Logo

सभामुखसमक्ष नवनिर्वाचित सांसद ज्वारचनको शपथ



काठमाडौँ, ४ साउन : सभामुख अग्निप्रसाद सापकोटाले नेपाली काँग्रेसकातर्फबाट प्रतिनिधिसभा सदस्य समानुपातिक पदमा नवनिर्वाचित सुवर्ण ज्वारचनलाई पद तथा गोपनीयताको शपथ दिलाएका छन् ।

सिंहदरबारस्थित संसद् सचिवालयमा आयोजित कार्यक्रममा सभामुखसमक्ष नवनिर्वाचित सदस्य ज्वारचनले शपथ लिएका हुन् । नेपाली काँग्रेसकातर्फबाट २०७४ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपाति सदस्यमा निर्वाचित ज्ञानकुमारी छन्त्यालको गत असार १७ गते निधनपछि उक्त सदस्य पद रिक्त थियो ।

नेकाको समानुपातिकतर्फको बन्द सूचिको क्रमसङ्ख्या ५९ र आदिवासी जनजाति समावेशी समूहको प्राथमिकता क्रम छ मा रहेकी ज्वारचनलाई निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यमा निर्वाचित गरेको हो ।

गुल्मीको सत्यवती गाउँपालिका वडा नं ६ स्थायी घर भएकी सांसद ज्वारचनको परिवारसँग मुलुकमा प्रजातन्त्र स्थापनाका लागि लामो सङ्घर्ष र योगदान पु¥याएको पृष्ठभूमि जोडिएको छ । विसं २००२ मा जन्मिएर २०३६ बाट राजनीतिमा सक्रिय ज्वारचन जिविस गुल्मीको निर्वाचित उपसभापति पनि भईन ।

यसअघि उनी विसं २०७० मा भएको दोस्रो संविधानसभा सदस्य थिईन । दोस्रो संविधानसभा सदस्यमा निर्वाचित भएपछि उनले नौ महिना उद्योग तथा वाणिज्य राज्यमन्त्रीको जिम्मेवारी सम्हालेकि थिईन । समारोहमा सभामुख सापकोटाले उनलाई सङ्घीय सांसदको लोगो प्रदान गरिन ।

‘राष्ट्रियताको पक्षमा खरो उत्रिन्छु’

शपथपछि उनले राष्ट्र, राष्ट्रियता र जनताको हितमा सदनमा खरोरुपमा आवाज उठाउने प्रतिक्रिया दिईन । उनले भनिन्, “हामी सबै नेपालीको प्रयासमा लिपुलेक, कालापानी र लिम्पियाधुरा हाम्रो नक्सामा समावेश भएको छ, मुलुकको सार्वभौम र स्वाधीनता जोगाउने सवालमा हामी सबै एकढिक्का हुनुपर्छ ।” रासस तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्

Screenshot