Logo

गुरूप्रति श्रद्धाभाव प्रकट गरी आज गुरु पूर्णिमा मनाइँदै



काठमाडौं, असार २१ । आज आषाढ शुक्ल पूर्णिमा अर्थात् गुरु पूर्णिमा । ज्ञान र चेतनाको माध्यमबाट मानव मनमा नैतिकताको विकास गराउने सदगुरुप्रति आदर सत्कार गरी गुरु पुर्णिमा मनाइन्छ । सत्मार्ग देखाउने गुरुजनप्रति सम्मान भाव प्रकट गरी आज देशभरि गुरु पूर्णिमा पर्व मनाइँदैछ । संस्कृत शब्द गुरु गु र रु मिलेर बनेको छ । संस्कृत भाषामा गुको अर्थ हुन्छ अन्धकार र रु को अर्थ प्रकाश ।

गुरु शब्दको विग्रह गर्दा गिंरति अज्ञानं इतिः अर्थात ज्ञान प्रदान गरी अज्ञात हटाउने व्यक्ति नै गुरु हो । अन्धकारको नाश गरी जीवनमा उज्यालो फैल्याउने व्यक्तित्वलाई नै गुरु भनिन्छ, यस्ता गुरुलाई ब्रह्मा, विष्णु र महेश मानेर पूजा गर्ने प्रचलन रहेको छ । माता पिताजस्तै गुरुलाई पनि देवता समान मानिएकोले आचार्य देवो भवः भन्ने गरिएको छ । हरेक मानिसको पहिलो पाठशाला घर नै हो पहिलो गुरु भनेका आमा र बुबा नै हुन ।

तर, घरको शिक्षामात्र मानिसका लागि पर्याप्त हुदैन् । हरेक मानिसलाई सत्मार्ग देखाउदै शिक्षा र चेतनाले मानव मनमा नैतिकताको विकास गराउने सदुहरुप्रति आदर सत्कार स्वरुप गुरु पूर्णिमा मनाइन्छ ।आफूलाई शिक्षा प्रदान गर्ने गुरुको सम्मानमा शिष्यहरूले विभिन्न मिष्ठान्न भोजनका साथ श्रद्धाभाव प्रकट गर्ने परम्परा रही आएको छ ।

गुरु पुर्णिमाका दिन बिद्यालय, क्याम्पस र विश्व विद्यालयहरुमा आफ्ना गुरुलाई फुलमाला र अविर लगाई सम्मान आदर गर्नु का साथै आशिर्वाद लिने परम्परा छ । तर, पछिल्लो समय गुरुलाई सम्मान गर्ने नाममा भड्कीलो र मंहगो उपहार दिने गरिएको छ । धर्मशास्त्रीहरुले नयाँ प्रचलन प्रति भने दुख व्यक्त गरेका छन ।गुरु पुर्णिमाकै दिन वेदव्यासको सम्झनामा व्यास जयन्ती पनि मनाउने गरिन्छ ।

ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरी वेदलाई चार भागमा विभाजन गरी यसको अर्थ बुझाउन सरल संस्कृत भाषामा १८ पुराण र १८ उपपुराणको रचना गर्ने वेदव्यासको सम्झनामा व्यास जयन्ती पनि मनाउने गरिन्छ । वेदव्यासले वेदान्त, अठार पुराण, उपनिषद्लगायतका धार्मिकग्रन्थ लेखी हिन्दु संस्कृतिलाई ठूलो गुण लगाएको मानिन्छ । व्यासले पुराण र उपपुराणका माध्यमबाट अरुको उपकार गरे धर्म हुन्छ भन्दै अरुलाई पीडा दिए पाप लाग्छ भनी मानवतावादी सन्देश दिएको कुरा धर्मग्रन्थमा उल्लेख पाइन्छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot