Logo

असोज १ देखि सबै सार्वजनिक सवारी चलाउने व्यवसायीको घोषणा



काठमाडौं, २५ भाद्र । कोरोना नियन्त्रण र रोकथामको लागि सरकारले निषेधाज्ञाको समय लम्ब्याउदै गएपछि यातायात व्यवसायीहरुले आगामी असोज १ गतेदखि यातायात चलाउने घोषणा गरेका छन् । सरकारले तत्काल सार्वजनिक यातायात सञ्चालन नगर्ने नीति लिएपछि आगामी असोज १ गतेदेखि यातायात व्यवसायीहरुले सबै सार्वजनिक सवारी साधन सञ्चालन गर्ने घोषणा गरेका हुन् । सरकारले कोरोना नियन्त्रणका नाममा सार्वजनिक यातायात संचालनलाई निषेध गरेका बेला व्यवसायीले यस्तो घोषणा गरेका छन् ।

बुधबार यातायात व्यवसायी, यातायात व्यवस्था विभाग र तीन वटा मजदुर संगठनको संयूक्त बैठकमा व्यवसायी र मजदुर संगठनले यातायात खुलाउन सहजीकरण नगरे विश्वकर्मा पूजाको दिन पारेर असोज १ देखि लामो तथा छोटो दूरीका यातायात चलाउने घोषणा गरेका हुन्।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भिमज्वाला राईले सरकारलाई सार्वजनिक सवारी संचालनका लागि विकल्प दिन माग गर्ने निर्णय भएको बताउनुभयो । सरकारले यातायात संचालनका लागि सहजीकरण नगरे आफूहरुले यातायात चलाउने जानकारी विभागलाई गराइएको बताउदै उहाँले यतिञ्जेल हामीले जसोतसो धान्यौं अब सिटामोल खान सक्ने अवस्था पनि नभएको बताउनुभयो ।
यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले यो निर्णय आफूहरुले गरेर नभई मन्त्रिपरिषदबाटै हुनुपर्ने बताउनुभएको खबर आजको समाचार पत्रले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot