Logo

स्वास्थ्य सामग्री ढुवानी गर्न सम्झौता



काठमाडौँ, १९ वैशाख । कोरोना सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार गर्न चीनसँग खरिद गरिएको स्वास्थ्य सामग्री ढुवानीका लागि बिहीबार सम्झौता गरिएको छ ।

कोरोना सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि चीनसँग खरिद गरिएको स्वास्थ्य सामग्री ढुवानीका लागि नेपाली सेना र कार्गो कम्पनी फ्ल्यास फ्रेट लजिस्टिकसँग सम्झौता भएको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिएका छन् । सम्झौता अनुसार अति आवश्यकीय स्वास्थ्य सामग्री हवाइमार्ग र अन्य सामग्री स्थलमार्ग भएर ढुवानी गरिनेछ । सम्झौता अनुसार दुई उडानमा अति आवश्यकीय स्वास्थ्य सामग्री २०/२० टन ढुवानी गरिनेछ भने बाँकी स्थलमार्गबाट काठमाडौँ ल्याइनेछ । प्रवक्ता पाण्डेले ढुवानीका लागि सम्झौता भई सम्बन्धित कम्पनीलाई स्वीकृति पत्र दिइसकिएको छ । त्यसैगरी रक्षा मन्त्रालयलाई उक्त सम्झौताबारे पत्र पठाउनुका साथै स्वास्थ्य सामग्री खरिद गरिएका चिनियाँ कम्पनीलाई समेत ढुवानी सम्झौता बारेको सो पत्र पठाइसकेको बताएको छ ।

उनका अनुसार हवाइमार्गबाट ढुवानीका लागि तीन लाख ७२ हजार यूएस डलर र स्थलमार्गबाट ढुवानीका लागि दुई करोड ४६ लाख रुपियाँ बराबरको ढुवानी सम्झौता गरिएको छ । स्थलमार्ग भएर चीनको गोन्जाउदेखि नेपाली सेनाको छाउनीस्थित रेन्जर गणसम्म सो कम्पनीले स्वास्थ्य सामग्री ढुवानी गर्नुपर्ने हुन्छ । स्थलमार्ग भएर गोन्जाउदेखि नेपालको तातोपानीसम्म पुग्न कम्तीमा एक हप्ता लाग्ने छ । भन्सारमा थप दुई दिन लाग्न सक्छ । चीनमा शुक्रबारदेखि लगातार तीन दिन सार्वजनिक बिदा भएकाले वैशाख २३ गते नेपाल वायुसेवा निगमको जहाज गोन्जाउका लागि उड्ने जानकारीसमेत सैनिक प्रवक्ता पाण्डेले दिएका छन् । चीनको सरकारी स्वामित्वमा रहेको चाइना साइनो फर्म इन्टरनेसनल कर्पोरेसनसँग ६७ प्रकारका ३४२ टन स्वास्थ्य सामग्री खरिदका लागि यसअघि नै सम्झौता भइसकेको छ । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्

Screenshot