Logo

नेपालमा कोरोना संक्रमणबाट मृत्यु भएका १० जना को को (विवरणसहित)



काठमाडौं, २२ जेठ । नेपालमा कोरोना भाइरसको संक्रमणबाट हालसम्म १० जनाको मृत्यु भएको छ । सबै मृत्युको घटना जेठभर भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज पाल्पाका एक पुरुषको मृत्यु भएको जानकारी दिएको हो । उनी सिलुवाखोलाका ४५ वर्षीय पुरुष हुन् । स्थानीय क्वारेन्टाइनमा राखिएको र स्वास्थ्यमा गडबडीपछि तीन दिन अघि मिसन अस्पताल पाल्पामा लगिएको थियो ।

उपचारका क्रममा ती पुरुषको २० जेठमा मृत्यु भएको थियो । स्वाब संकलनका क्रममा संक्रमण पत्ता लागेको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । मृतक पुरुष पाँच दिन अघि भारतबाट आएका थिए ।

२१ जेठमा थप एकजनाको मृत्यु भएको थियो । मृतक पुरुष १३ जेठमा सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा भर्ना भएको र १५ जेठमा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि टिचिङ अस्पताल महाराजगञ्ज लगिएको थियो । मृतकलाई यसअघि हेमोरेजिक स्ट्रोक भएको र अपरेशन भएको थियो । उपचारका क्रममा उनको २१ जेठमा टिचिङ अस्पतालमै मृत्यु भएको थियो ।

यसअघि बाजुरामा दुई वर्षीया बालिकाको क्वारेन्टाइनमा बस्दा मृत्यु भएपछि परीक्षणका क्रममा कोरोना संक्रमण पुष्टि भएपछि संख्या ८ पुगेको थियो ।

१७ जेठमा मृत्यु भएका दैलेख दुल्लु नगरपालिका घर भएका ३५ वर्षीय पुरुषको कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको थियो । दुल्लुस्थित पटांगिनी बजारको क्वारेन्टाइनमा रहेका उनी एक्कासी ढलेको र केही समयपछि मृत्यु भएपछि परीक्षणका लागि जुम्लामा स्वाब परीक्षणका लागि लगिदा संक्रमण पुष्टि भएको थियो ।

यसअघि सिन्धुपाल्चोककी महिला, बाँकेका पुरुष, गुल्मीका पुरुष, बाराका वृद्ध, ललितपुरका पुरुष र अर्घाखाँचीका पुरुषको मृत्यु भएको थियो । कुल मृतकमध्ये ७ पुरुष र २ महिला छन्

कोरोना संक्रमणबाट मृत्यु भएकाको विवरण
१. सिन्धुपाल्चोक राम्चेकी २९ वर्षीया महिला । उनी १० दिनको सुत्केरी थिइन् । २ जेठमा निधन भई ३ जेठमा कोभिड १९ को संक्रमण पत्ता लागेको
२. बाँकेको नरैनापुरका २५ वर्षीय युवक । ३० वैशाखमा भारतबाट फर्किएर क्वारेन्टाइनमा राखिएका । ४ जेठमा मृत्यु भएपछि परीक्षणबाट संक्रमण पत्ता लागेको ।
३. गुल्मीका ४१ वर्षीय शिक्षक । ५ जेठमा रुपन्देहीको तिलोत्तमास्थित क्रिमसन अस्पतालमा भर्ना भएका । जन्डिस समेत भएका उनको ८ जेठको विहान निधन भएको ।
४. बाराका ७० वर्षीय वृद्ध । क्षयरोग र स्वास प्रश्वासको समस्याका कारण २ जेठमा अस्पताल भर्ना भई ४ जेठमा मृत्यु भई १२ जेठमा संक्रमण पुष्टि भएको ।
५. ललितपुर बुङमतीका ५६ वर्षीय पुरुष, १२ जेठमा किष्ट अस्पताल भर्ना भई १४ जेठमा मृत्यु भएको छ । १५ जेठमा संक्रमण पुष्टि
६. अर्घाखाँचीको भुमिका स्थान घर भएका ३५ वर्षीय पुरुष, भारतबाट फर्किदा १० जेठमा बाटोमै मृत्यु भई परीक्षणबाट कोरोना संक्रमण पुष्टि, १६ जेठमा संक्रमण पुष्टि
७. दैलेखको दुल्लु नगरपालिका खागितडाका ३५ वर्षीय पुरुष । पटांगिनी बजार दुल्लुको क्वारेन्टाइनमा ढलेर बेहास भई केही समयमा मृत्यु । स्वाब परीक्षणका क्रममा १७ जेठमा कोरोना संक्रमण पुष्टि
८. बाजुराको बुढीगंगा नगरपालिका धुरालसैनकी २ वर्षीया बालिका । बाबुआमासँगै बाजुराको धुरालसैन माविको क्वारेन्टाइनमा रहेकोमा १८ जेठको विहान मृत्यु भएको । १० जेठमा भारतबाट सपरिवार आएकी ।
९. दोलखा घर भएका ७६ वर्षीय पुरुष, १३ जेठमा सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा भर्ना भएको र हेमोरेजिक स्ट्रोक भई शल्यक्रिया गरी १५ जेठमा कोरोना संक्रमण पुष्टि भएपछि टिचिङ अस्पताल महाराजगञ्ज लगिएको थियो । उपचारका क्रममा उनको २१ जेठमा टिचिङ अस्पतालमै मृत्यु भएको ।
१०. पाल्पा सिलुवाखोलाका ४५ वर्षीय पुरुष । स्थानीय क्वारेन्टाइनमा राखिएको र स्वास्थ्यमा गडबडीपछि १९ जेठमा मिसन अस्पताल पाल्पामा लगिएको थियो । उपचारका क्रममा उनको २० जेठमा मृत्यु भएको थियो । २२ जेठमा कोरोना संक्रमण पुष्टि भएको



प्रतिक्रिया दिनुहोस्

Screenshot