Logo

सार्न भन्दाभन्दै पुरियो बस्ती



सिन्धुपाल्चोक, साउन ३१ । पहिरोको जोखिम बढेपछि निमाछिरिङ दोङसहित गाउँले बस्ती अन्यत्र स्थानान्तरण गरिदिन सरकारको ध्यानाकर्षण गराएर एक साताअघि सदरमुकामबाट घर फर्किए। तर, एक साताभित्रै गाउँ नै पुरेको पहिरोले उनको परिवारका ३ जना बेपत्ता छन्।

गाउँमा धाँजा फाट्ने र माथिबाट जमिन खस्नेक्रम सुरु भएपछि जुगल गाउँपालिका–२ गोल्चे लिदीका निमासहितको टोलीले तेस्रो पटक यही साउन २३ गते बस्ती स्थानान्तरणका लागि प्रमुख जिल्ला अधिकारीमार्फत अन्य निकायको ध्यानाकर्षण गराएका थिए। उनीहरूले पहलले सार्थकता नपाउँदै पहिरोले निमाका परिवारका ३ सहित गाउँका अन्य २७ जनालाई पहिराले बेपत्ता बनाएको छ।

पहिरोमा पुरिएका ११ जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी माधव काफ्लेले बताए। उनका अनुसार पहिरोले पुरिएका २ पुरुष, ४ महिला र ५ बालबालिकाको शव उद्धार टोलीले भेटेको हो। भेटिएकाहरूको सनाखत हुन सकेको छैन। शुक्रबार बिहान साढे ६ बजे स्थानीयले घरमा खाजा खाने समयमा बस्तीको करिब चार सय मिटर माथिबाट बगेको पहिरोले टोलका ३७ घर पुर्दा ठूलो मात्रामा धनजनको क्षति छ।

सँगै सुतेकी श्रीमती बच्चा लिएर अर्को घरमा गएका बेला पहिरो खसेको आवाजले झस्किएका निमा हाम फालेर भागे। तर ३७ वर्षीया श्रीमती धनमाया दोङ, ५ महिनाको छोरा र ७२ वर्षीया आमा वाङ्जी लामालाई भने उनले बचाउन सकेनन्।

‘सुतेको घरबाट उठेर श्रीमती बाबु लिएर अर्को घरमा खाजाको लागि छ्याङ बनाउन गएकी थिइन्, लप्सेमा रहेको टहरोमा रात बिताएर आमा पनि भर्खर घर आउनु भएको थियो’, निमाले टेलिफोनमा भने, ‘एक्कासि ठूलो आवाजसहित पहिरो आयो म हाम फालेर भाग्न सकें तर, परिवारका कसैलाई बचाउन सकिनँ।’

गाउँमा पहिरोको जोखिम बढेपछि अधिकांश स्थानीयले अन्यत्र गोठ र टहरो हालेर रात बिताउने गरेका थिए। रात अन्यत्र बिताउन गएका समेत खाजा खान र अन्य काम घर आएका बेला खसेको पहिरोले कसैलाई बाँकी नराखेको निमाले सुनाएको आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot