Logo

ओलीले सकभर शक्ति बाँडफाँडमा मनाउने, नभए पेलेरै जाने



काठमाडौं, १६ वैशाख । प्रधानमन्त्री कपी शर्मा ओलीले सचिवालय बैठक नै डाकेनन् । आज बस्ने भनिएको बैठकमा विहान कुनैपनि सचिवालय सदस्यलाई बोलाइएन । यसलाई ओलीले बैठक टारेर जान खोजेको रुपमा उनी विरोधी नेताहरुले बुझेका छन् ।

ओलीले बैठक टारेर थकाउने रणनीति लिइरहँदा विरोधी स्थायी समिति सदस्यहरुलाई पनि विस्तारै आफ्नो पक्षमा पार्न थालेका छन् । यसका लागि विश्वासपात्रहरुलाई सक्रिय बनाएका छन् । रक्षात्मक अवस्थामा रहेका ओली विस्तारै आक्रामक रणनीतिका साथ प्रस्तुत हुन थालेका छन् ।

स्थायी कमिटि बैठकको माग भइरहँदा उनले सचिवालय नै नडाकेपछि ओलीसँग असन्तुष्ट नेताहरु के गर्ने भन्नेबारे परामर्श गर्न थालेका छन् । माधवकुमार नेपाललाई ओलीले शक्ति बाँडफाँडको प्रस्ताव गरेका छन् । तर, नेपाल पक्ष कडा रुपमा प्रस्तुत भएपछि ओलीको ध्यान मोडिन थालेको छ । उनी स्थायी कमिटि बैठकमा आफूविरुद्ध प्रस्ताव आएको अवस्थामा पनि विफल बनाउने गरी लागिसकेका छन् ।

ओली सकभर मिलाउने नभए पेलेरै जाने रणनीतिका साथ प्रस्तुत भएका छन् । उनले यसका लागि आन्तरिक र बाह्य व्यवस्था मजबुत बनाइसकेको बुझिएको छ । अब ओलीलाई हटाउन प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल र वामदेव गौतक एकढिक्का भई सारा बल लगाएर जाँदा मात्र सम्भव छ । उनीहरुले पार्टीको स्थायी कमिटि बैठक र केन्द्रीय कमिटि बैठकबाट मात्र त्यस्तो निर्णय गराउने क्षमता राख्छन् । संसदीय दलमा ओलीको स्पष्ट बहुमत रहेको छ ।

ओली संसदीय दलमा सुरक्षित रहेका छन् । उनलाई स्थायी कमिटि र केन्द्रीय कमिटिमा डर छ । त्यसतर्फ पनि व्यवस्थापन गर्न थालेपछि उनलाई हटाउनु माधवकुमार नेपालका अलावा अन्य असन्तुष्ट नेताहरुका लागि फलामको च्युरा चपाउनु सरह भएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot