Logo

प्रधानमन्त्रीज्यूले जसले जहाँ जतिखेर भन्यो त्यतिखेर राजीनामा दिने कुरा सम्भव छैन : पण्डित



सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वमन्त्री लालबाबु पण्डितले पार्टीभित्र भैरहेको छलफल र वादविवाद हुनु सामान्य र निरन्तर भैरहने स्पष्ट पारेका छन् । उनले पार्टीभित्र अहिले झगडाभन्दा पनि रगडा भएको टिप्पणी गरे । सोमबार विहान नेपाली रेडियो नेटवर्कबाट प्रशारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै पूर्वमन्त्री पण्डितले यस्तो बताएका हुन् । उनले भने,‘यो पनि विस्तारै विधि र प्रक्रियाबाट समाधान हुन्छ । अविश्वासलाई पनि विश्वासमा परिणत गर्नुपर्ने छ । पार्टीको विवादले गर्दा आमकार्यकर्ता, जनतालाई के हो कसो हो भन्ने दुःख लागिरहेको छ । यति धेरै वादविवाद नभएको भए हुन्थ्यो भन्ने चाहना र शुभेच्छा राख्नु अस्वाभाविक होइन ।’ प्रस्तुत छ पण्डितसँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंश :

नेपाल कम्युनिष्ट पार्टीको यो गाईजात्रा किन ?

जिन्दगीमा कहिलेकाही मिल्ने, वादविवाद हुने, छलफल हुने कुरा निरन्तर कुरा हो । पार्टीभित्र वादविवाद, कहिलेकाही खुशी, कहिलेकाही अलि टर्रो, अलिकति छलफलको क्रममा विविध प्रक्रियाका विषयमा हुनुलाई अस्वाभाविक मान्दिनँ ।

निर्लज्जाको पनि पराकाष्ठा भयो । झगडा पनि अति भयो । कति झगडा गर्नुहुन्छ ?

अहिले झगडाभन्दा पनि रगडा भएको छ । यो पनि विस्तारै विधि र प्रक्रियाबाट समाधान हुन्छ । अविश्वासलाई पनि विश्वासमा परिणत गर्नुपर्ने छ । पार्टीको विवादले गर्दा आमकार्यकर्ता, जनतालाई के हो कसो हो भन्ने दुःख लागिरहेको छ । यति धेरै वादविवाद नभएको भए हुन्थ्यो भन्ने चाहना र शुभेच्छा राख्नु अस्वाभाविक होइन ।

एक महिना भईसक्यो स्थायी समितिको बैठकमा रुमल्लिएको नेपाल कम्युनिष्ट पार्टी । देशमा धेरै समस्या छ, महामारी छ । जनता रोइरहेका छन् । राष्ट्रिय विपत्ति परिरहेको छ । वर्षा भईरहेको छ । जनताहरू यतिखेर कराईरहेका छन्, उद्धार हुन सकेको छैन, तपाईहरूको बालुवाटारमा, कोटेश्वरमा र खुमलटारमा बसेर झगडा गरेर हुन्न नि ?

अहिले विपद्का बेलामा बाढी, पहिरो, कोरोनाका विषयमा जनताका समस्यालाई हेरिएन भने कुरा, विधि, प्रक्रियाले हुँदैन । यस विषयमा ध्यान दिनुपर्छ । आशा राख्नु पनि कुनै नराम्रो कुरा होइन, राम्रो कुरा हो । सरकारसँग आशा नराख्ने, नेतृत्वसँग आशा नराख्ने हो भने कोसँग आशा राख्ने ? भन्ने हुन्छ । त्यसकारणले गर्दाखेरि अब धेरै वादविवाद लम्ब्याउनु हुँदैन । विधि र प्रक्रियाअनुरूप अगाडि बढ्नुपर्छ । पदको भागबण्डामा अल्झिनु हुँदैन । पदभन्दा ठूलो काम हो ।

पदको भागबण्डामा अल्झिरहनु भएको छ, रुमल्लिरहनु भएको छ, तपाईहरू भन्नुहुन्छ, प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ, प्रधानमन्त्री भन्नुहुन्छ, मैले किन राजीनामा दिने, महाधिवेशनमा जान तयार छु, अब के गर्ने भन्नुस् ?

पार्टीको औपचारिक बैठकमा प्रधानमन्त्रीज्युको राजीनामा प्रश्न उठेको छैन, एजेण्डा बनेको छैन । सरकारको एजेण्डा बन्न दुई मन अमिलो पार्न, तीतो बहस भएको स्थिति छ । फेरि यो मनलाई पनि सङगलो बनाउन जरुरी छ । परिणाम पनि जनताको हितमा गर्नुपर्ने भएको कारणले गर्दा यसलाई अब छिट्टै टुंग्याउनेतर्फ नेतृत्व केन्द्रित छ ।

राजीनामा दिनुपर्दैन प्रधानमन्त्रीले ? तपाईले भन्नुभयो पार्टीले प्रधानमन्त्रीको राजीनामा मागेको छैन ?

पार्टीले औपचारिक निर्णय नगरीकन, विधि र प्रक्रियामा नगईकन, आवश्यकता पुष्टि नभईकन, प्रधानमन्त्रीज्यूले जसले जहाँ जतिखेर भन्यो त्यतिखेर राजीनामा दिने कुरा कुनैपनि समयमा सम्भव छैन ।

विगतमा झलनाथ खनाल, माधवकुमार नेपालले राजीनामा दिएको होइन, त्यो कुरा उहाँले बिर्सनुभयो ? अहिले ओलीको पक्षमा फेरि तपाई लाग्नुभयो । तपाई मन्त्री बन्न लाग्दै हुनुहुन्छ कि ?

हिजो पनि पार्टीले निर्णय गरिसकेपछि माधवकुमार नेपाल वा पूर्व प्रधानमन्त्री झलनाथ कमरेडले त्यतिखेर छोड्नुभएको् हो र निकाससहित सर्वसम्मत ढंगले छोड्नुभएको हो । जबरजस्ती गलहत्याई नै भएको होइन ।

प्रधानमन्त्रीको पद, कामकारबाहीलाई लिएर तपाईले आलोचना गर्नुभएको छ ?

पदको निम्ति मरिहत्ते गर्ने, त्यही पद भए बाँच्ने, नभए बाँच्दिन भन्ने ठान्ने मनस्थिति कम्युनिष्ट पार्टीमा कसैको पनि छैन ।

किन छैन, पदको लागि माधवकुमार नेपाल लड्नुभएको होइन ?

अहिले पदको निम्ति भन्दापनि विधि र प्रक्रिया हो, सामुहिक नेतृत्व प्रणालीको निम्ति हो । नीतिमा पनि छलफल गर्ने र नेतृत्वमा पनि सामुहिक रूपमा जाने हो । एकल निर्णयमा जाने खालको प्रधानमन्त्री पनि बन्नुभएको छैन र पार्टी अध्यक्ष पनि बन्नुभएको छैन । त्यसैले हरेक विषयमा निर्णय र छलफलका साथ मात्रै आउने भएकोले गर्दाखेरि पार्टीले निर्णय गर्नासाथ संवैधानिक र कानुनी विधि र प्रक्रिया अनुरूप छोड्नको निम्ति तयार हुनुपर्छ ।

त्यसो भए प्रधानमन्त्रीले अब दुवै पद छोड्नुपर्छ भन्ने तपाईको भनाई हो ?

मैले पार्टीको निर्णय जे हुन्छ, त्यसलाई पालना गर्नुपर्ने हुन्छ । पार्टीको निर्णयविपरीत पार्टीमा बसेर निर्णय मान्दिन भन्ने स्थिति हुँदैन ।
तपाईहरूले प्रधानमन्त्रीको आधिकारीक रूपमा राजीनामा माग्नुभएको छैन । प्रधानमन्त्रीले, म महाधिवेशनमा जान चाहन्छु, महाधिवेशनबाटै

म समाधान खोज्छु, भन्नुभएको छ नि ?

हो, ठीक कुरा हो किनभने पार्टीको सचिवालयले यो निर्णय गर्न सकेन । त्यसपछि स्थायी कमिटीले निर्णय गर्न सकेन । स्थायी कमिटीले पनि गर्न सकेन भने केन्द्रिय कमिटीको बैठक हुुनुपर्छ, त्यसबाट निर्णय गर्न सकिन्छ । त्यसबाट पनि निर्णय भएन भने महाधिवेशनमा जानुपर्छ । महाधिवेशनमा सर्वसम्मत भएन भने महाधिवेशनमा भोटिङबाट भए पनि निर्णय निकाल्नुपर्छ ।

महाधिवेशनमा जानको लागि माधवकुमार नेपाल तयार हुनुहुन्न । उहाँले भन्नुभयो, अहिले महाधिवेशन हुन सक्दैन, मंसिरमा ?

मैले महाधिवेशन कुन नीतिमा गर्ने भनेर मैले भनेको होइन । नीति, त्यसको अरू प्राविधिक पक्षहरू प्राविधिक पक्षले तयार गर्नुपर्छ । किनभने पार्टी एकता हुँदाखेरि नै २ वर्षभित्र महाधिवेशन गरिसक्नुपर्ने भनेर नीति छ । २ वर्ष नाघिसक्यो । त्यसैले वादविवादको छिनोफानो गर्ने अन्तिम थलो महाधिवेशन भएको हुनाले आज कुनै १ नेताले बोलिदिदैमा त्यो नै अन्तिम सत्य हो भनेर मैले भनेको होइन । खालि के हो भने महाधिवेशन गरेर नै समस्याको समाधान दिन अगाडि बढ्न सकिन्छ, बढ्नुपर्छ भन्ने मात्रै हो ।

नेपाल कम्युनिष्टमा फेरि पनि बहुदलीय जनवादको बहस सुरु भएको छ । माधवकुमार नेपालले भन्नुभएको छ, आगामी महाधिवेशनमा म यही एजेण्डा लिएर जान्छु । हिजो घोषणा गर्नुभयो, प्रचण्डको सामु, प्रचण्ड निवासमा ।

विचारको छलफल हुने थलो त महाधिवेशन हो । विगतका महाधिवेशनमा पनि फरक फरक नेताहरूले फरक फरक विचार लिएर जानुभएको हो । त्यतिखेर फरक फरक विचारको बीचमा प्रतिस्पर्धा भएर नै यस निर्णय भएर आएको हो । त्यही निर्णयलाई बोकेर पार्टी यहाँसम्म आइपुगेको हो, नेतृत्व पनि आइपुगको हो र सोही अनुसार भविष्यमा पनि जाने कुरा भईहाल्छ । जब १ जना नेताले फरक विचार गर्दा त्यो १ जनाको मात्र विचार हुँदैन, त्यसले वैधानिकता पाउँदैन । त्यो सबैका निम्ति लागु हुँदैन । त्यसकारणले परीक्षाको घडी महाधिवेशन हो । महाधिवेशनमा विभिन्न विचारहरू आउलान् । तीमध्ये उहाँको विचार पनि आउने हो र निर्णय भएर जाने कुराको हामीले पर्खिनुपर्ने विषय हो । महाधिवेशन नभईकन वैचारिक बहस खुल्ला हुँदैन । कतिपय समयमा अदृष्य रूपमा समझदारी, कतिपय लिखित, कतिपय अलिखित समझदारीले वैधानिकता नपाएका कारणले गर्दा नै अहिलेको समस्या उत्पन्न भएको हो । त्यसकारण विवादभित्र विवाद उत्पन्न गर्ने होइन कि विवादभित्र समाधान खोजेर अगाडि बढ्नुको विकल्प छैन ।

तपाईहरूले केही गर्न सक्नुभएन ? समाधान त राष्ट्रपतिले खोजिरहनुभएको छ शीतलनिवासमा शीर्ष नेताहरूलाई बोलाएर ?

राष्ट्रपतिज्युको राष्ट्रप्रति जिम्मेवारी भएको कारणले पार्टीभित्रको जिम्मेवारी होइन । राष्ट्रप्रतिको जिम्मेवारी भएको कारणले गर्दा व्यवस्थाअनुरूप राष्ट्रपतिले थाहा पाउने र त्यसमा आफ्नो अभिव्यक्ति दिने काममा दुईमत भएन तर पार्टीको विवादमा राष्ट्रपति मुछिनु हुँदैन ।

राष्ट्रपतिले को/कोसँग के/के कुरा भन्नुभयो, सबै कुरा बाहिर आएको छ । नेपाल कम्युनिष्ट पार्टीको आन्तरिक द्वन्द्वमा राष्ट्रपति मुछिनुभएको छैन ?

शंका/उपशंका गर्नु अलग कुरा हो । तर, राजनीतिक पार्टीका नेताहरूसँग राजनीतिक प्रसंगहरू जनताको हितमा राष्ट्रपतिले जानकारी लिने कुरा गलत होइन । आफुले जानकारी लिने कुरा हो । त्यसकारणले कहिले नेताहरूसँग पनि भेट्न सक्नुहुन्छ, कहिले सांसदसँग पनि भेट्न सक्नुहुन्छ, कहिले मन्त्रीसँग पनि भेट्न सक्नुहुन्छ, कहिले कलाकारहरू, कहिले पत्रकारहरू मित्रहरू, सबैसँग भेट्न सक्ने भएकोले गर्दाखेरि भेटघाट गर्ने कुरामा कतिले भेट गर्नुहुन्छ या गर्नुहुँदैन भन्ने मान्यताको कुरा होइन । file photo/reportersnepal



प्रतिक्रिया दिनुहोस्