Logo

स्याडामा रुघाखोकीका चार सय बिरामी



सिमकोट, २३ माघ : सिमकोट गाउँपालिका–८ स्याडा गाउँमा रुघाखोकी र भाइरल ज्वरोका बिरामीले गाउँ नै थलिएको छ । गाउँका ३६५ जना रुघाखोकी र भारइल ज्वरोले बिरामी भएका छन् ।

सिमकोटबाट आठ कोस टाढा रहेको स्याडामा मौसमी रुघाखोकी र भाइरल ज्वरोका बिरामीप्रति सरोकार निकाय मौन भएको स्थानीयवासीले बताएका छन् । मौसमी रुघाखोकीबाट पाँच जनाको अवस्था चिन्ताजनक रहेको स्याडा स्वास्थ्यचौकीका वरिष्ठ अहेव अर्जुन कार्कीले बताए । “स्वास्थ्यचौकीमा पर्याप्त औषधि र दक्ष स्वास्थ्यकर्मी नहुँदा समस्या भएको छ”, उनले भने, “गाउँपालिका स्वास्थ्य शाखाबाट दिएको औषधि सकियो तर गाउँभरि नै बिरामी थला परेकाले अहिले समस्या भएको छ ।”

गाउँमा रुघाखोकी र भाइरल ज्वरोले आक्रान्त वृद्धवृद्धा र बालबालिकाको समयमै उपचार हुन नसके यसले ठूलो रूप लिन सक्ने स्थानीयवासी नुर्बु बुढाले बताए । हुम्लामा मौसमी रुघाखोकीका कारण विभिन्न गाउँपालिकाका १४ जनाको मृत्यु भइसकेको छ । जिल्लाभरि सयौँ बिरामी परेको स्वास्थ्य सेवा कार्यालयका नर्सिङ इन्चार्ज सरिता बोहोराले बताए ।रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot