Logo

निर्मला हत्या काण्डको अनुसन्धान जहाँको त्यहीं



कञ्चनपुर, ११ साउन । झन्डै एक दर्जन अनुसन्धान टोली खटियो । आधा दर्जनभन्दा बढी अनुसन्धान अधिकृत फेरिए । यो अवधिमा कञ्चनपुर प्रहरी प्रमुख एसपी पनि चार जना फेरिए । एक वर्षसम्म निरन्तर विभिन्न किसिमका आन्दोलन र दबाबमूलक कार्यक्रम चलिरहे । तर, बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तका हत्यारा अझै पत्ता लाग्न सकेका छैनन् । घटनाको दुई वर्षसम्म पनि अनुसन्धान जहाँको त्यहीं छ ।

निर्मलाको न्यायका लागि भनेर सुरु भएको आन्दोलनमा प्रहरीले गोली चलाउँदा एक जनाले ज्यान गुमाए, एक दर्जनभन्दा बढी घाइते भए । कतिपयको अहिले पनि उपचार भइरहेको छ । ‘दुई वर्ष भइसक्यो, प्रहरीले अहिले पनि अनुसन्धान भइरहेको छ मात्रै भन्छ,’ शनिबार निर्मलाकी आमा दुर्गादेवीले भनिन्, ‘साँच्चै अनुसन्धान गरेको भए अहिलेसम्म अपराधी पत्ता लाग्नुपर्ने हो ।’ उनलाई प्रहरीले अहिले पनि सही ढंगले अनुसन्धान गरिरहेको अनुभूति भएको छैन । उनी घटनाबारे बुझ्न जिल्ला प्रहरी कार्यालय धाउने गर्छिन् । ‘आज पनि गएकी थिएँ,’ उनले भनिन्, ‘तर एसपी–डीएसपी कसैलाई पनि भेटिनँ, फोनमै कुरा भयो ।’ प्रहरीले घटनाका मुख्य दोषी भन्दै सार्वजनिक गरेका भीमदत्त नगरपालिका–१९ बागफाँटाका दिलीप विष्टका नाममा दुर्गादेवीले एक वर्षअघि किटानी जाहेरी दिएकी थिइन् । विष्टमाथि पनि थप अनुसन्धान हुनुपर्ने उनको माग छ ।

विगतमा आन्दोलन र विरोधका कारण अनुसन्धानमा केही समस्या भए पनि हाल स्थानीयले साथ दिँदा सहज भएको जिल्ला प्रहरी कार्यालयका एसपी मुकुन्द मरासिनीले बताए । ‘हालसम्म नयाँ डेभलप त केही भएको छैन,’ उनले भने, ‘अनुसन्धान विगतको भन्दा सहज बन्दै गएको छ, यही आधारमा विभिन्न आयामबाट अनुसन्धान गरिरहेका छौं ।’ जिल्ला प्रहरीको टोलीसँगै केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले समेत अनुसन्धान गरिरहेको छ । हाल जिल्ला प्रहरी कार्यालयका डीएसपी अमर थापा अनुसन्धान अधिकृतका रूपमा रहेको समाचार आजको कान्तिपुर दैनिकले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्