Logo

सुत्केरीको नमुना परीक्षण गराउनुपर्छ भन्दै जनप्रतिनिधि र प्रहरी घर नै पुगेको खुलासा



काठमाडौं, ५ जेठ । नेपालमा कोभिड-१९ बाट पहिलो मृतक सिन्धुपाल्चोककी महिलाको नमुना परीक्षण गराउनुपर्छ भन्दै बाह्रबिसेका जनप्रतिनिधि प्रहरी नै लिएर घरमा पुगेको खुलासा भएको छ । मृतक २९ वर्षीया महिलाका आफन्तका अनुसार मृत्यु हुनु एक दिन अघि नै ठोटनेरीस्थित घरमा पुगेका थिए ।

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा कोरोना भाइरस संक्रमणको हल्ला चलेपछि उनी त्यहींबाट फर्किएको जानकारीका आधारमा जनप्रतिनिधि प्रहरीसहित पुगेका थिए । १ वैशाखमा त्यहाँ पुगेपनि एम्बुलेन्स नपाएको आफन्तले बताए । साँझ स्वासप्रश्वासमा निकै कठिनाई भएपछि बाह्रबिसे अस्पताल आई चेकजाँच गर्दा छाति खराब भएको चिकित्सकले बताएका थिए । उनलाई तुरुन्त अर्को अस्पताल लान भनिएकोमा न्वारन सकेर जाने भन्दै पुनः घर फर्किएका थिए ।

ती आफन्तका अनुसार घर फर्किएपछि राति स्वास्थ्यमा निकै कठिनाई भएपछि भोलिपल्ट बाह्रबिसे अस्पताल लगिएको थियो । अस्पतालले स्थिति जटिल भनेपछि राति नै अस्पताल लगिएको थियो । २ जेठको राति उनको निधन भएको थियो ।

गोंगबुमा सामान्य व्यापार गर्दै आएका मृतकका परिवार २५ वैशाखमै बच्चाको जन्मपछि बाह्रबिसे नगरपालिकास्थित घर पुगेको थियो । आफन्तका अनुसार जाँदा सुत्केरी पानीले केही भिजेकी थिइन् । त्यसपछि उनलाई चीसो लागेको थियो । दिशामा आऊँ समेत देखिएको बताएकी थिइन् । आफन्तले तुरुन्त अस्पताल लान सुझाव दिएका थिए ।

सुत्केरी र परिवारले ११ दिनको न्वारन सकेर मात्र अस्पताल जाने सोच बनाउँदा पनि उपचारमा ढिलाई भएको बुझिएको छ । उनी नियमित चेकजाँचका लागि त्रिवि शिक्षण अस्पताल नै जाने गरेकी थिइन् । त्यसबाहेक सानो व्यवसाय पनि थियो । उनका कोही पनि आफन्त विदेशबाट नआएको र विदेशबा आएकाको सम्पर्कमा नपुगेको आफन्तले बताए । यसकारण सुत्केरी शिक्षण अस्पताल या पसल कुनै एक स्थानबाट संक्रमित भएको हुनसक्ने देखिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot