Logo

ओली हटाउने प्रयास असफल



काठमाडौं, १६ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउने केही दिनयताको प्रयास असफल हुँदै गएको छ । उनलाई हटाउने सम्पूर्ण शक्ति लगाएर सचिवालयका केही सदस्यहरु सक्रिय भएपनि ओलीले त्यसलाई निस्तेज पारिदिएका छन् ।

ओलीले आफूविरुद्धको घेराबन्दी तोड्न एकसाथ धेरै अस्त्रहरु प्रयोग गरेका छन् । उनले अविश्वासको प्रस्ताव सम्म सामना गर्ने तर पदबाट नहट्ने दृढता व्यक्त गर्दै विश्वासपात्रहरुलाई सोही बमोजिम सक्रिय बनाएका थिए । उनले पार्टीभित्र असन्तुष्ट पक्षहरुलाई मुख्यमन्त्री हेरफेर र मन्त्रिहरु हेरफेर गरेर जानसकिने प्रस्ताव संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, स्थायी कमिटि सदस्य प्रदीप ज्ञवाली, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलमार्फत् पठाएका थिए । उनीहरुले त्यही अनुरुप भित्री रुपमा वार्ताहरु पनि गर्दै आएका छन् ।

ओलीलाई हटाउन लागेकामध्ये पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपालका अलावा उपाध्यक्ष वामदेव गौतम मध्ये नेपाल र खनाल मात्र जोडतोडले लागिरहेका छन् । गौतम शुरुमा ओलीलाई हटाउने पक्षमा कडा रुपमा देखिएपनि विस्तारै सेलाएका छन् । प्रचण्ड निकटस्थहरुले नै अहिले ओलीलाई हटाए दुर्घटना हुने भन्दै चेतावनी दिएपछि घटनाले नयाँ मोड लिन थालेको हो । स्थायी समिति सदस्य दिनानाथ शर्मा र हरिबोल गजुरेलले सार्वजनिक रुपमा ओलीलाई हटाउन नहुने बताइसकेका छन् । शर्माले त ओली हटाउँदा दुर्घटना हुने चेतावनी दिए ।

माधवकुमार नेपाल पक्षधरमध्ये कतिपय स्थायी कमिटि सदस्य मन्त्री छन् । उनीहरु ओलीलाई हटाउने पक्षमा देखिएका छैनन् । मध्यमार्गी बाटो रोजेर जानुपर्ने भन्दै आएका छन् । बरु माधव नेपाललाई पार्टीको बागडोर हाँक्ने गरी स्थापित गर्ने प्रयासमा उनी निकटस्थ कतिपय नेताहरु रहेका छन् ।

घटनाक्रम ओलीविरुद्ध एकीकृत भएपनि विस्तारै छिन्नभिन्न हुँदै जान थालेका छन् । पछिल्लो समय ओलीले मन्त्रिपरिषद पुर्नगठनको प्रस्ताव पार्टीभित्र अगाडि बढाएपछि कतिपय नेताहरु मन्त्री बन्न सकिने आशामा ओलीलाई नै साथ दिन थालेका छन् । ओलीले मन्त्रीमण्डल पुर्नगठन गरी नयाँ मन्त्री ल्याउने प्रस्तावले विरोधीहरुलाई तितरवितर पारिदिएका छन् । उनीसँग असन्तुष्ट वामदेव गौतमलाई राष्ट्रियसभामा लगेर सरकारमा समेत लाने गरी प्रस्ताव भैंसेपार्टीमा पुगिसकेको स्रोतले बताएको छ ।

प्रचण्डनिकट भनिएका सचिवालय सदस्य रामबहादुर थापा बादल ओलीको नजिक पुगिसकेका छन् । माधव नेपाल निकट कतिपय स्थायी कमिटि सदस्यलाई पनि ओली पक्षधले भेटेर मिलाइसकेको बुझिएको छ । यसरी जति रातहरु बित्दै गए त्यति नै अग्राख पलाउँदै गएको छ । ओलीलाई कमजोर हुँदा दरिलो प्रहार नहुँदा अहिले उनी शक्तिशाली बन्दै गएका छन् । आफू पदबाट नहट्ने बरु कठोर कदमहरु चाल्ने गरी ओलीले सम्पूर्ण तयारी गरिसकेका छन् । यसले राजनीतिक उथलपुथल नै हुनसक्ने सम्भावना रहेको विश्लेषण भइरहेको छ । यही सम्भावनालाई दुर्घटना हुनसक्ने भन्दै पूर्व माओवादी र माधवकुमार नेपाल निकट स्थायी समिति सदस्यहरु पनि सम्हालिएर बढ्नुपर्ने पक्षमा उभिएका छन् । यसले ओलीलाई तत्काल सुरक्षित र बलियो अवस्थामा पुर्याएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot