Logo

अघिल्लो दिन लिन आउनु भन्दै माइतीमा फोन,भोलीपल्ट बिहान मृत्युको खबर



ज्योति शाह । असार २ गते दिउँसो करिब २ बजे हेटौँडाको एउटा घर वरपर मानिसहरु झुम्मिएका थिए । ती हुलमा प्रहरी पनि देखिन्थे । रुदैँ कराउँदै केहि मानिस गाडीबाट ओर्लिए । घर भित्र पस्नासाथ प्रहरीको निर्देशनमा भान्सा कोठाको ढोका खोलियो । ढोका खुल्यो र भुइँमा लडिरहेको अवस्थामा देखियो सुस्मिता केसीको शव ।

कपिलवस्तु वाणगंगा नगरपालिका ८,बोडगाउँकी २६ वर्षिय सुस्मिता भारतको दिल्लीमा बिएचएम पढ्दै थिइन् । घरकी एक्ली छोरी सुस्मिताको अध्ययनकै क्रममा मकवानपुर हेटौंडा उपमहानगरपालिका ४ सूर्य चोकका रुपेन्द्र थापासँग मागी विवाह भयो । अन्य नवविवाहित जोडी जस्तै यो जोडी पनि असाध्यै खुशी दखिन्थे ।
तर २०७६ को दशैँसँगै सुस्मिताको जीवनमा ठुलो बज्रपात पर्यो ।

दशैँको अर्को दिन नै ससुरालीबाट हेटौँडा फर्कने क्रममा सुस्मिताका श्रीमानको सडक दुर्घटनामा परी निधन भयो । अनेक शाहस जुटाउँदै सुस्मिताले जीवन जिउने आँट बटुलिन् । हेटौँडा रुपेन्द्रको घरमा बस्दै आएकी सुस्मिता लकडाउनका कारण माइतीमा थुनिएकी थिइन् । श्रीमानको ६ महिनाको कामकालागि उनी लकडाउनकै बीच चैत्र १९ गते हेटौँडा फर्किइन् । तर श्रीमानको निधन भएको ६ महिनाको काम सकेसँगै असार १ गते राती सुस्मिताको मृत्यु भयो । सुस्मिताको मृत्युलाई आत्महत्या भनिए पनि हाल भने उनको मृत्यु रहष्यमय बन्दै गएको छ ।

कृपया, हत्यालाई आत्महत्या नभनिदिनुहोस्

सुस्मिताको ठुलो बुवा हेम बहादुर खड्काका अनुसार घटनाबारे थाहा पाउने बितिक्कै बिहान ७ बजे बुवा, आमा, ठुलीआमा, छोरा कपिलवस्तुबाट हेटौँडा पुगेको बताउँछन् । आत्महत्या भन्ने खबर परिवारबाट होइन मेरा एक साथीबाट आएको थियो । करिब २ बजे हेटौँडा पुगेर प्रहरीको अनुमतिसहित भान्सा कोठाको ढोका खोलेर हेर्दा छोरीको शव देखिन्थ्यो । उनको शव हेर्नासाथ जघन्य अपराध भएको महशुष गरेँ । कोठा रक्ताम्य थियो,टाउको क्षतविक्षत अवस्थामा थियो । अलिकति ढाकेकाले स्पष्ट नदेखेपनि एक आँखामाथि नै प्रहार गरेको देख्न सकिन्थ्यो । लोहोरोले शिरमा चोट पुर्याइएको स्पष्ट देखिन्थ्यो । हामी करिब २ देखि ६ बजेसम्म त्यहिँ रह्यौँ । हामीसँग तस्बिर पनि छ ।

त्यो समयमा,ज्वाईँको परिवारका सदस्यलाई देखेका थिएनौँ । त्यहिँ दिन हामीले सुस्मिताका ससुरा,नन्द र आमाजुका विरुद्धमा किटानी दियौँ । तर आमाजु दुर्गा थापा हामीभन्दा केहि समय अघि मात्र घटनास्थलमा पुगेको भनेर किटानी स्वीकृत भएन । हामीले हत्याको जाहेरी दियौँ र सुस्मिताको ससुरा प्रकाश थापा जो शिक्षक हुनुहुन्छ र नन्द सीता थापालाई हिरासतमा लिइएको छ भन्ने जानकारीमा आएको छ ।

वास्तवमा मेरै सामुन्ने पनि पहिले दुर्गाजीले मेरो भाईको मृत्युको कारण तिमीहरु हौ भनेर अनेक लान्छाना लगाउनुभएको थियो। पटक पटक सो परिवारले मेरी छोरीलाई अनेक किसिमको आक्षेप र मानसिक यातना दिएको हो । सुस्मिताको हत्या भएको दिन पनि उनले करिब १० बजे आमासँग मलाई लिन आउनु भनी रोएकी थिइन् । तर पहिले पनि उनले गालीगलौच तथा आक्षेप लगाएको मसँग गुनासो पोखेकी थिइन् ।

बीमामा हाम्रो कुनै चासो छैन,हाम्रो चासो सुस्मिताका लागि न्याय हो । ज्वाईँ रुपेन्द्र थापाको निधन पछि जीवन बीमाको रकम आउनुपर्ने रहेछ । त्यसकोलागि सुस्मिताले दौडधुप गरेकी थिइन् । ५ वा १० लाख भन्ने सुनिन्छ तर विस्तृत रुपमा थाहा छैन । यसका साथै १७ हजार ५०० सामाजिक सुरक्षाबाट महिनौँ जसो सुस्मिताको अकाउण्टमा आउने गर्दथ्यो ।

बीमाका केहि कागजमा शेष पछिका हकदारमा ज्वाईँको बुवाको नाम र कतै खाली भएकाले,छोरीको नै हक हुने देखिन्थ्यो। तर हाम्रो चासो बीमामा पहिले पनि थिएन र अहिले पनि छैन । हाम्रो चासो सुस्मिता थिइन् र अहिले पनि सुस्मिताको विभत्स हत्याको हत्यारालाई हदैभन्दा बढिको सजाय मिलोस् भन्ने हाम्रो अपिल हो । हाम्रो चासो सुस्मिताकोलागि न्याय हो ।

मैले जानेसम्म प्रहरीको मुचुल्कामा पनि यस्तै लेखिएको छ । सुस्मिताले डायरीमा पनि यातनाका कुरा लेखेकी छिन् भन्ने सुनेको छु मैले । ज्वाईँ रुपेन्द्रको किरियाको समयमा छोरीको साथकालागि उनको माइजू हेटौंडा जानुभएको थियो । करिब १३ वा १४ दिनको बसाईमा उहाँले पनि निकै अपमान सहनुपर्यो । विशेषगरी माइती पक्षलाई दोष दिने देखि ज्वाईँको मृत्युको आरोप लगाइरहने खालको यातना दिने गरिएको थियो । उनीसँग सामाजिक सुरक्षा कोषबाट आउने रकमको हिसाबकिताब पनि परिवारले मागेको भन्ने बारेमा सुस्मिताले नै मलाई भनेकी थिइन् ।

उनले यातना सहन नसकेर आत्महत्या गर्छिन् कि भन्ने ठुलो डर थियो तर हत्या नै भयो । हाम्रो सम्पत्तिमा दाबी गर्ने कुनै योजना थिएन र छैन पनि । हाम्रो ठुलो क्षति भइसकेको छ । केवल न्याय चाहिएको छ । यो घटनाको सम्बन्धमा हत्या वा आत्महत्या भनेर कृपया नसोधिदिनुहोला । हत्या भएको स्पष्ट छ । हत्यारालाई छिटो भन्दा छिटो कारवाहि होस् ।

यसै सन्दर्भमा मेरो लगानीले मकवानपुरका डिएसपी इन्द्र बहादुर रानासँग कुराकानी गरेको थियो । डिएसपी रानाले मृतक सुस्मिताका ससुरा प्रकाश थापा र नन्द सिता थापालाई हिरासतमा लिएको जानकारी दिएका छन् । उनले थप अनुसन्धान भइरहेको पनि बताएका छन् । उनले प्रारम्भिक विवरण अनुसार आत्महत्या जस्तो नदेखिएको पनि खुलाएका छन् । मेरो लगानीबाट



प्रतिक्रिया दिनुहोस्