Logo

सिरहामा स्वाब सङ्कलन रोकियो, जोखिम बढ्दो



काठमाडौँ, १ असार । विगत दुई सातादेखि सिरहामा कोरोना परीक्षणका लागि स्वाबको नमूना सङ्कलन कार्य रोकिँदा सङ्क्रमण थप फैलिने जोखिम बढ्दै गएको छ ।

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसहित राजविराज, जनकपुर, विराटनगर, वीरगञ्ज र काठमाडौँका कुनै पनि प्रयोगशालाले स्वाब लिन नमानेपछि सिरहामा गत जेठ १९ गतेदेखि स्वाब सङ्कलन रोकिएको हो । “न धरानले लिन मानिरहेको न त विराटनगर, राजविराज, जनकपुर र टेकुले लिन मानेका छन्”, जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख विष्णुदेव यादवले भने, “हामीले स्वाब सङ्कलन गरी परीक्षणका लागि खासमा जनकपुर र काठमाडौँ पठाउने हो तर जनकपुरले ‘अहिले स्वाब नपठाउनू’ भनेर पत्र नै पठाएको छ, टेकुले पनि स्वाब नपठाउनू भनेकाले रोकेका हौँ ।”

मुलुकको कुनै पनि प्रयोगशालाले परीक्षणका लागि स्वाबको नमूना लिन नमानेपछि जेठ १९ गतेयता जिल्लामा स्वाब सङ्कलन रोकिएको प्रमुख यादवको भनाइ छ । कोरोना भाइरस तीव्रगतिमा फैलिएको छिमेकी मुलुक भारतबाट दैनिक घर फर्किनेको सङ्ख्या बढ्दै गएको बेला परीक्षणका लागि स्वाब सङ्कलन नै रोकिएपछि कोरोना सङ्क्रमण थप फैलिने जोखिम बढेको प्रमुख यादवले बताएका छन् । ‘‘हामीसँग अझै स्वाब सङ्कलन गर्ने किट छ तर न त प्रयोगशालाले स्वाबको नमूना लिन मानेका छन् न त माथिबाट सङ्कलन गर्न निर्देशन नै आएको छ”, प्रमुख यादवले भन्नुभयो, “त्यसैले स्वाब सङ्कलन रोकेर आरडिटी मात्र जाँच गरेर घर पठाउनुपर्ने बाध्यतामा पुगेका छौँ ।”

पछिल्लोपटक सिरहाबाट गत जेठ १७, १८ र १९ गते सङ्कलन गरी पिसीआर परीक्षण गर्न ४२० को स्वाब पठाएकामा हालसम्म १५० को मात्र रिपोर्ट आएको छ । बाँकीको रिपोर्ट अझै आउन सकेको छैन । सिरहाका विभिन्न स्थानको क्वारेन्टिनमा बसेकाहरुको स्वाब सङ्कलन गरी परीक्षण गर्न पठाइएकाहरुको दुई सातासम्म पनि रिपोर्ट नआउँदा व्यवस्थापनमा समस्या भइरहेको जनप्रतिनिधिले गुनासो गरेका छन् । (रासस)



प्रतिक्रिया दिनुहोस्

Screenshot