Logo

भारत र चीनबाट औषधि सहयोग



काठमाडौँ, ११ वैशाख । भारत र चीनले नेपाललाई कोरोना भाइरसविरुद्ध लड्न औषधि सहयोग गरेका छन् । बुधबार स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकाललाई उक्त स्वास्थ्य सामग्री भारतीय राजदूत विनयमोहन क्वात्राले हस्तान्तरण गरेका छन् ।

भारत सरकारले नेपाल सरकारलाई २३ टन औषधि सहयोग गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य सामग्री उपलब्ध गराएकोमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चीन सरकारलाई धन्यवाद दिएका छन् । प्रधानमन्त्री ओलीले ट्विट गरी सहयोगका लागि आभार व्यक्त गरेका छन् । स्वास्थ्यमन्त्री ढकालले नेपाललाई भारतले स्वास्थ्य सामग्री सहयोग गरेर ठूलो सहयोग गरेको बताएका छन् । उनले दुई देश मिलेर कोरोना नियन्त्रण गर्नुपर्ने भन्दै कोरोना नियन्त्रणमा सबैको सहयोग हुनु आवश्यक रहेको बताएका छन् । भारतीय राजदूत क्वात्राले अहिलेको सहयोग पहिलो चरणको भएको बताएका छन् । उनले भारत सरकारले नेपाल सरकारलाई पुनः स्वास्थ्य सामग्री सहयोग गर्ने जानकारी दिएका छन् । उनले नेपाल र भारत दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउनुपर्ने बताएका छन् ।

उनले कोरोना महामारीमा एक राष्ट्रले अर्को राष्ट्रलाई सहयोग गरी अघि बढ्नुपर्ने बताएका छन् । स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले भारतले दिएको औषधि लगायतको सहयोगले नेपालमा कोरोना नियन्त्रणमा ठूलो सहयोग पुग्ने बताएका छन् ।
यसैबीच नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले पनि ट्विटरमार्फत स्वास्थ्य सामग्री नेपाललाई हस्तान्तरण गरेको जानकारी दिएका छन् । बुधबार ट्विट गर्दै उनले सिज्याङ स्वायत्त क्षेत्रले उपलब्ध गराएको सहयोग तातोपानीस्थित मितेरी पुलमा नेपाली पक्षलाई बुझाइएको जानकारी गराएका छन् । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्

Screenshot