Logo

साइपालमा सकियो खाद्यान्न



काठमाडौँ, ८ माघ । विकट साइपाल गाउँपालिकामा लगातारको हिमपातले खाद्यान्न अभाव भएको छ । खाद्य संस्थानले गत वर्षदेखि नपठाएको र स्थानीयको घरमा सञ्चित खाद्यान्न सकिएपछि अभाव भएको हो ।

यहाँ बाक्लो हिउँ जमेर बाटाघाटा बन्द छन् । गाउँहरूबीचको सम्पर्कसमेत विच्छेद भएको छ । एकबाट अर्को गाउँ जाने बाटो पर्ने डाँडामा चार फिटसम्म हिउँ जमेकाले आवतजावत बन्द भएको स्थानीयले बताएका छन् । साइपालमा सबैभन्दा धेरै जनसंख्या रहेको धलौन गाउँबाट गाउँपालिकाको केन्द्र रहेको काँडा जाने बाटोमा पर्ने रस्यालेकमा सात फिट हिउँ जमेको छ । यो बाटो भएर उत्तरतिरका काँडा, धुली, न्युना, बलौडी र काया गाउँका स्थानीयले बन्दोबस्ती तथा दैनिक उपभोग्य सामग्रीहरू लैजान पाएका छैनन् ।

‘सबै घरमा भएको खानेकुरा सकिएको छ । गाउँका पसलहरूमा पनि रित्ता छन् । हिउँले अन्तबाट ढुवानी गर्न सकिने अवस्था छैन,’ काँडा माविका शिक्षक बमबहादुर बोहराले भने, ‘अझै हिउँ परिरहेको छ । तत्काल चामल पुगेन भने मान्छेहरू भोकभोकै पर्ने अवस्था छ ।’ खाद्यान्न अभाव हुँदा स्थानीयले टोल छिमेकमा ऐचोपैंचो गरेर केही दिन गुजारा चलाए पनि लामो समयसम्म हिउँ पर्दा सबै घर र पसलमा खाद्यान्न सकिएको उनले बताए ।
कान्तिपुर दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot