Logo

नेपालमा कोरोनाविरुद्धको कुन भ्याक्सिन कहिले आउला ?



काठमाडौं, ९ भाद्र । कोरोना भाइरसविरुद्धको भ्याक्सिन विकास भएलगत्तै नेपालले पनि ल्याउने तयारी थालिसकेको छ । यसका लागि बजेट छुट्याएर पहल समेत भएको स्वास्थ्य मन्त्रालयले खुलाइसकेको छ । तर, नेपालमा कुन भ्याक्सिन कहिलेसम्म आइपुग्छ ? यो आम चासोको विषय छ । देशमा कोरोना संक्रमित र मृतकको संख्या बढेर जनजीवन प्रभावित बन्दै जाँदा अमृत ठानिएको भ्याक्सिनतर्फ सर्वत्र चासो छ ।

विश्वमा अहिले छ वटा भ्याक्सिन मानव परीक्षणको तेस्रो चरणमा रहेका छन् । तीमध्ये तीनवटाको नेपालमा पनि परीक्षण हुने भएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्यसचिव डाक्टर प्रदीप ज्ञवालीले भ्याक्सिनको अनुसन्धान गर्न चीन, रुस र बेलायतको भ्याक्सिन कम्पनिहरु इच्छुक रहेकाले त्यसको प्रक्रिया अगाडि बढाइएको बताइसकेका छन् ।

क्लिनिकल ट्रायलको तेस्रो चरणमा रहेका चीन, रुस र युकेको अक्सफोर्ड भ्याक्सिन उत्पादक कम्पनिहरुले नेपालमा पनि तेस्रो चरणको परीक्षण गर्न इच्छा देखाएकाले प्रक्रिया बढाइएको छ, डाक्टर ज्ञवालीले आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा भनेका थिए । उनले भ्याक्सिनको परीक्षणका लागि स्वास्थ्य मन्त्रालयको स्वीकृती लिई परिषद्ले तत्परता देखाएको समेत बताएका थिए ।

भ्याक्सिनको परीक्षणलाई नेपालमा जतिसक्दो छिटो भित्राउने पहलका रुपमा समेत लिइएको छ । नेपालमा परीक्षणका क्रममा सफल र प्रभावकारी हुने भ्याक्सिन नै भित्राउने सम्भावना रहन्छ । तर, भ्याक्सिन बजारको राजनीति अहिले देखि नै चर्किइसकेकाले समस्या आउन सक्छ ।

हुनत नेपालमा चाँडै कोरोना भाइरसविरुद्धको भ्याक्सिन ल्याउन पहल भइरहेको स्वास्थ्य मन्त्रालयका विशेषज्ञ डा. रोशन पोखरेलले खुलासा गरिसकेका छन् । उनले भ्याक्सिनका लागि बजेटको समेत जोहो गरिसकिएको बताएका थिए । रुसमा भ्याक्सिनको विकास भएको र अन्य देशमा पनि विकास भइसकेकाले छिटो र प्रभावकारीलाई नेपालमा ल्याइने समेत बताए । भ्याक्सिनका लागि विश्व स्वास्थ्य संगठन र संयुक्तराष्ट्रसंघसँग भ्याक्सिनका लागि समन्वय गरेर पहल शुरु गरिसकेको पोखरेलको भनाई छ ।

रुसले अक्टोबरमा भ्याक्सिन प्रयोगमा आउँदैछ । अमेरिका र बेलायतले पनि भ्याक्सिन यसै वर्ष ल्याउने तयारी गरेका छन् । चीनमा अग्रिम प्रयोगमा आइसकेको छ । भारतले यस वर्षको अन्तसम्ममा भ्याक्सिन ल्याउने घोषणा गरिसकेको छ । नेपालले पनि भ्याक्सिन छिटो ल्याउने पहल गरेको छ । तर, कुन भ्याक्सिन ल्याउनेबारे अग्रिम तयारी भने देखिदैन । मात्र भ्याक्सिन छिटो ल्याउन पहल गरिएको भनिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot