Logo

भारतमा यसै वर्षभित्र कोरोना भाइरसको भ्याक्सिन बनिसक्ने



एजेन्सी, ७ भाद्र । भारतमा यसै वर्षभित्र कोरोना भाइरसविरुद्धको भ्याक्सिन बनिसक्ने भएको छ । भारतका स्वास्थ्यमन्त्री डा. हर्षवद्र्धनले भारतले यसैवर्षभित्र कोरोना भ्याक्सिन प्राप्त भइसक्ने बताएका हुन् ।

आज उनले पत्रकारहरुसँगको कुराकानीमा अबको पाँच महिनाभित्र भ्याक्सिन प्राप्त भइसक्ने बताए । उनले पछि ट्वीटमार्फत् भने, ‘मलाई आशा छ कि सबै ठिक रहेमा भारतले २०२० भित्र नै भ्याक्सिनमा पहुँच बनाइसक्नेछ ।’

भारतमा तीनवटा कोरोना भाइरसविरुद्धको भ्याक्सिन विकास भइरहेकोमा एउटा मानव परीक्षणको तेस्रो चरणमा प्रवेश गरेको खुलाए । यसअघिको प्रारम्भिक चरणमा परीक्षण गर्दा भ्याक्सिनले उत्साहप्रद नतिजा दिएको भनिएको छ ।

भारतमा अन्य दुईवटा भ्याक्सिन पहिलो र दोस्रो चरणमा परीक्षणका क्रममा रहेका छन् ।

टाइम्स अफ इन्डियाका अनुसार भारत बायोटेक्स कोभ्याक्सिन तेस्रो चरणको मानव परीक्षणका क्रममा छ । यो इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च र भारत बायोटेक कोभ्याक्सिनले संयुक्त रुपमा विकास गरिरहेका छन् ।

भारतमा सेरम इन्स्टिच्युट अफ इन्डिया र एस्ट्रजेनेकाले अक्सफोर्डले विकास गरी चाडअक्स वन, भारत बायोटेकको कोभ्याक्सिन र जिडस काडिलाको जिकोभ्ड गरी तीनवटा भ्याक्सिन विकास भइरहेको छ । जसमध्ये कोभ्याक्स यसै वर्षभित्र उत्पादन भइसक्ने जनाइएको छ । जिडस काडिला २०२१ को शुरुमा उत्पादन गर्ने लक्ष्यमा छ ।-Photo Source: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot