Logo

चितवन प्रहरी इञ्चार्जमा एसपी पन्तलाई किन रोक्न खोजियो



काठमाडौं, १७ पौष । चितवन जिल्ला प्रहरी प्रमुख रहेका एसपी दानबहादुर मल्ल आठ महिनामै सरुवा भएपछि उनको ठाउँमा जानुपर्ने गंगा पन्त प्रहरी प्रधान कार्यालयमै रोकिएकी छिन् । मल्लले जिल्ला छाड्न नमानेपछि १२ घन्टाभित्र तोकिएको ठाउँमा हाजि हुन प्रदेश प्रहरी कार्यालय हेटौंडाले कडा पत्र लेखेको छ ।

मल्ल बिहिबार नै रमाना लिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा हाजिर हुनुपर्नेछ । त्यसपछि चितवनमा सरुवा भएकी गंगा पन्त चितवन जानुपर्नेछ । प्रहरी स्रोतका अनुसार मल्लले गंगा पन्तलाई रोक्न सम्पूर्ण शक्ति लगाएका छन् । पन्तबाहेक अन्य एसपी पठाउन शक्ति लगाउनुलाई अर्थपूर्ण मानिएको छ ।

गंगा पन्त प्रहरी प्रधान कार्यालयमै रहेको बुझिएको छ । इन्टरपोल शाखामा रहेकी पन्तलाई चितवन पठाउने हो होइन टुंगो लागेको छैन ।
मल्ल विगतमा पूर्व प्रधानमन्त्री प्रचण्डका सुरक्षागार्ड थिए । उनी दरबारमार्ग वृत्तमा थिए । बढुवा भएको केही समयमै चितवनको इञ्चार्ज बने । चितवन प्रचण्डको गृह जिल्ला हो ।

पन्त डिएसपी हुँदा आफ्नो ब्याचकी एक नम्बरकी थिइन् । एसपी हुँदा १५ औं नम्बरमा पुगिन् । पन्तले भविष्यमा बढुवा हुँदा मार्ग राम्रो बनाउने हुन् कि भनेर उनका ब्याची कतिपय एसपी सतर्क भएका छन् । यसकारण पनि उनलाई चितवन जानबाट रोक्न एउटा समूह सक्रिय भएको छ ।

गंगा पन्तले विगतमा प्रचण्डबारे गलत विषय पोष्ट गरेको चर्चा नचलेको होइन । उनका प्रतिष्पर्धीहरुले यसलाई अतिरञ्जित बनाउन खोजेको विषय समेत उठेको छ । यो प्रहरीको भावी नेतृत्वमा पुग्ने प्रतिष्पर्धा अन्तर्गतको चलखेल हो भन्ने विश्लेषण नभएको होइन ।



प्रतिक्रिया दिनुहोस्

Screenshot