Logo

जनयुद्ध दिवसः ओली, खनाल र नेपालबाट बहिष्कारपछि प्रचण्ड असन्तुष्ट



काठमाडौं, १ फागुन । आज १ फागुन । आजभन्दा २५ वर्षअघि तत्कालिन नेकपा माओवादीले ‘जनयुद्ध’ शुरु गरेको थियो । १८ हजारको ज्यान जानेगरी भएको हिंसात्मक द्धन्द्धको शुरुवात भएको आजको दिनलाई पूर्व माओवादीले गौरवशाली दिनका रुपमा मनाउने गरेका छन् ।

आज नेपाल कम्युनिष्ट पार्टीको धुम्बाराहीस्थित पार्टी कार्यालयमा जनयुद्ध दिवस मनाइएको छ । विहानै जनयुद्ध दिवस मनाउने क्रममा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायत पूर्व माओवादीका प्रभावशाली नेताहरु धुम्बाराही पुगेका थिए । तर, कार्यक्रममा नेकपाका अर्का अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भएनन् । नेकपाका वरिष्ठ नेताहरु झलनाथ खनला र माधवकुमार नेपाल पनि पुगेनन् । पूर्व एमालेबाट उपाध्यक्ष वामदेव गौतम, महासचिव विष्णु पौडेल र अमृतकुमार बोहरा मात्र मञ्चमा थिए ।

पूर्व एमालेका नेताहरु जनयुद्ध दिवस मनाउने कार्यक्रममा अनुपस्थित भएपछि धेरैले मुखामुख गरे । यसलाई पूर्व एमालेले जनयुद्धलाई हेय र नकारात्मक दृष्टिले हेरिरहेको रुपमा लिइएको छ । एकतापछि पनि पूर्व एमाले र पूर्व माओवादी भन्ने भावना कायमै रहेको सन्देश प्रवाह भएको छ ।

नेकपाभित्र पूर्व एमाले फेरि एकजुट भइसकेका छन् । बालुवाटारमा सारङ्की र बाँसुरी साथ साथ बजाएर यसको सन्देश दिन खोजिएको छ । जनयुद्ध दिवसमा पूर्व एमालेको अनुपस्थितिलाई बहिष्कारको रुपमा लिइएको छ । यसप्रति नेकपा अध्यक्ष प्रचण्डले असन्तुष्टि जनाएको बुझिएको छ । नेकपाको कार्यनीतिमा जनयुद्ध समेत उल्लेख भएको अवस्थामा पार्टीकै मुख्य नेताहरुले जनयुद्ध दिवसमा सहभागिता नजनाएपछि प्रचण्डले उचित समयमा जवाफ दिने निकटस्थलाई भनेको बुझिएको छ ।

माओवादी जनयुद्धलाई प्रधानमन्त्री केपी शर्मा ओलीले विगत देखि नै रुचाउँदैन थिए । उनी माओवादीका कट्टर आलोचक थिए । तर, उनैले माओवादीसँग एकीकरण गरेर सबैलाई चकित बनाएका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot