Logo

सिद्धबाबा अदालतमा हाजिर हुँदै



विराटनगर, १ माघ । बलात्कारको अभियोग लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरी आज अदालतमा हाजिर हुने भएका छन् । उनी भारतबाट फर्केर अदालतमा हाजिर हुन लागेको सहयोगी भरत सापकोटाले रिपोर्टर्स नेपाललाई जानकारी दिएका छन् ।

सापकोटाले भने, ‘सिद्धबाबा उपचारका लागि जानुभएको थियो र अदालतको म्याद अगावै हाजिर हुँदै हुनुहुन्छ ।’ अदालतमा भोलिसम्म हाजिर हुने म्याद थियो । चतराधामका सिद्धबाबाका समर्थकहरु अदालतमा हाजिर हुनुअघि पुगिसकेका छन् ।

यसअघि उच्च अदालत विराटनगरको थुनामा राख्ने फैसला आउनुअघि सिद्धबाबा ९ माघमा भारततर्फ लागेका थिए । उनको निगरानीका लागि राखिएको सुरक्षाकर्मीलाई छाडेर जोगवनी हुँदै वेपत्ता भएका थिए । उनी वेपत्ता भएकै दिन उच्च अदालत विराटनगरले जिल्ला अदालत सुनसरीको धरौटीमा रिहा गर्न गरेको फैसला उल्टाउँदै र्पुपक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो ।

अनुयायीमाथि ४ कात्तिकमा सुनसरीको चतरास्थित आश्रममै बलात्कार गरेको अभियोग लगाइएको छ । दुई बालककी आमा ती महिलाले गिरीमाथि आरोप लगाएपछि उनी संकटमा परेका थिए । महिलाले गिरीमाथि गत पौष महिनामा किटानी जाहेरी दिएकी थिइन् ।

बलात्कारको अभियोग लागेका गिरीलाई धरौटीमा छाड्ने सुनसरी जिल्ला अदालतको फैसला उच्च अदालत विराटनगरले बदर गरिदिएको थियो। ९ माघमा मुख्य न्यायाधीश तीलप्रसाद श्रेष्ठ र प्रेमराज कार्कीको संयुक्त इजलासले जिल्ला अदालतको आदेश बदर गरी र्पुपक्षका लागि थुनामा राख्ने फैसला गर्यो ।

सिद्धबाबाले आफूलाई एक महिलाले नियोजित रुपमा फसाउन खोजेको दाबी गर्दै आएका छन् । उनले आफू ब्रम्हचारी भएको र महिलाप्रति उच्च सम्मान गर्ने बताएका छन् । तर, बलात्कारको आरोप लगाउने महिलाले सिद्धबाबाले आफूमाथि कात्तिक ४ गते आश्रममै बलात्कार गरेको आरोप लगाएर सजाय दिलाएरै छाड्ने बताएकी छिन् ।



प्रतिक्रिया दिनुहोस्