Logo

महोत्सवले बौद्धकालीन सभ्यता झल्काउने



खस्यौली, १८ पुस : रुपन्देहीको सैनामैना नगरपालिका–४ स्थित मुर्गियामा लाग्ने महोत्सवले बौद्धकालीन सभ्यतालाई झल्काउने भएको छ ।

बौद्धकालीन सभ्यतासँग जोडिएको पुरातात्विक भग्नावशेषका रूपमा ठूलो राजाकुवा, रानीकुवा र बुद्धसँग सम्बन्धित भग्नावशेष सैनामैना–१ वनकट्टामा रहेको छ । त्यस ठाउँमा अहिले पनि बौद्धकालीन सभ्यतासँग सम्बन्धित विभिन्न भग्नावशेष अवलोकन तथा अनुसन्धानका लागि आन्तरिक पर्यटक त्यहाँ जाने गर्छन ।

बौद्धकालीन सभ्यतासँग मिल्दाजुल्दा विषयको संरक्षणका लागि सङ्ग्राहलयसमेत निर्माण गर्न लागिएको छ । बुद्ध जन्मस्थल लुम्बिनीको सम्बन्ध सैनामैनासँग रहेको भन्दै उद्योग वाणिज्य सङ्घ, सैनामैनाले आयोजना गर्न लागेको कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सवमा बौद्धकालीन सभ्यता तथा पुरातात्विकस्थलको प्रवद्र्धनका लागि बौद्धकालीन सभ्यताको उद्यान निर्माणसमेत गरिने बताइएको छ ।

महोत्सवले सैनामैनामा रहेको बोलबमधाम, मलमला मन्दिर, थारू जातिको विशेषता झल्काउने थारू घरवास, विभिन्न जातिका संस्कृति वेषभूषालगायतको प्रवद्र्धन गर्ने सङ्घका अध्यक्ष तथा महोत्सव मूल आयोजक समितिका संयोजक राजबहादुर क्षेत्रीले बताए । मेलामा २२० स्टल रहने र महोत्सवमा रु पाँच करोड बराबरको करोवार गर्ने लक्ष्य रहेको बताइएको छ ।

चौथो राष्ट्रिय सैनामैना कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सव यही पुस २४ गतेदेखि माघ ६ गतेसम्म सञ्चालन हुनेछ ।

रु एक सामाजिक काममा

सैनामैना उद्योग वाणिज्य सङ्घले आयोजना गर्ने सो महोत्सवमा जारी गर्ने प्रति टिकटको मूल्यमा रु एक सामाजिक कार्यमा लगाइने भएको छ ।

महोत्सवमा बिक्री भएको टिकटबाट भएको आम्दानीको रकम शिक्षा, स्वास्थ्य, खेलकूदको विकासका लागि छुट्याइने मेला आयोजक मूल समितिका संयोजक तथा सङ्घका अध्यक्ष राजबहादुर क्षेत्रीले बताए । उनले भने, “आम्दानी भएको प्रत्येक टिकटको रु एक गरीब, विपन्न तथा अनाथ बालबालिकाका लागि खर्च गरिनेछ ।”



प्रतिक्रिया दिनुहोस्

Screenshot