुनुहुन्छ हो ?
राष्ट्रिय जनता पार्टी जुन नेपालमा छ, त्यसले नाटकमा विश्वास गर्दैन । अरुले जस्तो नाटक गर्न हामी चाहँदैनौं । राजपाले उठाएको मुद्दाजति केपी ओली सरकारले पूरा गर्न तयार छ भने हामी पनि त्यो सरकारलाई विश्वासको मत दिन तयार छौं । ती मुद्दाहरु हुन ः संविधान संशोधन, रेशम चौधरीको मुद्दा, अन्य आन्दोलनका नाममा भएका जति पनि झुटा मुद्दा छन् त्यो फिर्ता यो सरकार तयार हुनुपर्छ । यो काम सरकारबाट भयो भने हामी समर्थन दिन तयार छौं ।
त्यसोभए राजपा सत्ताको लागि विपरित ध्रुव र शक्तिसँग पनि साँठगाँठ गर्न तयार हो ?
उहाँहरुको आफ्नो नीति र सिद्धान्त छ, हाम्रो पनि आm्नो नीति र सिद्धान्त छ । राजनीतिमा कसैको नीति र सिद्धान्तमा पानीबाराबारको स्थिति कहिल्यै हुँदैन । राजपा मधेस र मधेसीको हितको लागि जोसँग पनि सम्झौता गर्न तयार छ ।
तपाईंले अहिलेसम्म सरकारमा बसेर मधेसी जनताको लागि के गर्नुभयो ?
केपी शर्मा ओलीजी नेपाली जनताले भोट दिएर प्रधानमन्त्री बन्नुभएको हो । आपैm बन्नुभएको होइन । त्यसले उहाँले मधेसी जनताको मुद्दा सम्बोधन गर्नुपर्छ । यदि हाम्रो मुद्दा सम्बोधन हुँदैन भने कुनै किसिमको सहयोग र समर्थन उहाँलाई हुँदैन ।
मधेसको मुद्दा देखाएर पालैपालो सरकारमा जाने काम मात्रै भएको छ, मुद्दामा केही भएको छैन नि ?
ऋषिजी, मधेसी जनता र मधेसको हित यदि कोही गर्छ भने त्यो राष्ट्रिय जनता पार्टी नेपालले मात्रै गर्छ, अरु कसैले गर्दैन । अर्को कुरा सरकारमा जानको लागि त जुन दिनदेखि ओलीजीको सरकार बनेको थियो, त्यही दिनदेखि नै राष्ट्रिय जनता पार्टीलाई निम्तो दिइएको थियो । तर राजपाको आफ्नै अडान छ, जबसम्म हाम्रो मुद्दा सम्बोधन हुँदैन तबसम्म हामी सरकारमा सामेल हुँदैनौं । बाहिरबाट हाम्रो पार्टीले समर्थन दिएको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot