Logo

भारतमा रहेका नेपालीको एकै परिवारका ८ जनामा कोरोना संक्रमण



चैत २८, काठमाण्डौ । भारतमा रहेका नेपालीको एक परिवारका ८ जनामा कोरोना संक्रमण भएको छ । नेपाली परिवारका ११ सदस्यमध्ये आठ जनामा संक्रमण देखिएको हो । सुदूरपश्चिमको अछाम मूल घर भएका उनीहरू कामको सिलसिलामा मुम्बईमा बस्दै आएका थिए । परिवारका दुई दाजुभाइ, उनीहरूका श्रीमतीहरू र चार जना छोराछोरीमा संक्रमण देखिएको हो ।

एउटै परिवारका यति धेरै सदस्यमा संक्रमण देखिएको यो पहिलो घटना हो । मुम्बईस्थित गिरगाउँ चौपाटीमा बस्दै आएको एक नेपाली परिवारका आठ जनामा कोभिड–१९ को संक्रमण देखिएको हो । यो सँगै भारतमा संक्रमित नेपालीको संख्या १२ पुगेको छ ।

यसअघि दक्षिण भारतको बैंग्लोर बस्दै आएको एक नेपाली दम्पतीमा पनि संक्रमण देखिएको थियो । नेपालको सुदूरपश्चिम बझाङ घर भएका ४५ वर्षीय पुरुष र ३५ वर्षीया महिलामा कोभिड–१९ पुष्टि भएको हो । उनीहरूमध्ये पहिले श्रीमतीमा दुई साताअघि संक्रमण देखिएको थियो । उनी एक भारतीय परिवारमा घरेलु कामदार थिइन् । त्यस परिवारकी एक महिला गत १२ मार्चमा लन्डनबाट आएकी थिइन् ।

यसैगरी दिल्लीको इस्लामिक भेलामा सहभागी भएका दुई नेपालीमा पनि कोभिड–१९ देखिएको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot