Logo

१३२ केभी क्षमताको सवस्टेशन निर्माण



चितवन, साउन १४ । चितवनमा १३२/३३/११ केभी क्षमताको सवस्टेशन निर्माणको काम सम्पन्न भएको छ । नेपाल सरकारको लगानीमा पूर्वी चितवनको राप्ती नगरपालिका–६ हर्दीमा सवस्टेशन निर्माण गरिएको हो ।

सवस्टेशनमा राखिएका १३२/३३ केभी र ३० एमभीएका दुई पावर ट्रान्सफर्मरमध्ये एउटा नोलोडमा चार्ज गरिएको छ । हेटौँडाबाट भरतपुरतर्फ गएको १३२ केभी प्रसारण लाइनबाट प्रवाह भएको विद्युतलाई सवस्टेशनभित्र छिराएर बाहिर निकाली सफलतापूर्वक चार्ज गरिएको आयोजना प्रमुख रमनराज शर्माले जानकारी दिए ।

उनले अब लोड दिएर चार्ज गर्ने तयारी गरेको बताएका छन् । हेटौँडा–भरतपुर प्रसारण लाइनबाट प्रवाह भएको विद्युत्लाई त्यस क्षेत्रमा आपूर्ति गर्न पूर्वी चितवन सवस्टेशन निर्माण गरिएको उनको भनाई रहेको छ ।

“त्यहाँबाट स्थानीय उपभोक्तालाई विद्युत् आपूर्तिका लागि ३३र११ केभी, १६।६ एमभीए पावर ट्रान्सफर्मर आइतबारदेखि चार्ज गरिएको छ, सवस्टेशन स्वचालित प्रणालीको सञ्चालन र ११ केभी फिडरबाट केही दिनमा विद्युत् वितरण गर्ने लक्ष्यका साथ काम गरिरहेका छौँ”, उनले भने ।

उनले सवस्टेशन सञ्चालनमा आएपछि प्राविधिक चुहावट घट्ने, ग्राहकले पनि गुणस्तरीय, भरपर्दो र पर्याप्त विद्युत् पाउने र प्रसारण क्षमताले नधानेर गर्मीमा बाध्यकारी लोडसेडिङ गर्नुपर्ने अवस्थाको पनि अन्त्य हुने बताए । अहिले भरतपुरमा रहेको १३२ केभी सवस्टेशनबाट करिब २१ किलोमिटर ३३ केभी लाइनमार्फत ३३र११ केभी चैनपुर सवस्टेशनमार्फत पूर्वी चितवनमा विद्युत् आपूर्ति भइरहेको छ ।

लामो दूरीका कारण लाइन चुँडिने, ट्रिपिङ हुने, लो भोल्टेज र विद्युत्को प्राविधिक चुहावटको समस्या हुँदै आएको छ । पूर्वी चितवन सवस्टेशनबाटै विद्युत् आपूर्ति हुन थालेपछि भरतपुर सवस्टेशनको लोड पनि काम हुनेछ । पूर्वी चितवनको समस्या पनि समाधान हुने आयोजनाले जनाएको छ ।

आयोजनाको अनुमानित लागत ५४ लाख अमेरिकी डलर छ । आयोजनाको काम विसं २०७५ असारदेखि शुरु भएको थियो । गत चैतभित्रमा सञ्चालन गर्ने लक्ष्य राखिएको सवस्टेशनको निर्माण विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण प्रभावित हुँदा केही ढिला भएको हो । लकडाउनपछि अहिले बाँकी काम धमाधम भइरहेको छ ।रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot