Logo

महाकाली सन्धी गर्ने ‘राष्ट्रघाती’ को पहिचान गरी टुँडिखेलमा झुण्ड्याउनुपर्छ-राजेन्द्र महतो



काठमाडौं, ३१ जेठ । जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले महाकाली सन्धी गर्नेलाई ‘राष्ट्रघाती’ भन्दै टुँडिखेलमा झुण्ड्याउनुपर्ने अभिव्यक्ति दिएका छन् । आज संसदमा बोल्दै उनले महाकाली सन्धी गर्दा काली नदीको मुहान नटुंग्याइँदा देशको सिमा अतिक्रमित भएको भन्दै सन्धी गर्नेहरु ‘राष्ट्रघाती’ भएको आरोप लगाए ।

‘राष्ट्रघाती महाकाली सन्धी गर्नेको पहिचान गरी टुँडिखेलमा झुण्ड्याउनुपर्दैन, सांसद समेत रहेका महतोले कडा शब्दमा भने,’ सन्धी यही संसदले गरेको हो र त्यतिबेला पार्टी पनि फुटाइएको थियो ।’ महाकाली सन्धीको ढाकछोप गरेको भन्दै त्यो कसरी भएको भनी प्रश्न गरे । देशमा को को वास्तविक राष्ट्रघाती हो पर्दाफास गर्नुपर्ने बताए । उनले प्रश्न गरे, ‘मधेशीलाई राष्ट्रघाती भन्ने ?’

महाकाली सन्धीमै लिम्पियाधुरा, लिपुलेक र कालापानीको विषय रहेको बताए । उनले भने, ‘महाकालीको मुहान कता ? त्यो स्पष्ट भएको भए हाम्रो जमिन मिचिन्थ्यो । कस्ले सम्झौता गर्यो ? कस्ले पारित गर्यो ?’ उनले प्रश्न गरे ।

‘पार्टी समेत फोरेर महाकालीको मुहान पनि पत्ता नलगाई सन्धी गर्ने ?’ उनले कडा स्वरमा भने ।

स्मरण रहोस् महाकाली सन्धीको भारतमा हस्ताक्षर गर्दा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा देशका प्रधानमन्त्री थिए । उनले भारत भ्रमणका समयमा २०५२ सालमा तत्कालिन भारतीय प्रधानमन्त्री पीभी नरसिंह रावका साथ सम्झौता गरेका थिए ।

संसदबाट दुई तिहाईमा सन्धी पारित गर्दा हालका प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालिन नेकपा एमालेभित्र मुख्य भुमिका खेलेका थिए । उनको संयोजकत्वमा एक कमिटि बनेर महाकाली सन्धी राष्ट्रहितमा रहेको भन्दै सुझावसहित पारित गर्न जोड दिएको थियो । यही विवादले तत्कालिन नेकपा एमाले विभाजन भयो । बामदेव गौतमले महाकाली सन्धीको विपक्षमा रहेर पार्टी फुटाएर नेकपा माले गठन गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot