Logo

गृहमन्त्रीको सचिवालयमा अनेक धन्दा



काठमाडौं, १४ माघ । सरकारका मन्त्रीहरुमध्ये गृहमन्त्री रामबहादुर थापा ‘बादल’ फरक स्वभावका छन् । अन्तरमुखी स्वभावका उनी आर्थिकरुपमा भने पारदर्शी छन् । गृहमन्त्री भए पनि उनको तस्कर र खराब समूहसँग हिमचिम छैन ।

तैपनि उनको छवि भने राम्रो हुनसकेको छैन । किनकि उनको सचिवालयलाई माफिया समूहले कब्जामा लिइसकेको छ । प्रहरीको सरुवा–बढुवा मात्र नभई ठेक्कापट्टामा समेत ती समूहको हालीमुहाली छ ।

पछिल्लो समय आइजिपी नियुक्तिमा समेत सचिवालयका सदस्यहरुको दौडधुप बढेको छ । नयाँ आइजिपीका दाबेदारहरुले सचिवालयका व्यक्तिहरुसँग भेटेर डिल नगरेपछि उनीहरु वर्तमान आइजिपी सर्वेन्द्र खनाललाई नै म्याद थप गर्नुपर्ने भन्दै लबिङ गर्न थालेका छन् । गत सोमबार मन्त्रीका सहयोगीहरु गृहसचिव प्रेमकुमार राईसँग यसबारे छलफल गरेका थिए । तर, राईले त्यो गलत भएको भन्दै पन्छिएका थिए ।

पछिल्लो समय प्रहरी बढुवामा पनि सोही समूहले चलखेल गर्दै आएको छ । प्रहरीमा हाल डिआइजीसहित सिनियर तहका एक एक सय पद रिक्त छन् । बढुवाका उम्मेदवारहरुलाई गोप्य रुपमा भेट्दै उनीहरुले डिल गरिरहेको स्रोत बताउँछ ।

सोही समूहले गत वर्ष नुवाकोटमा एसपी कृष्णबहादुर पल्ली मगरलाई लगेको थियो । क्रसर व्यवसायीको लगानीमा मगर नुवाकोट गएका थिए । एसपी र क्रसर व्यवसायीको सेटिङ बाहिर आएपछि उनलाई प्रहरी मुख्यालयले तानेको थियो । गत वर्ष एसपीको सरुवा पनि उनीहरुकै हालिमुहाली थियो । एसपी ओमबहादुर रानालाई गृहमन्त्रीका छोरा प्रतीक थापाले नै कास्की लगेका थिए । अहिले उनले नै महानगरीय प्रहरी कार्यालयको घुमुवा टोलीमा तीनै रानालाई खटाएर क्यासिनोदेखि हुन्डीवालासँग समेत सेटिङ मिलाइरहेका छन् । गृहमन्त्रीका सुरक्षा सल्लाहकार रहेका इन्द्रजित राईदेखि पिएओसम्म यस्तो धन्दामा आबद्ध रहेको स्रोत बताउँछ । गृहमन्त्रीले आफ्नै सचिवालयलाई चुस्त बनाउन नसक्दा उनको छवि खस्कँदै गएको छ ।-दृष्टि साप्ताहिकबाट



प्रतिक्रिया दिनुहोस्