Logo

श्रीलंकाले भन्यो-चीनसँग ९९ वर्ष सम्मको बन्दरगाह लिज सम्झौता गल्ती



एजेन्सी, १० भाद्र । श्रीलंकाले चीनसँग हमबनटोटा बन्दरगाहको ९९ वर्ष सम्मको लिज सम्झौतालाई ‘गल्ती’ भनेको छ । आज श्रीलंकाका विदेश सचिव जयनाथ कोलमबागेले उक्त सम्झौतालाई ‘गल्ती’ भनेका हुन् ।

श्रीलंकाली टीभी च्यानलसँगको कुराकानीमा कोलमबागेले चीनसँगको सम्झौतालाई गल्ती भनेको टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ । उनको पछिल्लो अभिव्यक्तिलाई अर्थपूर्ण मानिएको छ । महीन्द्रा राजापाक्षे भारी मतका साथ चुनाव जितेर प्रधानमन्त्री भएपछि सुरक्षा निकायका विदेश सचिव बनेका कोलमबागेको पछिल्लो अभिव्यक्तिले तरंग ल्याएको छ ।

सन् २०१७ मा श्रीलंकाले उक्त बन्दरगाह चीनलाई लिजमा दिएको थियो । उक्त कदमपछि श्रीलंकाभित्र कतिपयले आलोचना गर्दै देशलाई ऋणमा डुबाइएको तर्क गरेका थिए । श्रीलंकाको सामरिक महत्वको दक्षिण बन्दरगाह लिजमा दिएपछि छिमेकी भारत पनि असन्तुष्ट भएको थियो ।

टेलिभिजन कुराकानीमा विदेश सचिव कोलमबागेले विदेश नीतिमा भारत प्रथम रहेको बताएका छन् । उनले श्रीलंकाले न्युट्रल विदेश नीति अंगिकार गर्ने तर भारत प्रथमको नीतिलाई रणनीतिक र सुरक्षाका कारणले अगाडि बढाउने बताए । श्रीलंकाले भारतको रणनीतिक स्वार्थको समेत रक्षा गर्ने उनको भनाई थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot