Logo

अल्पमतमा परेपछि ओलीको सत्ता डगमगायो



काठमाडौं, १५ फागुन । नेपाल कम्युनिष्ट पार्टीभित्र नयाँ घटनाक्रम विकास भएको छ । वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने विषय सचिवालयमा प्रस्ताव हुँदा प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीको असन्तुष्टिको बाबजुद बहुमतले पारित भयो ।

बामदेवलाई राष्ट्रिय सभा सदस्य मनोनित गर्न सरकारले प्रस्ताव लाने गरी बुधबार सचिवालय बैठकमा भएको निर्णयको पक्षमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपाल, महासचिव विष्णु पोडेल, सचिवालय सदस्यहरु वामदेव गौतमसहित नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा बादल देखिए । विपक्षमा ओली र ईश्वर पोखरेल मात्र उभिए । ओली र पोखरेलको असन्तुष्टिका बाबजुद निर्णय भयो । कसैले नोट अफ डिसेन्ट लेखेनन् ।

सचिवालयको निर्णयका बाबजुद प्रधानमन्त्री ओलले सरकारसँग निर्णय अधिकार भएकाले डा. युवराज खतिवडालाई राष्ट्रिय सभा सदस्य मनोनित गर्ने अडान लिए । स्रोतका अनुसार ओलीले पार्टीको निर्णय नमान्ने भन्दै भेट तिव्र पारे । तर, ओलीलाई पोखरेलबाहेक कसैले साथ नदिने संकेत गरेका छन् ।

बामदेवकै विषयले नेकपाभित्र अहिले ओली अल्पमतमा परेको देखिइसकेको छ । पाँच प्रभावशाली नेतामध्ये ओली एक्ला र बाँकी चारजना अर्कातिर छन् । जसका कारण बामदेवको विषयले नेकपाभित्र तरंग आएको छ । यतिमात्र होइन ओलीको सत्ता डगमगाएको छ ।

सचिवालयमा कुल नौ जनामा ओलीको विपक्षमा सातजना स्पष्ट देखिएको छ । प्रभावशाली चारजना ओलीको विपक्षमा हुँदा संसदीय दलमा पनि अल्पमतमा पर्ने देखिन्छ ।

महासचिव विष्णु पौडेलले पनि ओलीको साथ छाडेका छन् । पछिल्लो समय ओलीको साथमा ईश्वर पोखरेल र विष्णु पौडेल दरिलो रुपमा उभिएका थिए । बादल तटस्थ जस्तै थिए । तर, घटनाक्रमले ओलीलाई एक्लिदै जाने अवस्थामा पुर्याएको छ । यो चुनौतीको सामना गर्न उनलाई हम्मे पर्ने देखिदैछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot