Logo

भारतमा महामारी फैलिदैछ, लक डाउन छिट्टै अन्त्य हुँदैन : प्रधानमन्त्री



काठमाडौँ, ३० चैत । प्रधानमन्त्री केपी शर्मा ओली र सात प्रदेशका मुख्यमन्त्रीबीच कोरोना भाइरस रोकथाम र नियन्त्रणबारे भिडियो कन्फरेन्सका माध्यमबाट भई लक डाउनलाई अझ प्रभावकारी बनाउने विषयमा छलफल भएको छ ।

सिंहदरबारस्थित एक्सन रूमबाट प्रधानमन्त्री ओलीले छलफल सञ्चालन गर्दै यसबीचमा रोकथामका लागि भएका प्रयासहरू सकारात्मक नै रहेको र यसलाई अझ समन्वयात्मक ढङ्गले अघि बढ्न जरूरी रहेको बताएका छन् । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्री ओलीले लक डाउन छिट्टै अन्त्य नहुने, सीमामा अझ कडाइ हुने, भावुक कुरा गरेर लापरबाही स्वीकार्य नहुने र सङ्क्रमण फैलिनबाट सबै सचेत हुनु अनिवार्य रहेको स्पष्ट गरेका छन् ।

प्रधानमन्त्री ओलीले भने, “भारतमा सङ्क्रमण फैलिने क्रम बढिरहेको देख्दादेख्दै यहाँ लक डाउन खुला गर्ने कुरा हुन सक्दैन । यसमा नरम बनेर लापरबाही नगर्न म आग्रह गर्दछु ।” सरकारभन्दा भिन्न कुनै संयन्त्र आवश्यक नरहेको स्पष्ट पार्दै सरकार स्वयंले अधिकारका साथ काम गरेको हुनाले १५ दिन घरमा बस्दै बीचबीचमा एकपटक निर्देशन दिएजस्तो गरी सरकारले काम गरोस् भन्ने जस्तो नगर्न आग्रह गरे। उनले स्वयंसेवकहरू स्वयंसेवी भावनाले कार्य गर्ने र त्यसवापत कुनै लाभ नखोज्ने हुनुपर्ने बताएका छन् ।

लक डाउनमा प्रशासनिक लापरबाही हुन नहुनेमा जोड दिँदै उनले मेला लाग्ने तथा मान्छे जम्मा हुने आदि क्रियाकलाप गर्न रोक्न प्रशासन र प्रहरी सजग हुनैपर्ने निर्देशन दिए । उनले जनतालाई दुःख दिन होइन, जनताको जीवन रक्षा गर्न नै लक डाउन अनिवार्य रहेको बुझ्न र बुझाउन सबैलाई सचेतनताको लागि आह्वान गरेका छन् । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्

Screenshot