Logo

बिहे पक्का भएपछि छोरी अर्कैसँग भागिन्, जरिवाना तिर्न नसकेपछि बाबुले गरे आत्महत्या



सिराहा, असार १६ । लहान नगरपालिका २४ निवासी श्यामलाल रामको घरमा असार १२ गते शुक्रबार छोरीको विवाहको निधो भएको थियो। सन्तानका रुपमा दुई छोरी मात्र रहेको अवस्थामा जेठी छोरीको बिहे निधो भएकाले बुवा श्यामलालले नातेदार, इष्टमित्र सबैलाई निम्तो गरिसकेका थिए। दुलाहा पक्षलाई दाइजोसमेत बुझाइसकेका थिए भने आवश्यक सरजामको जोहो पनि भइसकेको थियो।

तर श्यामलालको परिवारमा एकाएक बज्रपात भयो। विवाहका लागि तयार गरेको केटासँग विहे गर्नु अगाबै छोरी मन पराएको अर्कै केटासँग भागेपछि सामाजिक पञ्चातीले बाबुलाई तोकेको दण्ड जरिवाना राप र ताप सहन नसकि विवाहको अघिल्लो दिन नै बिहीबार श्यामलालले झुण्डिएर आत्महत्या गरे। उनको घरमा रहेको विवाहको उल्लासको माहौल एकै निमेषमा स्तब्धमा परिणत भयो।

वृद्द बाबुआमा, श्रीमती र दुई छोरीलाई छाडेर वैदेशिक रोजगारीमा साउदी गएका उनी माघ अन्तिम साता घर फर्किएका थिए। दलित समूदायमा सानै उमेरमा छोराछोरीको विवाह गर्ने परम्परा अझै रहेको र १९ वर्ष पुगेकी जेठी छोरीको विवाह गरिदिने योजनाका साथ पारिवारिक सरसल्लाह पछि केटो खोज्ने क्रममा सप्तरीको सुरुंगा नगरपालिका(४ का महेश रामसँग विवाहको टुंगो भएको थियो।

असार १२ गते विवाहको निधो गरेर दुई साता अघि नै महेशका बाबु बन्दी रामलाई दाईजो स्वरुप चार तोला सुन तथा दुई लाख नगद समेत बुझाएका थिए। बाबुले अर्कै केटासँग बिहे पक्का गरेर दाइजो बुझाएको थाहा पाएपछि छोरी चाहिँ प्रेम सम्बन्धमा रहेका युवकसँग भागेपछि खैलाबैला मच्चिन पुग्यो।

केटा पक्षले केटी भागेको थाहा पाएपछि गाउँमा पञ्चायती बसाए। यस्ता समस्यामा न्याय निरुपणका लागि जानुपर्ने निकायमा नगई परम्परागत पञ्चायती बसाई जातिय अगुवामार्फत श्यामलालमाथि ६० हजार जरिवाना तोकियो। विवाहको टुंगो गरिएकी छोरी अर्कै केटासँग भागेका कारण जातिय सभाले उनलाई यस्तो निर्णय सुनाएको थियो। आफूले दिएको नगद तथा सुन फिर्ता दिनु त कता हो कता उल्टै थप जरिवाना तोकेपछि उनी विक्षिप्त बनेका थिए।अन्नपूर्ण पोस्ट् दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot