Logo

नेकपामा धाँजा फाट्यो, फुटको खतरा बढेपछि नेताहरु रणनीति बनाउँदै



काठमाडौं, २१ जेठ । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकी सहयोगसम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) कुनै हालतमा संसदबाट पारित गराएरै छाड्ने अडानमा । ओलीबाहेकका सचिवालयका अधिकांश सदस्यहरु एमसीसी यथास्थितिमा कुनै हालतमा एमसीसी पारित गर्न नदिन । यो रस्साकस्सीले नेकपाभित्र ठुलो दुर्घटनाको अवस्था सृजना गर्दैछ जसलाई रोक्न कठिन भइसकेको छ । एमसीसी नेकपा फुटाउन सक्ने अस्त्र बनेर आइरहँदा ओली पूर्व एमालेलाई एकजुट बनाउन सक्रिय भइरहेका छन् । उनी विरोधी नेताहरुको फरक रणनीति बनिरहेको छ ।

बजेटमा एमसीसी घुसाइएपछि सचिवालय बैठकमा ओलीविरुद्ध एकजुट भएर प्रस्तुत भएका नेताहरुले पार्टी निर्णय विरुद्ध नजान चेतावनी दिएका थिए । तर, ओलीले सिधै प्रतिवाद गर्नुपर्ला भनेर अर्थमन्त्री डा. युवराज खतिवडा र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई बैठकमा डाकेर सामना गर्न लगाएका थिए । उनले त्यतिबेला आश्वासन दिएर थामथुम पारेपनि अवस्था जटिल बन्दै गएको छ ।

एमसीसी असारको मध्यसम्म कुनै हालतमा पारित हुनुपर्छ । नत्र सम्झौता स्वतः खारेज भई फिर्ता जान्छ । पार्टी स्थायी समिति र केन्द्रीय कमिटिबाट एमससीको पक्षमा बहुमत नहुने भएपछि ओली संसदीय दलबाटै निर्णय गराउने पक्षमा पुगेका छन् । उनको यो रणनीतिप्रति अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताहरु माधवकुमार नेपाल र झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ खुलेरै विरोधमा देखिएका छन् ।

एमसीसी हुबहु पारित गर्न खोजिए दुर्घटना हुने चेतावनी उपाध्यक्ष गौतमले दिइसकेका छन् । गएको सचिवालय बैठकमा उनले दिएको चेतावनीले सबैलाई झस्काएको बुझिएको छ । गौतमले ओलीलाई अब विश्वास गर्न सकिदैन भनी कडा रुपमा प्रस्तुत भइरहेका छन् । यसअघि ओलीविरुद्ध भैंसेपाटीमा एकजुट बनेको समुहलाई पुनः सक्रिय बनाउने भुमिका खेलिसकेका छन् ।

रोचक पक्ष यो छ कि यसअघि ओली हटाउन एकजुट भएकाहरु यसपटक एमसीसी असफल बनाउन एकजुट भएका हुन् । सचिवालय, स्थायी कमिटि र केन्द्रीय कमिटिसम्म ओलीको बहुमत छैन । संसदीय दलमा मात्र उनको बहुमत देखिन्छ । त्यसैले एमसीसी पारित गर्ने पार्टीगत निर्णय संसदीय दलबाट गराउने ओलीको चाहना देखिएको छ । जसको जानकारी पाएर ओलीइतर नेताहरु आन्तरिक तयारीमा जुटिसकेका छन् ।

एमसीसी पारित गराउन ओलीले पूर्व एमालेलाई लिएर भएपनि अगाडि बढ्ने सन्देश सचिवालय सदस्यहरुलाई पठाइसकेको विश्वस्त स्रोतले जानकारी दिएको छ । त्यस्तो अवस्थामा नेपाली काँग्रेस र राष्ट्रिय समाजवादी पार्टीसहितको मतले पारित गर्न सकिने ओली पक्षको ठम्याई छ । संसदीय दलमा बहुमतले एमसीसी पारित गरेपछि टन्टै साफ हुने ओली पक्षको बुझाई देखिन्छ । तर, पार्टी कमिटिलाई बेवास्ता गरी बढ्न खोजे दुर्घटना हुने चेतावनी ओलीइतरको समुहबाट आइसकेको छ ।

एमसीसी पारित गर्ने नगर्ने विषयले नेकपालाई निकै संकटमा पुर्याएको घटनाक्रमले देखाउँदै लगेको छ । दुर्घटना हुन नदिन वरिष्ठ नेता माधवकुमार नेपाल र महासचिव विष्णु पौडेल विस्तारै सक्रिय हुनथालिकसकेका छन् । तर, यसपटक प्रचण्ड, झलनाथ र बामदेवको कठोर निर्णय लिन पछि नपर्ने खालको छ ।

एमसीसी यथास्थितिमा पारित गराउन ओलीले पूर्व एमालेलाई पक्षमा मतदान गर्न लगाउन खोजे अर्को पक्षले विपक्षमा मतदान गर्न सक्छ । यसले सिधै नेकपालाई चिरा पार्नसक्छ । तर, यही मुद्दाले नेकपाभित्र धाँजा फाटिसकेको छ । पूर्व एमाले र पूर्व माओवादीको सोच नहटेको नेकपाभित्र अब ओली र ओलीइतरको समुह देखिएको छ । कुनैपनि बेला दुर्घटनालाई मध्यनजर गर्दै नेताहरु आफ्नो राजनीतिक भविष्य सुरक्षित गर्न लागिपरेको देखिदैछ ।-File Photo



प्रतिक्रिया दिनुहोस्