Logo

भक्तपुरको पुरानो बस्तीमा सवारी साधन प्रवेश निषेध



भक्तपुर,फागुन २ । भक्तपुर नगरपालिकाले बिहीबारदेखि भक्तपुर नगरपालिकाको पुरानो बस्तीभित्र सवारी साधन प्रवेशमा निषेध गरेको छ। विश्वसम्पदा सूचीमा सूचीकृत दरबारस्क्वायर क्षेत्रमा सवारी निषेध गर्दै आएको नगरपालिकाले आजदेखि नगरपालिकाको भित्री बस्तीमा समेत सवारी साधन प्रवेश र पार्किङमा निषेध गरेको हो।

भक्तपुरका सम्पदा र परम्परागत पुरानो बस्तीको संरक्षण एवं पैदलयात्रीको सुरक्षाका लागि नगरपालिकाले बिहीबारदेखि लागू हुनेगरी अपराह्न सवारी प्रवेश निषेध गर्ने व्यवस्था गरेको नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जानकारी दिए।

मालवाहक टिपर, ट्रकलगायत भारी सवारी साधन विभिन्न नाकाबाट नगरको पुरानो बस्तीभित्र सवारी प्रवेश गर्ने गरेको पाइएकाले सो क्षेत्रमा निषेध गरिएको बताइएको छ। मिनी टिपर, मिनी ट्रकलगायत मझौला सवारी साधन दिउँसो प्रवेशमा रोक लगाइने र साँझ ६ बजेदेखि बिहान ८ बजेसम्म मात्र प्रवेश अनुमति दिइने उनको भनाइ छ ।

त्यसैगरी सम्पदास्थल र त्यसवरपरका क्षेत्र दुईपाङ्ग्रे र चारपाङ्ग्रे सवारीसाधन पार्किङस्थल बनेकाले आजैदेखि ती क्षेत्रमा पार्किङ पनि निषेध गरिएको छ।
अन्नपूर्ण पोस्ट्बाट



प्रतिक्रिया दिनुहोस्