Logo

संसद देखि क्याबिनेटसम्म प्रधानमन्त्री ओलीद्वारा योगीकै आलोचना



काठमाडौं, २९ जेठ । हिजो प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको कडा आलोचना गरे । उनले योगीको नामै लिएर नेपाललाई धम्की नदिन चेतावनी समेत दिए ।

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले योगीले हालै एक अन्तरवार्तामा नेपाललाई तिब्बतले जस्तो गल्ती नगर्न दिएको अभिव्यक्तिमा ओलीको कडा प्रतिक्रिया आएको थियो । ओलीले भनेका थिए, ‘योगीजीले त्यो बोल्नुभएको हो भने निन्दनीय विषय हो, नेपालमाथिको अवहेलनाका रुपमा बुझेका छौं । योगीजीलाई स्मरण गराउन चाहनछु कि नेपाल हेपिन चाहँदैन ।’

ओलीले हिजो राति बसेको क्याबिनेटमा पनि योगीबारे बोले । मन्त्रिमण्डलमा ओलीले दिएको चेतावनीप्रति कडा बोलेको विश्वस्त स्रोतले जानकारी दिएको छ । क्याबिनेटमा सबै निर्णय भएपछि अन्तिमतिर उनले योगीको अभिव्यक्तिबारे बोलेका थिए । नेपालसँग सिमा जोडिएको उत्तर प्रदेशका मुख्यमन्त्री हुनुले मात्र योगीको बोलीप्रति ओली गम्भीर भएका होइनन् । उनी नेपालसँग विगत देखि नै सिधा सम्बन्ध भएका हुन् । योगी स्वयं नेपालमा हिन्दु राष्ट्र मात्र नभई राजसंस्थाका पक्षधरका रुपमा विगतमा देखिदै आएका थिए ।

नेपालको भारतसँगको सिमा विवाद र चिनियाँ प्रभाव बढेको विषय भारतभर चर्चा चलिरहँदा योगीको भनाई आउँदा ओली गम्भीर भएका हुन् । त्यसमाथि योगीले विगतमा पूर्व राजा ज्ञानेन्द्र शाहलाई मात्र भेटेनन् नेपाली काँग्रेसका महामन्त्री डा. सशांक कोइराला, केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजाललगायतसँग लखनऊमा भेटेका थिए ।

अर्कोतर्फ योगीलाई नेपाल मामलाको जिम्मेवारी दिनुपर्ने विषय भारतभित्र उठिरहेको छ । भारतको मध्य दक्षिणपन्थी अनलाइन पत्रिका टीएफआईपोष्टले मोदीले नेपालमा योगीकार्ड प्रयोग गर्न सक्नेबारे लेखेको थियो । यही विषय बाहिर आएको केही दिनमै योगीको नेपाल मामलामा पूर्वतयारीका साथ अभिव्यक्ति आउनु अर्थपूर्ण छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot