Logo

‘अब क्रमबद्ध रूपमा हामी सार्वजनिक यातायात चलाउँछौँ’ : विजय स्वाँर



नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघका उपाध्यक्ष विजय स्वाँरले आफूहरु सार्वजनिक यातायात चलाउन राजी भएको बताएका छन् । तर, यसको लागि स्वास्थ्यलगायतका प्रोटोकल बनाईनुपर्ने र अहिले सरोकारवालाहरू छलफलमै रहेको पनि उनले स्पष्ट पारेका छन् । आज बिहान (सोमबार) नेपाली रेडियो नेटवर्कबाट प्रशारण भएको ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उपाध्यक्ष स्वाँरले भनेका छन्,‘प्रधानमन्त्रीले भन्नुभएको जस्तो रोगसँग डराएर भन्दापनि लिभिङ्ग टुगेदरको सोचमा अगाडि बढ्नुपर्छ । निजी क्षेत्र, आम उपभोक्ता हामी कसरी सँगसँगै जान सकिन्छ ? भन्ने कुरा सोच्न सक्छौँ । त्यसको मोडालिटी तयार गर्न हामी बसिरहेका छौँ ।’ प्रस्तुत छ स्वाँरसँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंश :

आजबाट तपाईले सार्वजनिक यातायात चलाउने निर्णय गर्नुभएको हो ?

आज विभागमा बैठक छ । सुरक्षाका कुराहरू, मजदुरका बिमाका कुराहरू, सञ्चालन विधिको बारेमा छलफल भईरहेको छ ।

निर्णय भएको हो कि होइन ? गाडी चलाउने कि नचलाउने ?

होइन, होइन । निर्णय भएको होइन । हाम्रो माननीय मन्त्रीजीले सार्वजनिक यातायात इच्छा लाग्छ भने चलाए हुन्छ, इच्छा लाग्दैन भने नचलाए हुन्छ, वहाँले पनि भन्नु भएको छ तर विभागले यसमा कसरी चलाउने ? भनेर यो स्वास्थ्यको प्रोटोकललाई कसरी लग्ने ? सञ्चालन विधि के गर्ने ? विभिन्न कुरामा छलफल भईरहेको छ । ३ वटै मजदुर संगठन र यातायात व्यवसायी महासंघको एउटा संयुक्त कार्यदल बनेको छ । त्यस विषयमा छलफल भईरहेको छ । आज १ बजे विभागमा बोलाइएको छ ।

यातायात आजबाट चलाउने कि भोलीबाट चलाउने कि पर्सिबाट चलाउने ?

रोगको कारणले गर्दाखेरि गाडी बन्द भएका हुन्, न सरकारको कारणले न हाम्रो कारणले हो । अहिले पनि रोगको महामारी त्यही अवस्थामा छ । केही घट्दो क्रममा छ, यो राम्रो संकेत छ तर के छ भन्दाखेरि फेरि रोगको संक्रमण बढ्छ कि भन्ने हाम्रो चिन्ताको कुरा हो । स्वास्थ्यको प्रोटोकललाई विशेष रूपमा ध्यान दिएर एउटा कार्यविधि बनाएर पब्लिकले सार्वजनिक यातायात नचल्दाखेरि कसरी चढ्ने, श्रमिक साथीहरूलाई कसरी व्यवस्थापन गर्ने, स्यानिटाइजरदेखि स्वास्थ्यका इसेन्सियल कुराहरूलाई कसरी लग्ने ? यही कुरामा आज १ बजे बहस हुन्छ ।

जनताले सार्वजनिक यातायात चढ्न पाउँछन्, मेची महाकाली, तराई जताततै चल्छ, होइन ? कि काठमाडौँमा मात्र चल्छ ?

अहिले सरकारले उपत्यकामा ३ जिल्लालाई मात्र खुल्ला गरेको छ । हामीले के भनिरहेका छौँ भने यो अव्यवहारिक भयो । अहिले पनि राता प्लेटका गाडीहरू, जिपहरूले नागरिकलाई चर्को मूल्य लिइरहेको छ । यसलाई पनि न्यूनीकरण गर्नका लागि नागरिकहरूलाई सुविधा दिनका लागि अधिराज्यभरि असार र साउनमा हाम्रो यसै पनि अफ सिजन भएको हुनाले पब्लिक मुभमेन्ट कम हुन्छ यो बेलामा, बाढी÷पहिरो र यो झरीले गर्दाखेरि कम हुन्छ । त्यसै हुनाले जोर–बिजोर लागू गरेर स्वास्थ्यको प्रोटोकललाई लागू गरेर यसलाई सञ्चालनमा ल्याऔँ । यो जिल्लावाइज मात्रै सञ्चालन गरेर हुन्न । गाडी चल्दैमा सबै कुरा हुने भन्ने कुरा मात्र पनि होइन तर आम जनतालाई सहजता हुन्छ । सबैभन्दा महत्वपूर्ण कुरा भनेको स्वास्थ्य नै हो ।

यात्रुहरूले अहिले धेरै पीडा खेपिरहेका छन्, त्यतातिर पनि ध्यान दिनुस् । यात्रुहरू समस्यामा छन् । यसबारेमा सोच्नुभएको छ ?

आम नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई हामी के अनुरोध गर्न चाहन्छौँ भने–यी सबैका लागि धैर्यता गर्नुस् । स्वास्थ्यको प्रोटोकलको विषय र हाम्रा सबै साथीहरूको विषय जोखिम विमा, भोली सेवा गर्नुपर्दा दुर्घटना भयो भने वहाँहरूको परिवारको लागि पनि हामीले सोच्नुपर्ने जरुरी छ । अहिलेको अवस्था भनेको त्यस्तो बार्गेनिङ्गको कुरा होइन । हामीले स्वास्थलाई कसरी समन्वय गरेर चलाउन सक्छौँ ? आम उपभोक्ताको विषयमा अहिले छलफल भईरहेको विषय हो ।

उपभोक्ताहरूको समस्याको समाधान गर्न यातायात व्यवसायी महासघ तयार छ कि छैन ?

तयार छ । अब क्रमबद्ध रूपमा हामी चलाउँछौँ । आज र भोलीमा हामीले सरकारसँग समन्वय गरेर, सरकारसँग पनि ३ वटै मजदुर संगठन, राष्ट्रिय मजदुर संगठनहरू र यातायात व्यवसायी महासंघको एउटा कार्यदल पनि बनेको छ । कार्यदलले सबैलाई भेट्ने काम पनि गर्छ । आम उपभोक्ताको समस्या, नागरिकको समस्या, व्यवसायीका समस्या र मजदुरका समस्याहरू हल गर्छौँ । अहिले मजदुरले ज्याला पाइरहेको अवस्थाहरू पनि छन् । अवस्था गम्भीर छ । सबै क्षेत्रमा गम्भीर छ । प्रधानमन्त्रीले भन्नुभएको जस्तो रोगसँग डराएर भन्दा पनि लिभिङ्ग टुगेदरको सोचमा अगाडि बढ्नुपर्छ । निजी क्षेत्र, आम उपभोक्ता हामी कसरी सँगसँगै जान सकिन्छ ? भन्ने कुरा सोच्न सक्छौँ । त्यसको मोडालिटी तयार गर्न हामी बसिरहेका छौँ ।

मौद्रिक नीतिले तपाईहरूको मागलाई सम्बोधन गरेन ?

मौद्रिक नीतिलाई यसपालि हामीले धन्यवाद दिनैपर्छ । राष्ट्र बैंक, गभर्नर सहित सपरिवारलाई हामीले धन्यवाद दिनैपर्छ । यसपालि यातायातको बारेमा वहाँहरूले गहन रूपमा लिनुभयो । लकडाउन अवधिको पिरियडमा भएको साँवा, पूँजीको ब्याज छ, यसलाई १ वर्ष पछाडि धकेलिदिनुभएको छ । अझै पनि धेरै कुराहरू कार्यविधिमा आएर यसलाई कार्यान्वयनतिर जाने कुरामा हामी आशावादी पनि छौँ । हाम्रो यो आर्थिक पाटोलाई सम्बोधन भएको हुनाले स्वास्थ्यका कुरा मात्र बाँकी छन् । हाम्रो श्रमिक साथीहरूको स्वास्थ्य के हुने ? विमा के हुने ? त्यस कुरामा हामी सहकार्य गरेर अगाडि बढ्न तयार छौँ । यसपालिको मौद्रिक नीतिले धेरै आशा पनि जगाएको छ । मैले हिजो मात्र हेरेँ । मौद्रिक नीतिले नेप्से पनि बढेको देखेँ । यो सकारात्मक कुरा हो । Photo Source: Social Media-Facebook



प्रतिक्रिया दिनुहोस्

Screenshot