Logo

सहमतिको मिलनबिन्दु खोज्दै अध्यक्षद्वय



काठमाडौं, असार २० । सत्तारूढ नेकपामा जारी संकट समाधान गर्न पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच शुक्रबार भएको छलफलले दुईबीचको आपसी तिक्तता हटाएको नेताहरूले बताएका छन् ।
छलफलले ठोस निकास निकाल्न नसके पनि दुवै अध्यक्ष सहमतिको मिलनबिन्दुको खोजी गर्न सहमत भएका छन् । यद्यपि, शुक्रबारको बैठकमा दुवै जना आआफ्नो अडानबाट टसमस भएनन् । सहमतिको मिलनबिन्दु खोज्नकै लागि शनिबार पुनः दुई अध्यक्षबीच बैठक बस्नेछ ।

शुक्रबार ३ घण्टा भएको छलफलमा प्रधानमन्त्री ओलीले प्रधानमन्त्री र अध्यक्ष दुवै पद कुनै हालतमा पनि नछोड्ने अडान लिएका छन् । अर्का अध्यक्ष दाहालले दुईमध्ये एक पद छोड्दा समस्या समाधान हुने बताए पनि ओलीले त्यस्तो कार्य असम्भव भन्दै ठाडै अस्वीकार गरेका छन् ।

अध्यक्षद्वयले पार्टी एकताका क्रममा सहमति हुँदाका दुई साक्षी महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य जनार्दन शर्मालाई सँगै राखेर छलफल गरेका थिए । प्रधानमन्त्री ओलीले आपूm सत्यको पक्षमा हुँदा पनि घेराबन्दीमा पारिएकाले सत्यको पक्षमा अन्तिम समयसम्म लडिरहने र सत्यको जित हुने भन्दै प्रचण्डलाई सहमतिमा आउन आग्रह गरेका थिए । तर, दुवै नेता आआफ्नै अडानमा रहेकाले शनिबार बिहान पुनः बैठक बस्ने गरी छलफल सकिएको एक नेताले बताए ।

छलफलका क्रममा प्रधानमन्त्री ओलीले गत ४ मंसिरमा भएको सहमतिअनुसार अगाडि बढ्न दाहाललाई आग्रह गरेका छन् । गत ४ मंसिरमा ओलीले सरकार र दाहालले कार्यकारी अध्यक्षको भूमिकामा पार्टी सञ्चालन गर्ने सहमति भएको थियो । प्रधानमन्त्री ओलीले ४ मंसिरमा भएको सहमतिअनुसार दुवै जना अगाडि बढेमा जारी संकट समाधान हुने विश्वास व्यक्त गरेका थिए ।

अर्का अध्यक्ष दाहालले ४ मंसिरमा भएको सहमतिलाई पनि ओलीले नटेरेका कारण समस्या आएको भन्दै गुनासो गरेका थिए । दाहालले पछिल्लो सहमति लागु गर्न पनि ओलीले आलटाल गरेको बताएका थिए । दाहालले अहिले परिस्थित धेरै अगाडि बढिसकेकाले सो सहमतिअनुसार अगाडि बढ्न नसकिने अडान लिएपछि दुई अध्यक्षबीच सहमति जुट्न नसकेको आजको राजधानी दैनिकमा खवर छ ।

ध्यक्षद्वय



प्रतिक्रिया दिनुहोस्