Logo

सहमतिको विकल्प छैन, पार्टी एक ढिक्का हुन्छ : रायमाझी



सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले पार्टीलाई सहमतिका साथ अघि नबढाए गणतन्त्र नै दुर्घटनामा पर्ने खतरा औंल्याएका छन् । आइतवार बिहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै रायमाझीले भने,‘पार्टीभित्र अन्तर्विरोध गरेर पार्टी फुटाउने कुरा ग¥यौँ भने हामीले गरेका आन्दोलन र गणतन्त्र खतरामा पर्ने सम्भावना हुन्छ । हामीले लक्ष्य पूरा गर्न सकेनौँ भने हामी खलनायक पनि हुन सक्छौँ । त्यसकारण यस कुरामा नेताहरूले पनि समझदारीका साथ अघि बढ्नुपर्छ ।’ प्रस्तुत छ रायमाझीसँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंश :

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद नयाँ मोडमा पुगेको हो अब ? सहमतिका साथ अघि बढ्न नेताहरू तयार हुनुभएको हो ?

बिल्कुल सही कुरा हो । सहमतिको विकल्प छैन । हामी सहमतिबाहेक अर्को कुरा गर्न सक्दैनौं । सहमतिबाट नै हाम्रो पार्टी एकताबद्ध भएर अगाडि जान्छ भनेर मैले सुरुदेखि नै भनिरहेको छु ।

हिजोको सचिवालयको बैठकमा एकाएक कसरी सहमतिको प्रस्ताव आयो त ?

पहिलो कुरा छलफल र बहस गर्दै गयौँ । तर्क, वितर्क गर्दै गयौँ । त्यहीअनुसार सहमति गरेर एकताबद्ध भएर जाने भन्ने प्रस्ताव आयो । त्यहीअनुसार पार्टी अघि बढिरहेको छ ।

मंसिरमा महाधिवेशन गर्ने भनी प्रधानमन्त्रीको प्रस्ताव प्रचण्डले समर्थन गर्नुभयो । सम्भव छ मंसिरमा महाधिवेशन ?
असम्भव भन्ने केही हुँदैन । पार्टी एकतादेखि नै पार्टीमा दुई अध्यक्ष रहने, छलफल गर्नुप¥यो भने एकतालाई केन्द्रविन्दुमा राखेर अगाडि बढ्ने, पार्टीमा जे÷जे निर्णय गर्छौं–त्यो सहमतिबाटै गर्छौँ भन्ने हाम्रो समझदारी थियो । हामी महाधिवेशनमा जानुभन्दा अगाडि कुनै पनि चीज असहमतिबाट गर्न सक्दैनौँ । महाधिवेशन पनि सहमतिबाटै गर्नुपर्छ । महाधिवेशनमा हामीले केही निर्णय गर्न सक्छौँ । अहिले हामीले जे कमिटी बनाइरहेका छौँ, त्यो सहमतिबाट बनाइरहेका छौँ । महाधिवेशनको प्रस्ताव आउँदा हामीले अन्यथा मान्न मिल्दैन ।

महाधिवेशनको लागि सबै नेता तयार हुनुप¥यो । माधवकुमार नेपालको असन्तुष्टि छ । जान सकिँदैन, गर्न सकिँदैन भनेर झलनाथ खनालले भन्नुभएको छ । यस अवस्थामा कसरी महाधिवेशन हुन्छ ?

कसले के भन्यो भनेर आफ्ना तर्कहरू हुन्छन्, तर अब महाधिवेशनको विकल्प छैन । किनभने हामीले महाधिवेशनबाट नै धेरै चीजबारे निर्णय गर्न सक्छौँ । लोकतान्त्रिक विधिबाट पनि अगाडि बढ्न सक्छौँ । त्यसैले अहिले बहुमतीय र प्रक्रियाअनुसार हामी जान नसकेपछि हामीले महाधिवेशनलाई नै केन्द्रविन्दु बनाएर अगाडि जानुपर्छ । हामी एकताबद्ध रूपमा अगाडि बढ्नु नै सही हो भन्ने मलाई लाग्दछ ।

तपाईले नै सहमतिको विकल्प छैन भनेर भनिरहनुभएको छ, तर महाधिवेशन सम्पन्न गर्न त्यति सजिलो छ र ?

महाधिवेशनलाई केन्द्रविन्दुमा राखेर हामी अगाडि बढ्ने हो । महाधिवेशन गर्नु भनेकै ती प्रक्रिया पूरा गर्नु हो । पार्टी एकता गर्ने, पार्टीमा तल्ला कमिटी बनाउने, तल्ला कमिटिमा सदस्यहरू चुन्ने महाधिवेशनको प्रक्रिया भनेको यही हो ।

दुई अध्यक्षमात्रै मिलेर अघि बढ्न खोजे म देशव्यापी रूपमा अभियान चलाउँछु भनेर बरिष्ठ नेता माधवकुमार नेपालले चेतावनी दिनुभएको छ नि ?

माधवकुमार नेपाललगायत अन्य नेताले पार्टी एकताको लागि देशव्यापी रूपमा देशदौडाहा गर्ने कुरा राम्रो हुन्छ । महाधिवेशनको लक्ष्य राखिसकेपछि सबै नेताहरूले देशदौडाहा गर्ने हो । देशव्यापी रूपमा संगठन निर्माण र पार्टीलाई परिचालन गर्ने कुरा हो । महाधिवेशनको तयारी गर्ने कुरा हो । महाधिवेशनलाई सघाउ पु¥याउने कुरा हो ।

एकातिर कोरोनाको महामारी छ, अर्कोतिर चाडपर्वको लहर छ । तर, पनि तपाईको पार्टीको महाधिवेशन मंसिरमा नै गर्ने प्रस्ताव कति सान्दर्भिक छ ?

त्यो त प्रस्ताव आएको न कुरा हो । पार्टी अगाडि बढाउने राजनीतिक प्रस्ताव आओस् भन्ने कुरा भइरहेको छ । प्रस्तावमा छलफल गर्दाखेरि मंसिरमा नभए चैतमा गर्ने कि कतिबेला गर्ने हो भन्ने कुरा हुनेछ ।

प्रधानमन्त्रीले ‘एक व्यक्ति, एक पद’को कुरा गर्नुहुन्छ भने मलाई महाधिवेशनबाटै हटाउनु भनेर प्रस्ट रूपमा भन्नुभएको छ । तपाईले पहिले नै भन्नुभएको थियो– ओलीजीको दुवै पद यथावत् रहन्छ, प्रधानमन्त्री र पार्टी अध्यक्ष पनि । त्यसरी नै सहमति हुन लागेको हो ?

जुनै पद भए पनि फरक पर्दैन । पार्टी एकता हुनुप¥यो । पार्टी एकता गर्दा अध्यक्ष दुईजना रहने प्रणालीको हामीले विकास ग¥यौँ । महाधिवेशनसम्म हामी सहमतिबाटै जाने भनिसकेपछि बीचमा हामीले तलमाथि गर्न धेरै गाह«ो हुन्थ्यो । सहमतिबाटै गर्ने भनेर हामीले निर्णय र समझदारी गरेका थियौँ । के.पी. ओलीले दुईवटै पद पनि छोड्न सक्नुहुन्छ तर सहमति हुनुप¥यो । ‘एक व्यक्ति, एक पद’ पनि हुनसक्छ तर सहमति हुनुप¥यो ।

तपाई मन्त्री बन्ने सम्भावना पनि छ । सबै प्रदेशका सरकारको पुनर्गठन हुनसक्छ । मुख्यमन्त्री पनि हट्न सक्छ भनेका छन् । के हुन्छ अब ?

म अथवा अर्को व्यक्ति मन्त्री बन्ने भन्ने कुरा गौण हो । हामीले व्यक्ति के हुने भन्ने कुरा महत्त्वको विषय छैन । यो पार्टीलाई एकताबद्ध रूपमा कसरी अगाडि लैजाने भन्ने कुरा महत्वपूर्ण हो । हामी यो पिढीका नेताहरू ज्यादै भाग्यमानी छौँ । हाम्रै पिढीमा जनक्रान्ति र जनआन्दोलन गरेर २४० वर्षको निरकुंश व्यवस्थालाई हामीले फाल्यौँ । संघीय गणतन्त्र ल्यायौँ । संविधान बनायौँ । झण्डै दुई तिहाइ बहुमतको सरकार बनायौँ । त्यो सरकारलाई परिणाममुखी बनाउनुपर्ने छ । पार्टीलाई गतिशील र शक्तिशाली बनाउनुपर्ने छ । पार्टीभित्र अन्तर्विरोध गरेर पार्टी फुटाउने कुरा ग¥यौँ भने हामीले गरेका आन्दोलन र गणतन्त्र खतरामा पर्ने सम्भावना हुन्छ । हामीले लक्ष्य पूरा गर्न सकेनौँ भने हामी खलनायक पनि हुन सक्छौँ । त्यसकारण यस कुरामा नेताहरूले पनि समझदारीका साथ अघि बढ्नुपर्छ ।

त्यसो भए आजको स्थायी कमिटी बैठकमा सहमति हुन्छ त नेताहरूबीच ?

सहमतिको त विकल्प नै छैन । सहमतिबिना हामी अगाडि बढ्न सक्दैनौँ । सहमतिबाट नै जाने भनेर हामीले निर्णय गरेका छौँ । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot