Logo

पार्टी नफुटेको जसपाको दाबी, विभाजनका लागि राईले दिएको निवेदन असंवैधानिक भएको ठहर



काठमाडौं,२४ वैशाख । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालको संस्थापन पक्षले पार्टी नफुटेको दाबी गरेको छ ।

सोमबार जसपाका प्रवक्ता मनिषकुमार सुमनले एक विज्ञप्ति जारी गर्दै आइतबार जसपाका संघीय परिषदका अध्यक्ष अशोक राईले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा दिएको निवेदन असंवैधानिक रहेको ठहर गरेको छ । सुमनले कुनै पनि भ्रममा नपर्न नेता कार्यकर्तालाई आग्रहसमेत गरेका छन् ।

‘हाल संसद अधिवेशन आह्वान भइसकेको अवस्था र दल विभाजन सम्बन्धी अध्यादेश खारेज रहेको साथै यस दलको बहुमत केन्द्रीय सदस्य यस दल प्रति नै प्रतिवद्ध रहेको अवस्थामा केही विभाजित मनस्थितिका व्यक्तिहरू निर्वाचन आयोग गई असंवैधानिक निवेदनको आधारमा दल विभाजन हुने अवस्था नरहेको हुँदा पार्टीका सम्पूर्ण केन्द्रीय सदस्य लगायत सबैमा कुनै पनि भ्रममा नपरी आ–आफ्नो पदीय जिम्मेवारी निर्वाह गर्नु हुन अनुरोध छ,’ विज्ञप्तिमा भनिएको छ।

आइतबार अशोक राईसहितका ७ जना सांसदले पार्टी विभाजनका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । अध्यक्ष उपेन्द्र यादव विदेश भ्रमणमा रहेको बेलामा पार्टी विभाजन गर्ने प्रयास भएको हो ।

पार्टी विभाजनमा राईलाई सांसदहरु प्रदीप यादव, रञ्जु ठाकुर, वीरेन्द्र महतो, सुशीला श्रेष्ठ, हसिना खान र नवलकिशोर साह सुडीले साथ दिएका छन् । प्रतिनिधि सभामा जसपाका १२ सांसद छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot